विर्तामोड । अपहरण काण्डमा मुछिएका झापाका पत्रकार पुजन घिमिरेलाई नेपाल प्रेस युनियन झापाले साधारण सदस्यताबाट निलम्बन गरेको छ भने नेपाल पत्रकार महासङ्घले थप अर्का पत्रकारलाई समेत कार्वाही प्रक्रिया अघि बढाएको छ ।
विर्तामोडका जीवन बिष्टलाई अपहरण गरेको आपराधिक घटनामा संलग्न भनी प्रहरीले पत्रकार पुजन घिमिरे र शम्भु दाहाललाई वारेन्ट जारी गरेको छ । दुबै हाल फरार छन् ।
युनियन झापाका अध्यक्ष कृष्ण हुमागाइँ र सचिव गिरिराज भट्टराईले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको अनुसन्धानमा सहयोग पुर्याउन घिमिरेलाई सदस्यताबाट निलम्बन गरिएको जानकारी दिए ।
सगरमाथा टेलिभिजनका झापा समाचारदाताको काम गर्दै आएका र इलाम श्रीअन्तु घर भई हाल विर्तामोडमा अस्थायी रुपमा बस्दै आएका घिमिरेले नेपाल प्रेस युनियन, नेपाल पत्रकार सङ्घ र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको सदस्यता लिएका थिए ।
यसैगरी, नेपाल पत्रकार महासङ्घ झापा शाखाको विहीवार बसेको कार्य समितिको बैठकले घिमिरे र दाहाल दुबैलाई निलम्बन सिफारिस गरेको छ ।
शाखाले दुबैलाई सदस्यताबाट निलम्बन गर्न महासङ्घको केन्द्रीय कार्यालयलाई सर्वसम्मत सिफारिस गरेको सचिव सन्तोष आचार्यले जानकारी दिए । सिफारिसका आधारमा केन्द्रले उनीहरुलाई सदस्यताबाट निलम्बन गर्ने छ ।
तर घिमिरेले प्राप्त गरेको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को सदस्यता खारेजीको विषयमा भने युनियन झापा र महासङ्घ झापा दुबैले केही बोलेका छैनन् ।
कुनै पनि पत्रकारलाई आइएफजेको सदस्यता दिलाउन नेपालबाट युनियन र महासङ्घले मात्रै सिफारिस गर्ने अधिकार पाएका हुन्छन् । घिमिरेले युनियनको सिफारिसमा एक महिना अघि मात्र आइएफजेको सदस्यता पाएका हुन् ।
यसैविच, अपहरण काण्डमा मुछिएका अर्का पत्रकार दाहालको सदस्यता निलम्बनका लागि प्रेस चौतारी झापाले हालसम्म कुनै निर्णय लिएको छैन । दाहाल प्रेस चौतारी झापाका सदस्य हुन् । उनले गत वर्ष मात्र नेपाल पत्रकार महासङ्घको सदस्यता पाएका थिए ।
#यो पनि हेर्नुहोस्-http://loktantrapost.com/?p=7955