मेचे सभामा आज साहित्यको चर्चा हुँदै

  प्रकाशित मिति
२८ बैशाख २०७६, शनिबार २१:४५


।। विजय बराल ।।
मेचीनगर । नेपाल र भारतका मेचे समुदायका राजनीतिक, साहित्यिक एवम् सांस्कृतिक क्षेत्रका अगुवाहरुको सहभागितामा अन्तर्राष्ट्रिय वोडो मेचे साहित्य एवम् सांस्कृतिक सभा यहाँ सुरु भएको छ ।

मेचे जातिको सबैभन्दा ठूलो पर्व बैसागु बथरको अवसर पारेर जातीय भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचे समाज शिवियारी आफात र बोडो मेचे साहित्य सभाद्वारा मेचीनगर–१० स्थित धुलाबारीमा उक्त अन्तर्राष्ट्रिय सभाको आयोजना गरिएको हो ।

सभाको दोस्रो दिन आइतवार साहित्यको चर्चा हुँदैछ । भारत र नेपालका साहित्यकारहरुले मेचे साहित्यका बारेमा आफ्ना खोज, अनुसन्धान र दस्तावेजहरु छलफलमा ल्याउने भएका छन् ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले शनिवार राष्ट्रिय झण्डोत्तोलन र पानसमा दीप प्रज्ज्वलन गरी सभाको विधिवत् उद्घाटन गरेका थिए ।

उद्घाटन मन्तब्यमा मुख्यमन्त्री राईले लोपोन्मुख मेचे जाति र समुदायको संरक्षण, उत्थान र विकासको दायित्व प्रदेश सरकारको भएको उल्लेख गर्दै आउँदो बजेटमा मेचे समुदायका लागि बजेट दिने बताए ।

(भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोस्) https://www.facebook.com/mohan.kazi.3/videos/2487772994574680/

 

नेपालमा रहेका १२५ जातजाति मध्ये ११६ जातिको बसोवास प्रदेश नम्बर १ मै रहेको बताउँदै उनले यो सभाबाट मेचे समुदायको संस्कार, संस्कृति, भाषा र लिपीबारे ऐतिहासिक दस्तावेज तयार हुने विश्वास व्यक्त गरे ।

अहिलेसम्म नेपालका मेचे समुदायको उत्पत्ति, भाषा, लिपी, संस्कार, संस्कृति र परम्परागत रितिथितिको बारेमा कहीँ कतै दस्तावेज समेत नभएको हुँदा यसको ऐतिहासिक दस्तावेज तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कमल मेचेले कार्यक्रममा बताए ।

उनले मेचे जातिको बसोबास भएको कारण मेची नदी, मेची क्याम्पस, मेची अञ्चल, मेची राजमार्ग, मेचीनगर आदि नामाकरण भएको जिकीर गर्दै मेचे समुदायलाई २१ औं शताब्दी अनुकूल विकसित तुल्याउन जरुरी भएको बताए ।

नेपालमा झापा र मोरङमा मात्र मेचेहरुको बसोबास रहेको छ । अधिकांश मेचे समुदाय झापाको मेचीनगर र हल्दिबारीमा बस्छन् । उनीहरुको जनसङ्ख्या साढे चार हजारको हाराहारीमा रहेको बताइएको छ ।

कार्यक्रममा भारतको आसामबाट मेचे समुदायको साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहेको थियो । आसामका मन्त्री र सांसद्हरुको सहभागिता थियो ।
सभाको उद्घाटन सत्रको अध्यक्षता आयोजक समितिका अध्यक्ष कमल मेचेले गरेका थिए भने स्वागत मन्तब्य आयोजक समितिका कार्यकारी अध्यक्ष रोङलाल मेचेले र उद्घोषण रोशनी मेचेले गरेकी थिइन् ।

मुख्यमन्त्री राई, सङ्घीय सांसद कुमारी मेचे, प्रदेश सांसद् गोपाल बुढाथोकी, प्रदेश सांसद श्रीप्रसाद मेचे, जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल, मेचीनगरका नगरप्रमुख विमल आचार्य, आसामका लोकसभा सांसद् महेश्वर बसुमतारी, अर्का सांसद थानेश्वर बसमतारी, नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानका अनुसन्धान अधिकृत सन्तलात मेचे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेको सो कार्यक्रममा आसाम र नेपालका मेचे युवायुवतीले जातीय पहिरन र सङ्गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, संविधानसभा सदस्य चन्द्र मेचे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली काङ्ग्रेस झापाका उपसभापति राम कट्टेल, काङ्ग्रेसका क्षेत्रीय सभापति मणि उप्रेती, वडाध्यक्ष चन्दन मेचे, वडाध्यक्ष सन्तोष मेचे, वडाध्यक्ष सुदय पनेरु लगायतको उपस्थिति रहेको थियो ।

शनिवार उद्घाटन सत्र सम्पन्न भएको छ भने आइतवार साहित्यका विषयमा छलफल चलाइने आयोजक समितिका अध्यक्ष कमल मेचे बताउँछन् । सबै तस्वीर ः विजय बराल

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: