‘अबदेखि कहिल्यै रक्सी पिउँदिन’

  प्रकाशित मिति
७ भाद्र २०७३, मंगलवार १०:३१


sanek (1)

चन्द्रगढी । भद्रपुर–१३ का ४० वर्षीय रनबहादुर (नाम परिवर्तन) दिनभरिको काम सकेर घर फर्किदै थिए । भदौ ३ गते साँझको कुरा हो । साहुको सानो गाडीका चालक उनी घर फर्किनु अघि थकान मार्ने उद्देश्यले ‘चिरिप्प’ पार्न एउटा छाप्रे पसलमा पसे । सुरापानले होश लरबराएका उनी मूलबाटो छाडेर धानबारी भएको आलीको बाटोतिर हानिए ।

धानवारीको बाटो हिँड्दै जाँदा उनलाई दाहिने खुट्टामा केहीले सरक्क कोतरेको जस्तो लाग्यो । त्यो समय साँझको ६ः३० थियो । झमक्कै अँधेरोमा ‘गँगटोले कोतर्यो कि क्या हो !’–भन्ने सोचेर खुट्टो कनाउँदै उनी घरतिरै बढे । जति पाइला चाल्थे उति खुट्टो पोल्थ्यो । तर उनले वास्ता गरेनन् ।

घर पुग्दा उनलाई सहन नसक्ने गरी खुट्टा पोल्न थालिसकेको थियो । पत्नीलाई व्यथा सुनाए । सुरापानले अर्कैखाले भइसकेका रनबहादुरको कुरा पत्नीले एक कानले सुनाएर अर्को कानले उडाइदिइन् । ‘पिएको बेलाको बोलीको के ठेगान’ भन्ने सोचेर उनको व्यथा पत्नीले पनि पत्याइनन् ।

यत्तिकैमा कुरो छिमेकीको कानसम्म पुग्यो । छिमेकी दाइले सर्पले डसेको हुनसक्ने र मदिरापानका कारण रनबहादुरलाई पत्तो नभएको अनुमान गरे । उनले आफ्नो बाइकमा हालेर रनबहादुरलाई चारआलीस्थित सर्प दंश उपचार केन्द्र पुर्याए । मरणासन्न अवस्थामा पुगिसकेका रनबहादुरलाई केन्द्रका सैन्य प्राविधिकले उपचार गरेर बचाए । रनबहादुरलाई विषालु गोमन सर्पले डसेको प्राविधिकहरूले बताएका छन् ।

अहिले रनबहादुर पुरै स्वस्थ भइसकेका छन् । उनलाई ज्यानमारा गोमन सर्पले डसेको थियो । नेपाली सेनाको चारआलीस्थित कालीबहादुर गणका प्राविधिक दिनेश खड्काका अनुसार रनबहादुरलाई उपचारको क्रममा १९ भायल एन्टी स्नेक भेनम प्रयोग गर्नु परेको थियो ।

‘केन्द्रमा ल्याइँदा गोमनको विष लागेर उहाँ वेहोश अवस्थामा हुनुहुन्थ्यो’, गणका प्राविधिक खड्काले लोकतन्त्र पोस्टसँग भने–‘ल्याउन अलिकति ढिलो भएको भए ज्यान बचाउन कठिन थियो ।’ सर्पले डसेका विरामीलाई सकेसम्म छिटो उपचार केन्द्रमा लगिनु पर्ने उनी बताउँछन् ।

बोली नआउने र दाँतले जिब्रो च्यापेको अवस्थामा उपचारमा ल्याइएका रनबहादुरलाई बचाउन केन्द्रका प्राविधिकहरूले ठूलै मिहेनत गरेका थिए । मदिरा पिएको अवस्थामा सर्पले डसेमा थाहै नहुने वा वास्ता नहुने भएकाले त्यो बेला पीडितको ज्यान बढी जोखिममा पर्ने प्राविधिकहरू बताउँछन् ।

पिएको बेला बोलेको कुराप्रति वास्ता गरेर साध्य नहुने भएकाले आफुले त्यसबेला खुट्टा पोल्यो भनेको सुन्दा सुन्दै पनि वास्ता नगरेको रनबहादुरकी पत्नी बताउँछिन् । ‘छिमेकी दाइले चारआली पुर्याउँदा मात्र म झसङ्ग भएँ’, रनबहादुरकी पत्नी भन्छिन्–‘उहाँलाई विषालु सर्पले पो डसेको रहेछ ।’

सर्पको विष निष्प्रभावी भइसके पछि तङ्ग्रिएका रनबहादुरले सर्पले डस्नुमा मदिरा पिउने आफ्नै बानी दोषी भएको स्वीकार गरेका छन् । ‘रक्सी पिएको थिइन भने धानबारीको आली आली हिँड्ने थिइन, सर्पले पनि डस्ने थिएन’, रनबहादुरले चारआलीस्थित सर्प दंश उपचार केन्द्रको बेडबाटै भने–‘पिएको बेला सर्पले टोक्दा पनि वास्ता हुँदो रै’नछ, धन्न बाँचे ।’
कक्षा ४ र ७ मा पढ्ने दुई छोराका पिता रनबहादुरले अहिले उपचारबाट नयाँ जीवन पाएका छन् । उनले अब कहिल्यै रक्सी नपिउने बाचा पनि गरेका छन् । ‘अबदेखि कहिल्यै रक्सी पिउँदिन’–सेनाका प्राविधिककै सामू रनबहादुरले लोकतन्त्रसँग आफ्नो नयाँ सङ्कल्प सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: