‘अबको समाजबाद बहुदलीय प्रतिष्पर्धासहित’

  प्रकाशित मिति
२ बैशाख २०७५, आईतवार २१:१९


विर्तामोड । एउटै र शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने अभियानको सङ्घारमा पुगिसकेका नेकपा एमाले र नेकपा माओबादी केन्द्रका बौद्धिक नेताहरुले नेपालको समाजबादी मोडेल बहुदलीय प्रतिष्पर्धासहितको हुनेमा सहमति जनाएका छन् ।

कम्युनिस्टहरु भन्ने वित्तिकै एकतन्त्रीय हुन्छन् भन्ने परम्परागत बुझाई रहँदै आएको सन्दर्भ जोड्दै दुबै पार्टीका बौद्धिक नेताहरुले विर्तामोडमा आइतवार आयोजित एक विचार गोष्ठीमा अबको नेपाली समाजबादमा आलोचना र बहुदलीय स्वतन्त्रताको ग्यारेन्टी गरिने समान धारणा व्यक्त गरे ।

‘अबको समाजबाद’ विषयमा माओबादी केन्द्र निकट सहिद स्मृति तथा जनयोद्धा संरक्षण प्रतिष्ठान दमकले विर्तामोडको आदर्श व्याङ्केटमा आइतवार विचार गोष्ठीको आयोजना गरेको थियो ।
दुबै दलका थिङ्क ट्याङ्क मानिएका प्रदीप ज्ञवाली, नारायणकाजी श्रेष्ठ र राम कार्कीले गोष्ठीमा आफ्नो विशेष प्रस्तुति राखेका थिए ।
सोभियत वा चिनियाँ मोडेलको एकतन्त्रीय समाजबाद नेपालमा उपयुक्त नहुने र लोकतान्त्रिक विशेषतायुक्त नयाँ मोडेलको नेपाली समाजबाद आविष्कार गरिने वक्ताहरुको साझा धारणा थियो ।

प्रतिष्ठानका अध्यक्ष एवम् माओबादी नेता झलकसिंह दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी नेता नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सांसदहरु एलपी साँवा, प्रदेश सांसदहरु गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, एकराज कार्की, जसमाया गजमेर, हिरा थापा, पूर्णसिंह राजबंशी, कुसुम श्रेष्ठ, एमाले झापाका कार्यवाहक अध्यक्ष मदन अधिकारी, एमाले नेता नरेश खरेल, विष्णु प्रसाई लगायतको उपस्थिति रहेको थियो ।
……..
‘नयाँ प्रश्नमा बासी उत्तर काम लाग्दैन’
नेकपा एमालेका सचिव तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सोमवार मित्रराष्ट्र« चीनको भ्रमणमा जाँदैछन् । भ्रमणको आन्तरिक तयारीको चटारो हुँदाहुँदै उनी विर्तामोडको गोष्ठीमा भाग लिन आइपुगे ।
उनको सहभागिताले नै कार्यक्रमको महत्व दर्शाउँछ । उनी कार्यक्रममा सुरुमै बोलेर काठमाडौँ फर्किएका थिए ।
उनले ५६ मिनेट लामो मन्तब्य दिएका थिए । मन्तब्यको अधिकांश समय उनले पुरानो मोडेलको एकतन्त्रीय समाजबाद असुहाउँदो भएको चर्चा गरेका थिए ।
‘जर्मन फाँसीबादको आक्रमणमा २ करोड जनता मारिदा पनि नढलेको सोभियत समाजबाद किन पूँजीबादसितको लडाइँमा सजिलै पराजित भयो ?’–ज्ञवालीले यस्ता प्रश्नको गम्भीर समीक्षा गरेर मात्र अबको समाजबादको आविष्कार गर्न सकिने बताए ।

लोकतन्त्रको अभ्यास नहुँदा सोभियत समाजबाद ढलेको बताउँदै एमाले नेता ज्ञवालीले अबको नेपाली समाजबादमा आलोचना गर्न पाइने लोकतान्त्रिक अभ्यासको ग्यारेन्टी गरिनु पर्ने धारणा व्यक्त गरे ।

उनले प्रश्नहरु नयाँ नयाँ आइरहेको हुँदा पुराना र बासी उत्तरहरुले समस्याको हल ननिस्कने बताए ।
उनले विप्लब माओबादीले भने जस्तो अर्को जनवादी क्रान्ति अब जरुरत नभएको बताउँदै २०६२÷०६३ सालको क्रान्ति नै नेपालको सन्दर्भमा सामन्तबादलाई समाप्त पार्ने पूँजीबादी जनबादी क्रान्ति भएको उल्लेख गरे ।
………….
समाजबादको चुनौति भ्रष्टाचार
नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको समाजबादी यात्रामा भ्रष्टाचार मुख्य चुनौति बन्न सक्ने चेतावनी दिएका छन् ।

कम्युनिस्ट पार्टी र सरकारमा भ्रष्टाचारी प्रवृत्ति विकराल रुपमा मौलाएको भन्दै उनले समृद्धि हासिल गर्न भ्रष्टाचारसँग निर्मम लडाइ गर्न आवश्यक रहेको बताए ।

कम्युनिस्ट पार्टीका २५ प्रतिशत कार्यकर्ताहरु ठेक्का पट्टा र कमिसनको भरमा चल्ने गरेको र नेताको चाकरी एवम् गुटबन्दीमा अलमलिने गरेको उनको आरोप थियो ।

श्रेष्ठले अबको समाजबादमा जनवादी केन्द्रीयताको ग्यारेन्टी हुनु पर्ने र लोकतन्त्रलाई आत्मसात गरिनु पर्ने बताए ।
अहिले मुलुकमा बाम गठबन्धनको दुई तिहाइ बहुमतको सरकार भएको र ठूला कम्युनिस्ट पार्टी एकीकृत हुन लागेको हुँदा अबको ३ वर्षभित्रमा ठोस उपलब्धि जनतालाई दिन नसके सरकार र कम्युनिस्ट पार्टी दुबै सङ्कटमा पर्ने उनले चेतावनी दिए ।
………….
‘पार्सल भएर आउने चीज होइन समाजबाद’
कार्यक्रमको अन्तिममा एक घण्टा लामो मन्तब्य दिएका माओबादी नेता राम कार्कीले अहिलेकै कम्युस्टि पार्टीहरुको कार्यशैलीले समाजबादको यात्रा सहज नहुने चर्चा गरे ।

एमाले र माओबादी दुबै पार्टीका नेता तथा कार्यकर्तामा भ्रष्टीकरण ठूलो रोगको रुपमा फैलिएको चर्चा गर्दै उनले चुनावमा करोडौँ चन्दा दिने पूँजीपतिहरुको प्रभावमा परेर गरीव जनताको हित बिर्सेको नेताहरुमाथि आरोप लगाए ।
समाजबाद पार्सल भएर आउने चीज वा काठमाडौँले घोषणामार्फत दिने उपहार नभएको उनले चर्चा गरे ।
उनले तल्लो तहका कार्यकर्ता र आम शुभेच्छुकमा आलोचनात्मक चेत मर्दै गएको र कम्युनिस्ट पार्टीहरुले कार्यकर्ताहरुलाई कार्वाहीको नाममा दास बनाउन खोजिरहको भन्दै उनले स्वतन्त्रता बेगरको समाजबाद अब काम नलाग्ने बताए ।

माक्र्सले बर्ग सङ्घर्षलाई नै समाजबाद भनेको उल्लेख गर्दै नेता कार्कीले नेपालमा खराब नेताहरुको कारण कर्मचारीतन्त्र र पत्रकारिता समेत गलत ट्र«याकमा गएको बताए ।

सरकार र पार्टीका नेताहरुलाई सही मार्गमा डोहोर्याउन कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु हरदम सजग भएर खबरदारीमा जुट्नु पर्ने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: