अब घरघरमै भत्ता, औषधि र तरकारी

  प्रकाशित मिति
११ बैशाख २०७७, बिहीबार १६:३४


भद्रपुर । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्याउने व्यवस्था मिलाइएको हो ।

विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी खरिद गरेर नाफा नराखी सर्वसाधारणलाई विक्रीको व्यवस्था पहिलोपल्ट मिलाएको हो । त्यसपछि मेचीनगरमा उद्योग वाणिज्य सङ्घले घरघरै सुपथ मूल्यमा तरकारी पुर्याउन थालिसकेको छ ।

मेचीनगर नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक अशक्तलगायतलाई सरकारबाट दिइने मासिक भत्तासमेत घरमै पुर्याउने संयन्त्र बनाएको छ । एकल महिला, लोपोन्मुख र दलित वालवालिकालाई समेत अब घरमै भत्ता आइपुग्नेछ ।

नगरपालिकाकाले सामाजिक सुरक्षा भत्ता घरघरै पुर्याउन वडा अध्यक्षको नेतृत्वमा १५ वटै वडामा कर्मचारी खटाइसकेको मेचीनगर–६ का वडाध्यक्ष ललित तामाङले बताए ।

बन्दाबन्दीको अवस्थामा सामाजिक भत्ता लिन ज्येष्ठ नागरिकलगायतको भीड बैङ्कमा जम्मा हुन थालेपछि कोराना भाइरस सङ्क्रमणको जोखिमबाट जोगाउन घरघरमै भत्ता पुर्याउने व्यवस्था मिलाइएको नगरकी उप्रमुख मीना उप्रेतीले बताइन् ।

मेचीनगरमा मङ्सिरदेखि फागुनसम्म चार महिनाको सामाजिक सुरक्षा भत्ता वापत १३ हजार ३८५ जनालाई रु। १४ करोड ६ लाख ३३ हजार २०० सामाजिक सुरक्षा भत्ता वापत वितरण गरिने नगरपालिकाका सूचना अधिकारी एवम् लेखा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

विर्तामोड नगरपालिकाले किसानलाई अनुदान दिएको कृषि फार्मबाट ताजा तरकारी किन्ने र गाडीको व्यवस्था गरेर नगरको टोलटोलमा पुर्याउने व्यवस्था मिलाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले जानकारी दिए । त्यसकार्यमा वडाका जनप्रतिनिधिहरुले प्रत्यक्ष रुपमा समन्वय गरिरहेको र कृषि शाखाले सम्पूर्ण व्यवस्थापनको काम गरिरहेको उनले बताए ।

मेचीनगर नगरपालिकाले मिर्गौला, मुटु, दमजस्ता रोगको घरै बसेर नियमित औषधि सेवन गरिरहेका सर्वसाधारणलाई आवश्यक औषधि घरमै पुर्याउने अभियान सञ्चालन गरेको जनाएको छ ।

नगरका जनप्रतिनिधि र कर्मचारीलाई वडापिच्छे सो कार्यका लागि जिम्मेवारी तोकिएको सामुदायिक शाखाका अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

(रासस)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: