मेचीनगर, ७ जेठ । अब झापामै कोभिड अस्पताल सञ्चालन र पीसीआर टेस्ट गर्ने प्रयोगशाला निर्माण हुने भएको छ ।
झापाको कोरोना संक्रमण, रोकथाम, अनुगमन तथा समन्वय समितिको बुधवार भद्रपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
‘झापामा एउटा कोरोना अस्पताल र पीसीआर प्रयोगशाला बनाउने निर्णय भयो’–समितिका संयोजक सोमनाथ पोर्तेलले लोकतन्त्रपोस्टसँग भने ।
ती दुबै कामका लागि ३ दिनभित्र समितिले स्थानको खोजी गर्ने भएको छ ।
पछिल्लो समयमा झापाका कोरोना संक्रमणको दर उच्च देखिएको र भारतबाट आउने नेपालीको संख्या बढ्दै गएपछि समितिले नयाँ कदम चाल्न लागेको हो । बैठकमा सामाजिक विकास मन्त्री जीवन घिमिरेका समेत उपस्थिति रहेको थियो ।