अपहरणको आरोपमा तीन पक्राउ

  प्रकाशित मिति
२८ चैत्र २०७३, सोमबार १०:१८


विर्तामोड । पन्ध करोड रुपैयाँ हत्याउने उद्देश्यले एक व्यक्तिलाई दश दिनसम्म अपहरण गरेर जग्गा पासको कागजमा बलजफ्ती हस्ताक्षर गराएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका एक कर्मचारीसहित तीन व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजेन्द्र न्यौपाने, बाहुनडाँगीका अजय राई र विर्तामोडका प्रेम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार न्यौपानेद्वय र राई समेतको संलग्नतामा शनिश्चरे–९ का जीवन विस्टलाई अपहरण गरी करोडौँ मूल्य पर्ने अनारमनी–४ विर्तामोडको ५ कठ्ठा १६ धुर जग्गा माघ २० गते मालपोत कार्यालय चन्द्रगढीबाट जबर्जस्ती पास गरिएको पीडितको आरोप छ ।

चैत २५ गते पीडित बिस्टले जिल्ला प्रहरी कार्यालयमा घटनाको बेलिविस्तार लगाउँदै किटानी उजुरी दिएपछि यस्तो जघन्य अपराधको पर्दाफास भएको हो ।

पीडितको उजुरीका आधारमा प्रहरीले अभियुक्तहरुमाथि मानव अपहरण शरीर बन्धक बनाएको मुद्दामा कानूनी कार्वाही सुरु गरेको छ । पक्राउ परेका तिनै जनालाई प्रहरीले सोमवार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य तीब्र तुल्याएको जनाएको छ ।

पक्राउ पर्ने जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजेन्द्र न्यौपानेको घर भद्रपुर–२ मा रहेको छ भने मुख्य योजनाकार मानिएका प्रेम न्यौपानेको घर भद्रपुर–६ हो । अर्का अभियुक्त भूपू कान्छा भनिने अजय राईको घर बाहुनडाँगी हो ।

प्रहरीले उनीहरुलाई आइतवार राति झापाको अलग अलग स्थानबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार भूपू कान्छालाई उनकै घरबाट, प्रेम न्यौपानेलाई काठमाडौँबाट र तेजेन्द्र न्यौपानेलाई प्रशासन कार्यालयबाटै पक्राउ गरिएको थियो ।

विष्टको नाममा दर्ता कायम रहेको अनारमनी–४ स्थित भद्रपुर रोडको १६९ र १७० कित्ता नम्वरको ५ कठ्ठा १६ धुर जग्गाको मूल्य १५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

सो जग्गा हत्याउने सुनियोजित योजना अनुसार विस्टलाई अपहरण गरेर विर्तामोड नजिकको एक होटलमा दश दिनसम्म बन्धक बनाएर राखिएको र बन्धक भएकै अवस्थामा जग्गाको पास सम्बन्धी कागजमा उनको हस्ताक्षर जबर्जस्तीपूर्वक गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ ।

मालपोत कार्यालयका केही कर्मचारी डोरको बहानामा जग्गा पास गराउने प्रक्रियामा संलग्न भएको र यो अपराधिक कार्यमा अन्य केही नाम चलेका व्यक्तिहरु र केही पत्रकार समेत मतियार रहेको बुझिएको छ ।

अभियुक्तको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको झापाका प्रहरी उपरीक्षक शैलेश थापाले बताएका छन् ।
घटनामा संलग्न भनिएका अन्य व्यक्ति फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको र चाँडै पत्रकार सम्मेलन गरी यथार्थ घटना सार्वजनिक गरिने प्रहरी उपरीक्षक थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: