अभावले संघर्ष गर्न सिकायो

  प्रकाशित मिति
३ माघ २०७८, सोमबार १०:४५


                   रामचन्द्र उप्रेती

म गरिव किसान परिवारमा जन्मिएँ, हुर्किए । मेरो जन्म बिक्रम सम्वत २०१६ मा भयो । म जन्मेको परिवेश र समयमा गरिबी, अशिक्षा, अन्धविश्वास, अभाव, भाग्यप्रतिको विश्वास अहिलेको समयभन्दा धेरै गुणा बढी थियो । बुबाआमाका हामी दश सन्तान मध्ये छ जना बाँच्न सफल भयौं । आज प्रयन्त सबै छौं । चारजनाले सानैमा ज्यान गुमाउनु पर्‍यो । यस्तो लाग्छ हामी जो बाँच्यौं संंयोगले बाच्यौं ।

बुबा परिवारका लागि अलि सहज जीवनको खोजीमा पहाडबाट मधेश र आसामसम्म पटकपटक आउजाउ गरेको कुरा आमाले सुनाउनु भएको थियो । २०२६ सालको फागुण महिनामा हाम्रो परिवार सदाका लागि पहाडको जन्मथलो छाडेर मधेसमा बसाई सर्‍यौं । पहाडबाट बसाई सरेर मधेसको यात्रामा निस्कदा यस्तो लाग्थ्यो अब हाम्रा सबै दुःखका दिन सकिए । अब हाम्रा भागमा सुखैसुख मात्रै छ । अहा कस्तो राम्रो । हाम्रा बुबा निकै महान हुनुहुन्छ । हामीलाई अब कहिल्यै नपुगेको, नदेखेको नयाँ ठाउँमा लादै हुनुहुन्छ । त्यहाँ दुःख छैन । खानाको अभाव हँुदैन । धानको भात नै प्रसस्त खान पाइन्छ । राम्रो स्कुलमा पढन पाइन्छ । किताव, कापि, कलमको अभाव हुने छैन । लाउने लुगा राम्रा राम्रा हुनेछन् । काम गर्नु पर्दैन वा थोरै गरे पुग्छ । मधेस सबैतिर सम्ममात्रै हुने भएकाले उकाली ओरालीको दुःख त पहाडमै छाडियो । यस्तै यस्तै मनमा कल्पना गर्दै पहाडबाट मधेस बसाई झरेका थियौं । मानौ दुःख भनेको पहाडबाट मधेस पुग्नु मात्रै हो ।

बसाई सरेर मधेस (मोरङको अमरदहमा पर्ने दोहमनामा) आइपुगे पछि त्यहाँ भोगेको जीवनलाई पछि फर्केर हेर्दा यस्तो लाग्छ हामीले पहाडको उकाली ओरोली मात्रै छाडेछौं बाँकी दुःख, अभाव, रोग, भोक सबै सँगै लिएर आएका रहेछौं । पहाडमा घर नजिकै स्कुल थियो यता मधेसमा लगभग एकघण्टाको दुरीमा मात्रै स्कुल थियो । मैले स्कुल जादा र घरबस्दा लाउने लुगा पाएँ । घर बस्ता लाउने भोटोमा गोजी थिएन र स्कुल जाँदा लाउने भोटोमा गोजी थियो । त्यही गोजीले स्कुल जादा लाउने र घरबस्दा लाउने भनेर छुट्टिन्थ्यो । इजार लामो निस्केको कट्टु घर र स्कुल दुवैतिरका लागि मान्य थियो । दुई छाक -बिहान बेलुका, अघाउँजी खान पुग्दैनथ्यो । आमाको बाध्यता, बुबाको सकस बुझ्ने भएका थिएनौं । घरको ठुलो छोरो म, दिदीको १४ वर्षको उमेरमा नै विवाह भएर भिनाजुको घर गएपछि भाइबहिनीले रुन, पुगेन, चाहिन्छ, मलाई खोई भन्ने छुट भए पनि मलाई त्यो छुट थिएन । किनकि आमाले पहिला सानालाई नै फकाउनु पथ्र्यो । मनमा कताकता लाग्थ्यो आमाले मलाईभन्दा मेरा भाइबहिनीलाई बढता माया गर्नुहुन्छ । म आमाको बाध्यता बुझ्न सक्ने भएको थिइन । 

म जेठो छोरो भएकाले स्कुलमा गएर बचेको समयमा गाईबाख्रा चराउनु, घाँस काटनु, बस्तुभाउको हेरचाह गर्नु, घरआँगन सफा गर्नु, आमा बिरामी हुँदा भान्साको काम गर्नु, भाँडा माझ्नु मेरो जिम्वेवारीमा पथ्र्यो । यसरी काम गर्दा म बुबाआमालाई सघाईरहेको हुन्थें भन्ने धेरै पछि थाहा पाउन थालें । म हुर्कदै जाँदा बुबाले मलाई खेतमा लिएर जानुहुन्थ्यो । बुबासँगै खेतीको काम गर्न सिकाउनु हुन्थ्यो । खेत गोड्नु, डल्ला फुटाउनु, पानी थुन्नु, पानी लाउनु, आली काट्नु, आली लाउनु, जोत्नु, खन्नु, बिउ उखेल्नु, रोप्नु, धान काट्नु, मकै भाँच्नु, मुठा बनाउनु, बोक्नु, भेला गर्नु, दार्इँ गर्नु, धान बताउनु, मकै छोडाउनु, बालि जोगाएर खेतबारी र आलीमा घाँस काट्नु मेरा दैनिकि हुन थाले । काम गर्न मलाई कहिल्यै अल्छि लागेन । काम गर्दागर्दै भोक र थकाईले लखतरान हुँदा कतिखेर खाजा आउला भनेर बाटो हेरिन्थ्यो । भातमा बेसार हालेपछि त्यो चाम्रे हुन्थ्यो । अलिकति पिसेको नुन खुर्सानी र गुन्द्रुकको अचार भएपछि एकथाल ‘चाम्रे’ सजिलै हाम हुन्थ्यो । त्यत्तिको मीठो त अहिले केही हुदैन । कति खेर खान पाइएला भन्ने लाग्थ्यो ।

अभावले नै समाजमा बाँच्ने तरिका सिकायो, मानिस चिन्न सिकायो । उपभोगको सिमा देखाई दियो । फारु गर्न, जतन गर्न, सदुपयोग गर्न सिकायो । भएको जोगाउन सिकायो । सङ्कटमा चाहिन्छ भनेर जोहो गर्न सिकायो । अभावमा जिउन सङ्घर्ष गरिरहका मानिसको मर्मलाई आत्मसाथ गर्न र बुझ्न सिकायो ।

घरको काम, खेतीको कामले मलाई जीवन जिउने कला सिकाई दियो । कक्षा चारसम्म पहाडमा पढेको मलाई कक्षा पाँच, छ र सात बेग्लाबेग्लै स्कुलमा पढनु पर्ने वाध्यता भयो । नजिकमा स्कुल थिएन । टाडा धाएर जानुपर्ने । नयाँनयाँ ठाउँको अनुभव भयो । नयाँनयाँ साथी बनाउन सिकें । भिन्न समुदायका मानिससँग हेलमेल भयो । उनीहरुको रहनसहन फरक थियो । भाषा फरक थियो, संस्कार फरक थियो । त्यो बुझ्ने र त्यसलाई स्विकार गर्न सिक्तै हुर्कदै गएँ । स्कुलमा पढन आउने अलि धनी परिवारका साथिहरुको किताव बोक्ने झोला हुन्थे । कक्षा सातमा पढदा स्कुलमा शिक्षकले किताव झोलामा लिएर आउनु भनेर सम्झाए । हामी कितावको जतन गथ्र्यौं, गाता लगाएर राखेका हुन्थ्यौं तर पनि सधै हातहातमा हुने हुँदा अलि चाडै च्यातिने हुँदो रहेछ । मैले घरमा आमालाई किताव राख्ने झोला किनिदिन अनुरोध गरें । एक त झोला किन्ने पैसा थिएन, पैसा भएपनि झोला किन्न बजार लाग्ने दिन पर्खनु पर्ने र अलि टाढा नै जानु पथ्र्यो । आमाले झोलाको आवस्यकता बुझ्नुभयो जस्तो लाग्यो । वहाँले टाउकोमा बाँधेको गाम्छा खोलेर दिनुभयो । किताव मिलाएर बाँधि दिनुभयो । पोको पार्न र खोल्न सिकाउनु भयो । म खुसीले गदगद हुँदै त्यो गाम्छाको पोको बोकेर स्कुल गएँ ।

कक्षा आठ, नौ र दशको पढाई घरबाट टाढा गएर पढें । कक्षा आठमा भर्ना हुँदा १३ वर्षको थिएँ । घरबाट टाढा, आमाको काख र बुबाको छहारीबाट अलग भएर आपूm जस्तै अरु साथीहरुसँग मिलेर बस्ने, आपैm पकाउने, आफ्नो काम आपैm गर्ने, पालो मिलाएर भाँडा माझ्ने, कोठा सफा गर्ने, पानी बोक्ने, लुगा धुने जस्ता काम गर्दै हुर्कने अवसर पाएँ । बिहानबेलुकाको दुई छाकका लागि चामल, दाल उपलव्ध थियो । तरकारी कहिलेकाँही जुथ्र्यो । नुन, भुटुन, मसला कहिले हुन्थ्यो कहिले सकिन्थ्यो । उमाल्न पाए हुन्थ्यो । जे पाक्थ्यो मीठो लाग्थ्यो । अघाउँजी खान पाए पुग्थ्यो । चारजना सँगै थियौं । एउटै भान्सा, एउटै ओछ्यान, एउटा कोठा । हाम्रो बेडरुम, सिटिङरुम, किचन, डाइनिङ, लाइबे्ररी जे थियो त्यही एउटा साँगुरो कोठा र त्यहाँ भएका एउटा भात पकाउने सिल्भरको डेक्ची, सिल्भरकै कराई, चारजनाका लागि चारवटा सिल्भरका थाल, पानी खान दुईवटा गिलास, डाडुपुन्यु, पानि बोक्ने बाल्टि, दाउरा बालेर पकाउन मिल्ने चम्के चुल्हो, साधारण ओडने ओछ्याउने, लाउने लुगा र अति जरुरी किताब, कापी र कलम । यति थियो हाम्रो सम्पति । खाट, पलङ, कुर्सी, टेवल, सोफा, बेन्ची, किताव राख्ने र्‍याक, लुगा राख्ने आल्ना, दराज हुन्छन् भन्ने नै थाहा थिएर । थाहा नै नभएको समान चाहिने कुरै भएन । लुगा राख्न भित्तामा काँटी ठोकेर डोरी टागिएको थियो ।

घरबाट टाढा गएर साथीहरुसँग कोठामा बसेर सिमित साधनश्रोतको प्रयोग गर्दै अभावको जिन्दगीले के पढो त्यो थाहा भएन तर अहिले बुझ्दा त्यो बेला हामीले किताबबाट भन्दा धेरै जीवनको भोगाईबाट सिकेछौं । घर टाढा थियो । हिँडेर आउजाउ गर्नु पर्ने । आउजाउ गर्न दुई दिनको समय लाग्ने । चामल, दाल, मट्टितेल (स्टोभ बाल्न) सकिदा, बढतै चिन्ता लाग्थ्यो । घरबेटीको घरभाडा भनेको समयमा दिन नसक्दा, स्कुलको फि समयमा बुझाउन नसक्दा मन पोल्थ्यो । खाजा खाने, स्कुलको वरिपरि किनेर खान पाइने, चटपटे, पानीपुरी, बरफ हाम्रा लागि केवल रमिताका विषय मात्रै थिए । हाम्रो गोजीमा तिनका लागि पैसा हुदैनथ्यो । हामीलाई गुनासो पनि थिएन, अभ्यस्त थियौं अरुले किनेर खाएको हेर्न ।

घरमा पैसा लिन आउँदा बुबासँग पैसा माग्ने साहस नै हुदैन थियो । किनकि बुबाको हातमा र साथमा पैसा छैन भन्ने पहिल्यै थाहा थियो । त्यसैले कोठाभाडा, स्कुलको फि, दोकानको बाँकी यति छ भन्थें । बाटाको खर्च बुबाले नै जानेर दिनु हुन्थ्यो । एक पटक बुबाले यो खसी बेचेर लानु भनेर खोरमा भएको एउटा खसी देखाउनु भयो । नजिकैको दोमना बजारमा लिएर जाने जिम्मा मेरै भयो । कतिमा बेच्ने थाहा थिएन । बुबालाई सोधें नब्बे रुपियाँमा बिक्छ होला भन्नुभयो । नब्बे रुपियाँमा बेच्न एकसय पाँच भनें । दिनेले पन्चानब्बे दिए । बजार पुग्ने वित्तिकै पाएको यो पैसाभन्दा पर्खदा अभैm धेरै आउने आशा जाग्यो । अन्तिममा बेच्नै पर्ने थियो, किन्ने आएनन् रु. पचासीमा बेचें । त्यो बेला गुमाउनु परेको दश रुपियाँले धेरै दिन थकथक भईरह्यो ।
अर्को एक पटक बुबासँग पैसा माग्दा बुबाले मलाई छिमेकि लाउरेको घरमा लिएर जानुभयो बुबाले दुईसय रुपियाँ ब्याजमा ऋण काढ्नु भयो । पहाडे कागजमा तमशुक लेखियो । पुरानो बेट्री फुटाएर कालो निकालियो । कालोमा अलिकति तोरीतेल मिसाएर औंलामा दल्न मिल्ने कालो तयार गरियो । बुबाले दायाँबायाँ ल्याप्चे लगाउनु भयो । लाउरेले टिनको बाकसबाट झिकेर दुईवटा नयाँ हरिया नोट बुबाको हातमा थमाईदिए । त्यसमध्येको एउटा मैले पाएँ ।

त्यो बेला म बुझ्दिनथें बुबाले म केटाकेटी उमेरको मान्छेलाई किन बजारमा एक्लै खसी बेच्न पठाउनुभयो, किन बुबाले तमसुक गरेर पैसा सापट लिन लाउरेको घरमा लिएर जानुभयो । धेरै पछि मैले थाहा पाएँ । जीवन चलाउन यस्ता व्यवहारको कति महत्व हुदो रहेछ भन्ने र मलाई बुबाले कुनै स्कुलमा नसिकाइने यस्ता व्यवहारिक ज्ञान दिनु भएको रहेछ ।
मैले व्यवहार गर्न थाले पछि आमाले ‘छोरा मासु खान मन लागेको छ’ भनेको कुरालाई धेरै पटक टारेको छु । पैसा थिएन, पुग्दैनथ्यो । आमाले नबुझ्ने कुरै भएन । फेरी दोहोर्‍याएर हत्तपत्त भन्नु हुन्नथ्यो । बुबाले त यो चाहियो छोरा भनेर कहिल्यै केही भन्नु भएन । बुबाआमाका लागि जाडामा लगाउने लुगाको अभाव थियो । अभाव त हामी सबैलाई थियो तर बुढाबुढीलाई अलि बढता चाहिन्थ्यो भन्ने धेरै पछि थाहा भयो । त्यो बेला बुबाले हामीलाई छाडिसक्नु भएको थियो ।

पेटभरी खान र एकसरो नयाँलुगा लाउन नपुग्ने समयमा नै मेरो विवाह भयो । श्रीमती र भाइबहिनीहरुले समस्या नबुझ्ने कुरै थिएन । अभाव र गरिवीका कारण घरमा कहिल्यै मनमोटावको विषय बनेन ।
अभावले सङ्घर्ष गर्न सिकायो । अभावले नै समाजमा बाँच्ने तरिका सिकायो, मानिस चिन्न सिकायो । उपभोगको सिमा देखाई दियो । फारु गर्न, जतन गर्न, सदुपयोग गर्न सिकायो । भएको जोगाउन सिकायो । सङ्कटमा चाहिन्छ भनेर जोहो गर्न सिकायो । अभावमा जिउन सङ्घर्ष गरिरहका मानिसको मर्मलाई आत्मसाथ गर्न र बुझ्न सिकायो । इमान्दार हुन कति कठिन छ, सङ्घर्ष गरेर आफ्नो कमाई र स्वाभिमानमा बाँच्न कति कठिन छ भनेर बुझ्न सिकायो । सँगसगै मैले उत्कृष्ट जीवन बाचेको छु भन्ने अनुभुति दिलाएको छ । यो उपलव्धि यदि मैले अभाव नझेलेको भए, सङ्र्षपूणर् जीवन नबाँचेको भए पाउन सक्ने थिइन । त्यसैले म भन्छु मैले भोगेको अभावको जीवन मेरा लागि बरदान हो । प्रगति, उन्नति र सन्तुष्टिको बलियो आधार हो ।

जसले कहिल्यै खाली खुट्टाले भुईमा टेक्ने मौका पाएनन्, हातले माटो खेलाउने अवसर पाएनन् तिनलाई माटोको सुगन्ध थाहा हुदैन । जसले भोक सहनु परेन उसले अघाउजी खान पाउनुको मज्जा नै पाएन । जसले मुटु छेडने जाडोको सामना गरेन उसले उदाउदै गरेको सुर्यको तातो र जिउ तताउन आगो ताप्नुको मज्जा महसुस गर्न पाएनन् । जसका लागि फालाफाल बजारिया खेलाउना हुन्छन् उनीहरुका लागि खोलामा भेटिने चिल्ला ढुङ्गाका गट्टि बनाएर खेल्दा हुने आनन्द थाहा भएन । जसले जाडो छेक्न रुम हिटरको प्रयोग गर्ने सुविधा पाए उनलाई जाडो भगाउन खेलिने चुङ्गीको खेलले दिने मज्जा कस्तो हुन्छ भन्ने थाहा नै पाएनन् । जीवन पूmल मात्रै होइन, जीवन काँडाहरु सहितको पूmलको बोट हो । त्यो सबैले भोग्न पाउदैनन् । जसले काँडैकाडा मात्रै भोगे वा पूmलैपूmल मात्रै भोगे त्यो जीवन अधुरो जीवन हो । तर मैले काँडा सहितको सुगन्धित पूmलको बोट जस्तै जीवन भोग्न पाएँ त्यसका लागि म आपूmलाई भाग्यमानि ठान्छु । भोगेको जीवनप्रति सन्तुष्ट छु ।

२०७८।१०।०१

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: