झापा । अपहरणमा परेको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आजै सार्वजनिक अपहरण मुद्दा दर्ता गरेको छ ।
अर्जुनधारा –५ का ३७ बर्षीय इन्सल खनाललाई प्रहरीले सार्वजनिक अपहरण सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको हो ।
खनालले आफूलाई यही जेठ ३ गते दिउँसो विर्तामोडस्थित शनिश्चरे रोडबाट ३÷४ जना युवाले अपहरण गरेको, साथमा रहेको ३ लाख नगद रुपैयाँ र मोवाइल समेत लुटेको भनी प्रहरीमा निवेदन दिएका थिए ।
प्रहरीका अनुसार उनले अपहरणकारीले नगद र मोवाइल लुटेर सुनसरीस्थित सर्दुखोलाको जंगलमा छाडिदिएको र आफू सिटी रिक्सा चढी इटहरीसम्म आएको भनी निवेदनमा जनाएका थिए ।
तर प्रहरीले शंका लागेपछि उनलाई नियन्त्रणमा लिई सोधखोज गर्दा आफ्नो आर्थिक कारोवार विग्रिएको र बुद्दि विगारेर अपहरणमा परेको नाटक गरेको बताएका थिए । उनले लुटिएको भनीको नगद समेत घरमै रहेको प्रहरीलाई जानकारी दिएका थिए ।
खनाललाई अपहरणमा परेको भनी भ्रामक समाचार फैलाई गाउँ समाज, आफन्तहरु तथा शान्ति सुरक्षार्थ खटिएका राष्ट्र सेवक प्रहरी समेतलाई दुःख, हैरानी दिई स्थानीय शान्ति सुरक्षामा खलल पुर्याएको हुँदा शुक्रवारै जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान बढाएको जनाएको छ ।