अभिभावकको समर्थनमा प्रिन्सिपल पुनर्वहाली

  प्रकाशित मिति
१ जेष्ठ २०७५, मंगलवार ०८:००


चारआली । केही दिन अघि सञ्चालकहरुद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जल्स बोर्डिङ स्कुलका प्रिन्सिपल राजेश सेढाई अभिभावकहरुको समर्थनमा पुनर्वहाली भएका छन् ।

एक हजार भन्दा बढी विद्यार्थी रहेको लिटल एन्जल्सका सञ्चालकहरुले प्रिन्सिपल सेढाईलाई गत शुक्रवार हटाएका थिए ।

तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकहरुले सोमवार विद्यालयमा तालाबन्दी गरेपछि अभिभावक, सञ्चालक र जनप्रतिनिधिहरुको संयुक्त भेलाले प्रिन्सिपलको तत्काल पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

पुनर्वहाली भएका प्रिन्सिपल सेढाइलाई अभिभावकहरुले अबिरजात्रा समेत गरेका छन् ।

लिटल एन्जल्समा सीके कार्की, सुभाष शेर्पा र मनबहादुर तामाङ सञ्चालक रहेका छन् ।
प्रिन्सिपल सेढाईले आफ्ना नानीहरुको पढाइ लेखाइमा अत्यन्त सुधार ल्याएको हुँदा उनलाई नहटाउन माग गर्दै आन्दोलित हुनु परेको अभिभावक समेत रहेकी मेचीनगर–१३ की रीता परियार बताउँछिन् ।

अभिभावक र विद्यार्थीहरुले मन पराएको प्रिन्सिपललाई हटाएर सञ्चालकहरुले गल्ती गरेको स्थानीय रेणुका नेपाल बताउँछिन् ।

प्रिन्सिपल सेढाइ आएपछि लिटल एन्जल्समा विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको र विद्यालयको भौतिक विकास समेत भएको अभिभावक कमला भण्डारीको धारणा छ ।

अभिभावकहरु विद्यालयमा राम्रो पढाइ होस् र शिक्षक कर्मचारीहरु राम्रा हुन् भन्ने चाहना राख्ने भएकाले प्रिन्सिपल सेढाई लिटल एन्जल्सको गौरव भएको अभिभावक सीता खड्का बताउँछिन् ।

विद्यालयको आन्तरिक कुरामा त्यति चासो नभए पनि अभिभावकहरु लोकप्रिय प्रिन्सिपल सेढाइको पक्षमा खुलेरै लाग्न विद्यालय सञ्चालकहरुले नै बाध्य बनाएको अभिभावक सुदीक्षा मादेन बताउँछिन् ।

‘हाम्रा नानीहरुलाई प्रिन्सिपलले राम्रो गर्नु भएको छ’, कक्षा २ र ५ मा आफ्ना दुई नानीहरु पढ्ने बताउँदै सुदीक्षा भन्छिन्–‘राम्रो प्रिन्सिपललाई हटाउँदा स्कुलका अभिभावकहरुको मन दुख्यो ।’

प्रिन्सिपल सेढाइलाई के कारण हटाइएको हो भन्ने बारेमा स्कुल सञ्चालकहरुले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

केही दिन अघि स्थानीय एक मिडियामा ‘प्रिन्सिपल सेढाइले विद्यार्थी र शिक्षकलाई यातना दिने गरेको’ भन्ने समाचार आएको थियो । तर त्यो समाचार गलत र सञ्चालकहरुको स्वार्थका लागि आएको अभिभावकहरु बताउँछन् ।

सञ्चालकहरुबाट पीडित बनेका प्रिन्सिपल सेढाइ न्याय खोज्दै मेचीनगर–१३ को वडापालिका समेत पुगेका थिए ।

उनले वडा कार्यालयमा आफुलाई न्याय दिलाइदिन माग गरेको वडाध्यक्ष कृष्ण सिग्देल बताउँछन् ।

वडा कार्यालयले विवाद मिलाउन सोमवार विहानैदेखि सञ्चालक र अभिभावकका प्रतिनिधिहरुलाई राखेर छलफल चलाएको थियो ।

राजनीतिक अगुवाहरु समेत रहेको छलफलबाट प्रिन्सिपललाई तत्कालै पुनर्वहाली गर्ने निर्णय भएको मेचीनगर नगरपालिकाकी नगर कार्यपालिका सदस्य निरु परियारले बताइन् ।

छलफलमा वडाध्यक्ष कृष्ण सिग्देल, नगर कार्यपालिका सदस्य निरु परियार, विद्यालयका पूर्व अध्यक्षहरु पुष्पराज कार्की, सन्तोष न्यौपाने लगायतको उपस्थिति थियो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
…………………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: