अबको मेयर जनप्रिय र बौद्धिक हुनुपर्छ

  प्रकाशित मिति
२४ चैत्र २०७३, बिहीबार ०९:४०


puspa poudel
करिब उन्नाइस वर्षपछि नेपालमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । यो निर्वाचन विविध कारणहरुले महत्वपूर्ण मानिन्छ ।
पहिलो, नेपालको संविधानमा नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भनेर त लेखियो तर त्यसको कार्यान्वयनमा बिभिन्न शङ्का उपशङ्काहरु उब्जिरहेका छन् । यस्तो अवस्थामा लामो समय अवधिसम्मको जनप्रतिनिधिविहिन स्थानीय तहमा जनप्रतिनिधिहरुको उपस्थितिले नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारशिला मजबुत बनाउनमा ज्यादै महत्वपूर्ण भूमिका खेलेको छ ।

वीपी कोइरालाको भाषामा भन्ने हो भने पनि लोकतन्त्रको पहिलो सुन्दर पक्ष भनेकै स्थानीय तहको आवधिक निर्वाचन हो ।  दोश्रो, नेपालको संविधान बमोजिम गठन गरिएको स्थानीय तह जसमा अहिलेसम्म चलिरहेको केन्द्रिकृत शासन पद्धतिलाई भत्काएर सिंहदरबारको अधिकार सिधै स्थानीय तहमा जनताका प्रतिनिधिहरुले प्रयोग गर्न पाउनु । तेश्रो, नागरिकहरुमा आफुले चाहेको जनप्रतिनिधि आफै रोज्न पाउने अधिकारको सुनिश्चितता ।
चौथो, आफ्ना आवश्यकता तथा सुविधा प्राप्त गर्नका लागि नागरिकले धाएर धेरै टाढा गइरहनु नपर्ने ।

पाँचौ, स्थानीय तहलाई विभिन्न २६ वटा शिर्षकमा अधिकारहरु प्रत्यायोजन गरिएको छ । जसको प्रयोग तथा कार्यान्वयनबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो ठाउँको विकासलाई छिटो गति दिन सक्दछन् ।  यी तथा अन्य धेरै अधिकारको सुनिश्चतताहरुको कारणबाट आगामी २०७४ बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचन महत्वपूर्ण छ ।

नेपाल सरकारले यसको मिति तोक्ने वित्तिकै विभिन्न राजनीतिक दलहरुले स्थानीय तहमा आफ्नो वर्चश्व राख्न साङ्गठनिक सुदृढिकरण तथा आम नागरिकमाझ आफुलाई उभ्याउन प्रचार प्रसारको गतिलाई पनि तीब्रता दिन थालेका छन् । सबैको चासोको बिषय कसले गाउँ÷नगरको प्रमुख तथा उपप्रमुख पाउने, कसले वार्ड अध्यक्ष÷सदस्यहरु पाउने भन्ने चर्चाको बिषय यतिखेर चिया पसल, चोक तथा बिभिन्न ठाउँहरुमा बन्ने गरेका छन् ।

अझ पत्रपत्रिका, रेडियो, टेलिभिजन फेसबुक जस्ता सञ्चारका माध्यमहरुले यसको प्रचार प्रसारमा थप बल पुर्याएका छन् । विगतको लामो समयसम्म स्थानीय तह तथा अन्य तहगत निर्वाचन बिहिन अवस्थाले राजनीतिक दलमा नेता तथा कार्यकर्ताहरुकोे ठूलो समूह जगेडामा छ । पार्टीबाट पक्कै पनि केही जिम्मेवारी पाइन्छ भनेर प्रतिक्षारत अवस्थामा बसेका छन् यी कार्यकर्ताहरु । जसको कारण सबै राजनीतिक दलमा आफ्ना नेता तथा कार्यकर्ताहरुलाई कहाँ कहाँ लगेर समायोजन गर्ने भन्ने चुनौति एकातर्फ बढिरहेको छ भने आम नागरिकहरुको चाहना अनुरुप सक्षम, योग्य र विकासप्रेमी उमेद्वारको छनौट अर्को चुनौती बनेको छ ।

संबिधानत व्यवस्था गरिएको तर ऐनमा लागु गर्न नसकिएको अर्को महत्वपूर्ण विषय हो स्थानीय तहमा विशेष क्षेत्र, संरक्षित क्षेत्र, पिछडिएको क्षेत्र तोक्न नसक्नु । यसले त्यस वर्ग तथा समुदायका नागरिकहरुको प्रतिनिधित्वलाई यस पटकको निर्वाचनमा छुटाएको छ । जस्तै आदिवाशी जनजाति, मुस्लिम, अल्पसङ्ख्यक, लापोन्मुख आदि ।

विभिन्न सङ्घ संस्थाहरु तथा सामाजिक सञ्जाल मार्फत यी वर्ग तथा समुदायका नागरिकले आफ्नो प्रतिनिधित्व विभिन्न राजनीतिक दलमा खोजिरहेका छन् । यिनीहरुलाई पनि यस निर्वाचनमा समावेश गरी प्रतिनिधित्वको सुनिश्चितता गर्नु अपरिहार्य छ । जुन राजनीतिक दलहरुको लागि अर्को चुनौती हो । यसको व्यवस्थापन कुनै पनि दलले सहज ढङ्गबाट जसरी गर्न सक्दछन् त्यतिनै त्यस दलको चुनावी प्रचारप्रसार तथा आम नागरिकसम्मको पहंँच वजनदार हुन्छ ।
बिशेष गरेर यी चुनौतिहरुको सफल व्यवस्थापनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बढी जिम्मेवार हुनु पर्दछ । किनकि यी दलहरुको साङ्गठनिक संरचना तल्लो तहसम्म पुगेको छ ।

आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले आफ्ना उमेद्वारहरु चयन गर्दा चाहे त्यो नगर कार्यपालिकाको प्रमुख÷उपप्रमुख होस् वा गाउँ कार्यपालिकाको अध्यक्ष÷उपाध्यक्ष निम्न तीनवटा कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

पहिलो, दलगत राजनीतिमा निरन्तरता भएको तथा राजनीतिक सुझबुझ राख्न सक्ने हुनुपर्दछ । मेयरको उम्मेद्वार तार्किकता, बौद्धिकता, परिपक्व तथा दृढ क्षमताको विकास भएको जनप्रिय हुनुपर्छ । किनकि निर्वाचन पश्चात त्यहाँ अन्य दलका जनप्रतिनिधिहरु पनि विजयी भएर आएका हुन सक्दछन् । त्यहाँ राजनीतिक सुझबुझ जरुरी हुन्छ ।

दोश्रो, व्यवस्थापकीय व्यवस्थापन गर्नसक्ने क्षमता भएको व्यक्ति हुनुपर्दछ । यो स्थानीय तहको कार्यपालिका हो । आफुलाई चाहिने कानुन निर्माण गर्न सक्ने अधिकार यसमा निहीत हुने भएकाले कुनै पनि नगर कार्यपालिका वा गाउँ कार्यपालिकालाई प्रशासकीय ढङ्गबाट सफल व्यवस्थापन गर्न सकेन भने यो पद बाँदरका हातमा नरिवल जस्तो हुन्छ । जसको जिम्मेवारी प्रमुख तथा उपप्रमुखमा हुन्छ र यो उनीहरुका लागि अर्को चुनौती पनि हो ।

तेश्रो, भावी दृष्टिकोण निर्माण गर्न सक्ने व्यक्ति । नगर÷गाउँको आगामी पाँच, दश, पन्ध्र तथा बीस वर्षसम्मको योजना निर्माण गरेर लैजान सक्ने क्षमताको धनी हुनु जरुरी छ । आफ्नो क्षेत्रलाई राम्ररी बुझेको व्यक्तिले मात्र यो क्षमता राख्न सक्दछ । वार्डको हकमा भने वार्डको भौगोलिक अवस्था, त्यहाँ बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म तथा सम्प्रदायका नागरिकहरुको बाहुल्यलाई प्राथमिकतामा राखेर जनप्रिय उमेद्वारको चयन गरेमा समग्र नागरिकहरुले आफ्नो सहभागिता तथा अधिकारको सुनिश्चितता प्राप्त भएको महशुस गर्दथे । यसले आगामी स्थानीय तहको विकासको गतिलाई द्रुतता दिनेमा ढुक्क हुन सकिन्छ ।

अन्त्यमा, स्थानीय तहको निर्वाचन भनेको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको कार्यान्वयन तथा स्थानीय स्तरमा सद्भाव, एकता, विकास र समृद्धिसँग गाँसिएको हुँदा सबैले सक्रियपूर्वक सहभागिता जनाउनु आम नागरिकको कर्तव्य हुन्छ ।
(लेखक धुलावारी क्याम्पसका प्रमुख हुन् ।)
विराटनगर तिन दिनका लागि

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: