मेचीनगर । नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमण स्थानीयबासीमा देखिएको छ । विज्ञहरुले यसलाई महामारी पूर्वको अवस्था भएको चेतावनी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय हुन् । उनी चौथो संक्रमितका आफन्त हुन् ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने ‘चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए ।
ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । अहिले उनकै आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।’
‘विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी ट्रान्समिसन भनिन्छ ।’
कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताए ।
यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएका थिए ।
क्वारेन्टाइनको अवधि १४ दिनबाट बढाउनु पर्ने भएको छ । कैलालीकी जुन महिलामा आफन्तबाट कोरोना सरेको पुष्टि भयो, उनी १४ दिन क्वारेन्टाइनमा बस्दा कुनै लक्षण नदेखिएपछि घर फर्काइएकी थिइन् । उनी घर पुगेको दुई दिनपछि आज कोरोना सरिसकेको रिपोर्ट आएको हो ।
(अनलाइन खबरबाट)