अन्त्येष्टिमा आँशुको सागर

  प्रकाशित मिति
२८ श्रावण २०७३, शुक्रबार ०९:३७


????????????????????????????????????
चारआली । साउन २४ गते फिस्टेल एयरको अफिसमा विरामीको उद्धारका लागि हेलिकोप्टर चार्टरको अनुरोध आउँदा पाइलट कसलाई पठाउने भन्ने निकै छलफल भएको थियो । पहाडी ठाउँ, त्यसमाथि खोँचै खोँच भएर जोखिमपूर्ण उडान भर्नु पर्ने । सबैले ‘यो काम रञ्जन बाहेक अरुले गर्न सक्दैनन्’ भन्ने निष्कर्ष निकाले ।
रञ्जन हेलिकोप्टर लिएर गोरखा गए । जहाँबाट ५ दिनको सुत्केरी र उनीहरूका आफन्त लिएर काठमाडौँ आउनु पर्ने । जतिसक्दो चाँडो हेलिकोप्टर उडाउनु पर्ने । रञ्जनले त्यो चुनौति स्वीकार गर्दै विरामीलाई ल्याउँदै गर्दा दुर्भाग्यवश नुवाकोटमा दुर्घटना हुनपुग्यो । रञ्जनसहित ७ जनाको ज्यान गयो ।

कस्तै कठिन उद्धारमा पनि खटिन तयार हुने ती साहसी पाइलट थिए–झापाका रञ्जन लिम्बु । धाइजन–६ पिपलडाँगीमा घर भएका उनी उद्धारमा निपूर्ण र साहसिक मानिन्थे । उनको कौशल र सेवाप्रतिको समर्पित भावनाको विदेशसम्म चर्चा हुने गरेको थियो । तर उनै साहसिक पाइलट रञ्जनले अर्काको जीवन बचाउन प्रयास गर्दा गर्दैको अवस्थामा आफ्नै जीवन गुमाउनु पर्यो ।

पाइलट रञ्जनको पार्थिव शरीरलाई विहीवार काठमाडौँबाट हेलिकोप्टरमार्फत घर ल्याइयो र नजिकैको देउनियामा लिम्वु संस्कार बमोजिम अन्त्येष्टि गरियो ।
विहीवार विहान ९ बजेतिर उनको पार्थिव शरीर लिएर हेलिकोप्टर घर नजिक अवतरण गर्दा उनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हजारौँको घुइँचो लागेको थियो । सबैका आँखा रसाएका थिए । सबै सुक्सुकाउँदै घरबाट देउनियासम्मको शवयात्रामा सहभागी भएका थिए ।

रञ्जनको जन्म २०४६ साल असार १० गते हङकङमा भएको थियो । उनका वुवा भक्त खेवाङका अनुसार रञ्जनलाई ९ महिनाको उमेरमा नेपाल ल्याइएको थियो ।
उनको वाल्यकाल र शिक्षादीक्षा झापामै बित्यो । एसएलसीसम्म चारआलीको लिटल एन्जल्स इङलिश बोर्डिङ स्कुलमा पढेका उनले ए लेभल काठमाडौँको किङ्स र क्यापिटल कलेजबाट पास गरेका थिए ।

रञ्जन सानै उमेरमा पढाइ सिध्याएर पाइलट बनेका मुलुकका होनहार युवा प्रतिभा थिए । २० वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियाबाट पाइलट कोर्स सकेका उनले विगत ७ वर्षदेखि फिस्टेल एयरमा नियमित उडान भरिरहेका थिए ।
रञ्जन बाल्यकालमा अलि जिद्धी तर जिज्ञासु स्वाभावको भएको उनकी आमा शान्ताकुमारी खेवाङ बताउँछन् ।

खेवाङ दम्पतिको दुई छोरामध्ये रञ्जन कान्छा हुन् । बुवा भक्त खेवाङले आफुले ब्रुनाईमा सेक्युरिटी गार्डको नोकरी गरेर भए पनि रञ्जनलाई दुःखै दुःखमा पाइलट पढाएको बताए ।

लक्का जवान छोराको विपत्तिमा परेर निधन भए यता रञ्जनका वुवाआमाको आँखा ओभाएका छैनन् । ‘रञ्जनले आफ्नो ज्यान दिएर पनि विरामीको उद्धार गर्न भरमग्दुर प्रयास गरेकै रहेछ’, विहीवार देउनियामा अन्त्येष्टि सकेर घर फर्केका उनका वुवा भन्छन्–‘सबैको माया ममता र लोकप्रियता कमाएर गयो ।’
रञ्जन अझै २ वर्षपछि मात्र विहे गर्ने सोचाइमा रहेको उनले साथीहरूलाई बताउने गरेका थिए । विहे गर्नु अघि काठमाडौँमा एउटा घर बनाउने र त्यो खबर बुवाआमालाई सरप्राइजको रुपमा सुनाउने उनको योजना अधुरै रह्यो ।

रञ्जन गत चैतमा ३ महिना घरमा बसेर काठमाडौँ फर्केका थिए । लामो समय पढाई, विदेशको तालिम र पाइलटको जागिरमा व्यस्त रहेका उनले विदाको ३ महिनाभित्र आफन्त र साथीभाइसँग राम्ररी भेटघाट गर्न भ्याएका थिए । यतिबेला सबैले त्यही अन्तिम भेटलाई सम्झेर मन थाम्न सकिरहेका छैनन् ।

रञ्जनले चैतको भेटका बेला वुवासँग ३० लाख रुपैयाँ सापटी मागेका थिए । बुवासँग मागेको सापटी काठमाडौँमा घर किन्नलाई हो भन्ने वुवालाई थाहा दिएका थिएनन् उनले । दुर्घटना हुनु भन्दा दुई दिन अघि फोनमा आमा, बुवा, दाजु र भाउजुुसँग उनको छोटो कुराकानी भएको थियो । ‘सञ्चै छु भन्थ्यो, त्यही नै उसँगको अन्तिम बातचित थियो’–वुवा भक्त खेवाङ बताउँछन् ।

काठमाडौँमा पढ्न जाँदा उनले वावुराम अधिकारी नामका एक व्यक्तिको घरमा कोठा भाडामा लिएर डेरा बसेका थिए । अहिलेसम्म उनले त्यही डेरालाई नै आफ्नो बस्ने थलो बनाउँदै आएका थिए । घरबेटीले रञ्जनको निधनपछि त्यो डेरा अबोप्रान्त कसैलाई नदिने र त्यसलाई रञ्जनको स्मृतिको रुपमा राखिने घोषणा गरेका छन् ।

हवाइ उद्धारमा पोख्त एक जना साहसी पाइलटलाई देशले गुमाएको छ । यसबाट एउटा परिवार र एउटा गाउँलाई होइन, नेपाललाई नै अपूरणीय क्षति भएको छ । तर राज्यले उनको निधनमा दुई शब्द श्रद्धाञ्जलि अर्पण गर्न समेत कञ्जुस्याइँ गरिरहेको भन्दै रञ्जनका परिवारजनले चित्त दुखाएका छन् ।

‘जोखिम मोल्दै उद्धारमा खटिदा मेरो छोराले ज्यान गुमाएको हो’, वुवा खेवाङ लोकतन्त्र पोस्टसँग भन्छन्–‘राज्यको पनि केही जिम्मेवारी त हुन्छ होला नि !’
रञ्जनको निधनमा श्रद्धाञ्जलि अर्पण गर्ने, शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्ने र दुःखका बेला सहानुभूति जनाउने सम्पूर्णप्रति उनका वुवा भक्त खेवाङले आफ्नो परिवारको तर्फबाट आभार व्यक्त गरेका छन् । भदौ ४ गते निजी निवासमै शुद्ध्याइ कार्य हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: