अब बन्लान् त झापाका सडक ?

  प्रकाशित मिति
७ माघ २०७३, शुक्रबार ०८:४२


ambika

केही दिन अघि नारी सञ्चार गृहले मानव बेचविखन विरुद्ध रिर्पोटिङ कसरी गर्ने भन्ने तालिमको आयोजना गर्यो । तालिमको सहजीकरण गर्न आउनुभयो राष्ट्रिय सूचना आयोगकी आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिना । उहाँलाई भद्रपुर विमानस्थलमा स्वागतका लागि सञ्चारगृहकी अध्यक्ष सावित्रा दाहाल, कोषाध्यक्ष सुशीला सङ्ग्रौला, सदस्य भिमा शिवाकाटी र म पुग्यौँ ।
आयुक्त तिम्सिनाले विर्तामोड आउँदै गर्दा मेची आँखा अस्पताल अगाडि आइपुगेपछि सडकको बारेमा चासो राख्नुभयो । उहाँले थुप्रै प्रश्नहरूको चाङ लगाउनु भयो हामीसँग । हामी एक अर्कामा मुखामुख गर्यौ तर बोलेनौं । त्यत्तिकैमा गाडीका चालकले सहजै उहाँको प्रश्नको उत्तर दिँदै भने ‘खै दिदी सरकार नै चुप छ अनि के गर्नु ।’

उनको उत्तर सुनेपछि दिदीले हाँसेर भन्नुभयो–‘सरकार भनेको को हो ? यहाँबाट तपाईहरूले चुनावमा भोट दिएर जिताएको प्रतिनिधि चाहिँ सरकार होइन ? तपाईहरुले कतिपटक सडक पुनः निर्माणका लागि अर्थात मर्मतका लागि आवाज उठाउनुभयो ?’ उनी नजावाफ भए । हामी पनि अनुत्तरित नै रह्यौं । किनभने दैनिकजसो यो सडक हुँदै झापा, इलाम, पाँचथर ताप्लेजुङलगायतका जिल्लामा सांसद तथा नेतागण नहिँडेको दिन नै हुँदैन । तर, त्यो विरुप सडकमा उनीहरूको ध्यान कहिल्यै पुग्दैन । अन्य जिल्लाका नेताको ध्यान त्यहाँ नपर्नु स्वाभाविकै हो । तर, स्थानीय राजनीतिक दलको चुनावी एजेण्डामा जहिल्यै पर्ने सडक निर्माण भने कहिल्यै चासोमा परेन । विर्तामोड–भद्रपुर सडक मात्र होइन चन्द्रगढी–चारआली सडकको अवस्था पनि उस्तै जीर्ण छ ।

मुलुकमा दुईवटा संविधान सभाको चुनाव भयो । ती दुवै चुनावबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी झापाले धेरै जना सभासद् अर्थात सांसद पायो । तर, अझै विकासप्रेमी भने पाउन बाँकी नै देखियो । प्रत्येक बर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकासका लागि करोडौं बजेट आउँछ सांसद विकास कोषबाट । तर सबै बजेट आआफ्ना कार्यकर्ता खुशी पार्ने काममा मात्र बढी केन्द्रित भइरहेको देखिन्छ । यसो भनेर सांसदले केही गरेनन् भन्न खोजेको होइन तर, सामाजिक समस्यामा कहिले काहिँ सबै राजनीतिक दल एकै थलोमा उभिन सके यसले ठूलो जनहितकारी काम बन्छ मात्र भनेको हो ।

गत बर्ष मात्र पनि झापामा प्रत्यक्ष र समानुपातिक सांसदलाई सांसद विकास कोषबाट पूर्वाधार निर्माणका लागि क्रमशः प्रतिव्यक्ति १ करोड ५० लाख रुपैयाँ र २० लाख रुपैयाँका दरले नआएको होइन । तर सो बजेट प्रायः प्रत्येक दलका सांसदले आफ्ना कार्यकर्ताको दुनो सोभ्mयाउने काममा बढी केन्द्रित गर्दा यी सडकको दुर्दशा उस्तै रह्यो ।

अझै पनि विग्रिहालेको केही छैन । मान्छेले विगतमा आफूले गरेका गल्तीबाटै सच्चिने हो । त्यसका लागि झापाका सबै राजनीतिक दल, बुद्धिजीवी र सरोकारवाला निकाय एकै थलोमा उभिन जरुरी छ । राज्यको ढिकुटीबाट यस बर्ष पनि प्रत्यक्ष निर्वाचित सांसदलाई पूर्वाधार विकासमा प्रतिसांसद ३ करोड रुपैयाँ र निर्वाचन क्षेत्रका विकास लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । झापामा २४ जना सांसदको बजेट ३३ करोड रुपैयाँ आउँदैछ । उनीहरूले पूर्वाधार विकासमा आएको रकम साझा अवधारणा बनाएर खर्च गर्न सके विर्तामोड भद्रपुर तथा चन्द्रगढी चारआली सडक राम्रो र मजबुद बन्ने थियो । जसले गर्दा बर्षौअघि देखि समस्या समाधान मात्र होइन नयाँ विकासको मोडल समेत तयार भई देशभरमा सकारात्मक सन्देश प्रवाह हुने थियो । के त्यसो गर्न हाम्रो राजनीतिक दल तयार छन् ?

समृद्धिको पहिलो आधार नै सडक र यातायात हुन् । झापाको सदरमुकाम जाने चारआली–चन्द्रगढी र धुलावारी–घोडामाराको सडकको हालत पनि उस्तै छ । चारआली सडकको दुर्दशा विरुद्ध स्थानीयवासी आन्दोलित नै भएका छन् । सडकको मर्मत सम्भार नहुँदा सडक छेउका वासिन्दाले धुलोको सास्ती खेप्नु परिरहेको छ । चिल्ला गाडीमा यात्रा गर्ने ठूलाठालुलाई त धुलोको असर थाहा नहोला, तर स्कुल पढ्न हिँडेका बालवालिका र साइकल एवम् मोटरसाइकलमा यात्रा गर्नेहरूको पीडा कसले बुझिदिने ?

अहिलेको समस्या बजेट नभएर सिर्जना भएको होइन । भएको बजेटलाई एकीकृत गरेर दलीय सहमतिका आधारमा ठूला परियोजना सञ्चालन नगरिदा समस्या देखिएको छ । कनिका छरेजस्तो गरी साना साना बजेट ढुट्याउनु भन्दा महत्व र प्राथमिकताका आधारमा ठूलो विकासमा हात हालन सके विस्तारै सबै क्षेत्रमा क्रमिक विकास हुँदै जाने अपेक्षा गर्न सकिन्छ । काठमाडौँबाट झापामा केही दिनका लागि पाहुना बनेर आउनु भएकी सूचना आयुक्त यशोदा तिम्सिनाले जसरी बाटोको दुर्दशाप्रति चिन्ता प्रकट गर्नु भयो, त्यस्तै चिन्ता हाम्रो जिल्लाका मन्त्री, सांसद, नेता र विकासे अड्डाका बजेट विनियोजनकर्ताहरूलाई पनि भइदिए राम्रो हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: