अपहरण काण्डमा नेतादेखि पत्रकारसम्म

  प्रकाशित मिति
११ बैशाख २०७४, सोमबार २२:५५


Capture
भद्रपुर । गत चैत्रमा झापामा भएको अपहरण काण्डमा वहालवाला मन्त्रीका स्वकीय सविच राजु आचार्य (अग्नी) र सगरमाथा टेलिभिजनका झापा समाचारदाता पुजन घिमिरेसम्मको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडका जीवन बिष्ट अपहरण काण्डका बारेमा पहिलो पटक सोमवार दिउँसो पत्रकार सम्मेलन गर्दै जिल्लाका प्रहरी प्रमुख एसपी शैलेश थापाले घटनामा संलग्न केही ब्यक्तिलाई पक्राउ गरिएको र केही फरार रहेको बताए ।

एसपी थापाका अनुसार घटनामा संलग्न देखिएका साबिक बाहुनडाँगी–२ हाल मेचीनगर–४ का भूपू कान्छा भनिने अजय राई र भद्रपुर वडा नं. ७ का तेजिन्द्र न्यौपानेलाई चैत २७ गते पक्राउ गरिएको छ ।

त्यस्तै भद्रपुर वडा नं. ६ का प्रेम न्यौपानेलाई चैत २८ गते र साबिक बाहुनडाँगी–२ हाल मेचीनगर–४ का राजु कुवँरलाई चैत ३० गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको घटना विवरण अनुसार बिर्तामोडको भद्रपुररोडस्थित करीब १५ करोड मूल्य पर्ने जीवन बिष्टको नाममा रहेको जग्गा किर्ते कागजात बनाई नामसारी गरेको र जग्गा धनी जीवन बिष्टलाई अपहरण गरी बन्धक बनाउने अपराधमा माति उल्लेखित अभियुक्तहरुको संलग्नता पाइएको छ ।

प्रहरीले पुजन घिमिरे, शम्भु दाहाल, राजु आचार्य लगायतका केही अभियुक्त फरार रहेको र तिनको खोजी कार्य तीब्र पारिएको जनाएको छ ।

फरारको सूचीमा रहेको भनिएका पुजन घिमिरे सगरमाथा टेलिभिजनका झापा सम्बाददाता हुन् । उनलाई यसै वर्ष नेपाल पत्रकार महासङ्घ झापाको सदस्यता दिइएको थियो भने उनले त्यस लगत्तै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएजे)को समेत सदस्यता लिएका थिए । आइएजेको सदस्यता पाउने पत्रकारहरु झापामा ३ जनामात्र रहेका छन् ।
त्यस्तै अर्का फरार अभियुक्त शभ्भु दाहाल पनि झापामा पत्रकारिता गरिरहेका ब्यक्ति हुन् ।

अग्नी भनिने राजु आचार्य भने बहालवाला सूचना तथा सञ्चार प्रविधि मन्त्री सुरेन्द्र कार्कीका स्वकीय सचिव तथा नेकपा माओबादी केन्द्र झापाका पूर्व सेक्रेटरी हुन् ।

प्रहरी प्रमुख थापाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार घटनाको मुख्य योजनाकार पुजन घिमिरे नै हुन् । ईलाम श्रीअन्तु वडा नं १ घर भई बिर्तामोडमा बसोबास गर्ने घिमिरेले बिर्तामोडका ओम शिवाकोटीसँग मिलेर जीवन विष्टको जग्गामा एभरेष्ट नामक होटल खोलेका थिए । सोही होटलबाट जीवन विष्टलाई चैत्र १२ गते अपहरण गरी गरामनीको शुभकामना होटलमा लगेका थिए ।

शुभकामना होटलका सञ्चालक लक्ष्मण बस्नेत पनि फरार अभियुक्त भएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार २०७३ असार ३ गते जीवन विष्टका नाममा रहेको बिर्तामोड–४ स्थित १५ करोड बराबरको जग्गा पत्रकार पुजन घिमिरे र ओम सिवाकोटीले होटल सञ्चालन गर्न ५ वर्षका लागि भाडामा लिएका थिए । गत माघमा ५ वर्षको सम्झौता अवधिलाई १० वर्षमा बढाउने बहानामा घिमिरे र सिवाकोटीले विष्टको नागरिकता हात पारेका थिए ।

त्यसपछि घिमिरे र सिवाकोटीले एउटा निवेदन लेख्नुपर्छ प्रतिलिपि हामी बनाइदिन्छै भन्दै खाली कागजमा बिष्टलाई हस्ताक्षर गर्न लगाएको प्रहरीको आरोप छ । सही किर्ते गरेपछि अभियुक्तहरुले सम्झौता तयार गर्ने बहानामा चैत्र १२ गते एभरेस्ट रेस्टुरेन्टबाट अपहरण गरेर गरामनीमा रहेको शुभकामना पार्टी प्यालेसमा विष्टलाई पुर्याए ।

त्यहाँबाट अभियुक्त भुपू कान्छा र तेजिन्द्र न्यौपानेले भारतीय नम्बर प्लेटको सवारीमा विष्टलाई लगे । उनलाई अपहरणपछि पेस्तोल देखाएर जबर्जस्ती जग्गा पासको फाइलमा सही गर्न लगाइएको प्रहरीको भनाई छ । घटनापछि विष्टले इलाका प्रहरी कार्यालय अनारमनीमा चैत्र २५ गते आफु अपहरणमा परेको र ठगिएको भन्दै निवेदन दिएका थिए ।
घटनामा प्रशासन कार्यालयका अधिकृत तेजिन्द्र न्यौपाने, मालपोत कार्यालयका कर्मचारी टिकाराम लुइँटेल तथा लेखनदास मुक्ति निरौला संलग्न रहेको प्रहरीको आरोप छ ।

जग्गा हडप्न अभियुक्तहरु पुरै सुनियोजित रुपमा लागेको देखिएको छ । मालपोत कार्यालय भद्रपुरले माघ २० गते डोर खटाई उक्त जमिन पास गराएको पाइएको छ । रजिस्ट्रेसन पासमा माघ १२ गते र माघ २० गते उल्लेख गरिएको छ । जग्गा पास गर्दा जग्गाधनी जिवन विष्ट मै हुँ भन्दै मेचीनगरका राजु कुँवरले जमिन पास गरेको देखिएको छ । राजु कुँवरले जिवन विष्टको नाममा नागरिकता लिई जग्गा हडप्ने काममा ठूलो भूमिका खेलेको देखिएको छ ।

जग्गा पास गरी लिने भद्रपुरका प्रेम न्यौपानेले जग्गाधनी विष्टलाई पैसा नदिएको भए पनि कीर्ते कार्यमा संलग्न अभियुक्तहरुका लागि २ करोड रुपैयाँ भन्दा रकम बाँडेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । त्यो बाँडिएको रकम धेरै चेकको माध्यम र केही नगदै रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले अपहरण तथा जवरजस्ती जग्गा हडप्ने गिरोहका ४ जनालाई सोमवार कालो मुखुण्डो लगाएर सार्वजनिक गरेको छ ।

अभियुक्त टिकाराम लुँईटेल मालपोत कार्यालय भद्रपुरका नासु तथा माओवादी केन्द्र निकट कर्मचारी सङ्गठनका नेता समेत हुन् ।

घटनामा संलग्न पे्रम न्यौपानेको घरबाट जग्गा सम्बन्धी कागजात, जिल्ला प्रशासन कार्यालयका खरिदार समेत रहेका तेजेन्द्र न्यौपानेका घरबाट नक्कली सवारीका लाइसेन्स ११ थान, नेपाली नागरिकताका प्रमाण पत्र ६ थान, सवारी साधन सडक इजाजत पत्र ३ थान, विदेशी नागरिकताको राहदानी १ थान, नेपाली राहदानी १ थान, नेपाली सेनामा कार्यरत रहेको प्रमाण पत्र १ थान, जग्गाधनी पूर्जा १ थान जस्ता महत्वपूर्ण कागजात वरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई १० दिनको म्याद थप गरी प्रहरीले अन्यको खोजी भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: