अभिभावकलाई सचेत हुन आग्रह

  प्रकाशित मिति
१० माघ २०७३, सोमबार १०:५४


DSCN5675 इटाभट्टा । के तपाईका स्कुल कलेज पढ्ने छोराछोरीहरू बेलुका अबेरसम्म सुत्दैनन् र विहान ढिलोगरी मात्र ओछ्यानबाट उठ्छन् ? के उनीहरू पैसा मागेका बेला नदिँदा आमाबाबुमाथि नै आक्रामक हुन्छन् ? के उनीहरूको पढाई विस्तारै खस्किदै गएको छ ? के तिनीहरू दुब्लाउँदै गएका पनि छन् ?

नेपाल प्रहरीका पूर्व एसएसपी एवम् नार्कोनन् नेपालका प्रमुख बसन्तराज कुँवरले आइतवार झापाको मेचीनगरमा आयोजित स्वास्थ्य महोत्सवको प्यानल डिस्कसनमा सहभागी हुँदै स्थानीय अभिभावकहरूलाई मञ्चबाटै गरेको प्रश्न हो यो । यी प्रश्नको जुन उत्तर उनले सुनाए, त्यो सुन्दा दर्शकदीर्घामा उपस्थित सयौँ अभिभावकको मुटुमा पक्कै ढ्याङ्ग्रो बजेको हुनु पर्छ ।

अभिभावकलाई होशियार रहन आग्रह गर्दै उनले उत्तर सुनाए–‘यदि त्यस्तै लक्षण देखिएको छ भने तपाईको नानीहरू ड्रग्सको कुलतमा फँस्न थालिसकेका हुन सक्छन् ।’

नेपाली काङ्ग्रेसले आयोजना गरेको स्वास्थ्य महोत्सवको दोस्रो दिन आइतबार उनी ‘लागू औषधमुक्त समाज कसरी निर्माण गर्ने ?’ भन्ने समूहगत छलफल (प्यानल डिस्कसन)मा प्रमुख वक्ताको रुपमा बोल्दै थिए । उनीसँग डा. तुसार यादव, इन्जिनियर कृष्ण फुँयल पनि वक्ता थिए । यादव र फुँयल दुबै जना ड्रग्सको पूर्व सेवनकर्ता हुन् । लामो समय कुलतमा फँसेका दुबै जना सुधारगृहमा बसेर नयाँ जीवन पाएका बौद्धिक व्यक्ति हुन् ।

प्यानल डिस्कसनमा पूर्व एसएसपी कुँवरले युवाहरू कसरी कुलतमा फँस्छन्, कुलत केलाई भनिन्छ र त्यसबाट कसरी मुक्ति दिलाउन सकिन्छ भन्ने विषयमा लामो सम्भाषण गरेका थिए भने डा. यादव र ई. फुँयलले आफु कुलतमा फँस्दा पाएको नारकीय सास्ती र त्यसबाट जोगिनु पर्ने विषयमा अनुभव सुनाएका थिए ।

हाम्रो समाजमा जाँड, रक्सी, गाँजा सेवनलाई सामान्य रुपमा लिने गरिनु ठूलो गल्ती भएको बताउँदै मुख्य वक्ता कुँवरले प्रहरीको सहयोगमा अन्यत्रै सङ्कलन गरेर ल्याइएको दुई युवाको पिसावको नमुनालाई किटबाट मञ्चमै टेस्ट गर्दा गाँजा र डाइजीपाम जस्ता लागू औषध सेवन गरेको प्रमाण प्रस्तुत गरेका थिए । ती युवाले पनि मञ्चमै आएर आफुले गाँजा सेवन गरेको स्वीकार गर्दै अवोप्रान्त सुध्रिने बताएका थिए ।

ड्रग्सको कुलतमा परिसकेकाले आमाबुवा, आफन्त कोहि पनि नचिन्ने र अन्त्यमा कुलतले उसको ज्यान लिएरै छाड्ने कुँवरले बताए । उनले राजा वीरेन्द्रको वंश विनास ड्रग्सकै कारण उनका छोरा दीपेन्द्रले गरेको दृष्टान्त सुनाउँदै कुलतले पार्टी, जाति र धनीगरीव केही पनि नभन्ने हुँदा यसबाट आफ्नो जीवन मात्र नभएर परिवार, समाज र मुलुक नै बर्बाद हुने बताए ।

अभिभावकहरूले छोराछोरीलाई सानैदेखि लागूऔषधका बारेमा जानकारी दिन सके कुलतमा फँस्नबाट जोगिने समेत उनको सुझाव छ । पछिल्लो समय विद्यालयमै ६० प्रतिशत विद्यार्थीले नशालु पदार्थ प्रयोग गर्ने बताउँदै उनले शिक्षक शिक्षिका तथा अभिभावकलाई चनाखो रहन समेत आग्रह गरे ।
उनले राजतन्त्रको अन्त्य र माइकल ज्याक्सनको मृत्यु गराउन सक्ने ड्रग्सबाट टाढै रहन युवा तथा बालबालिकालाई सचेत गराएका छन् ।

‘नशाको कुनै जात धर्म र वर्ग हुँदैन’ कुँवरले भने –‘सामान्य नागरिक मात्र होइन यसबाट डाक्टर, इन्जिनियर समेत अछुतो छैनन् ।’ उनले लागूऔषधका विषयमा घरदेखि स्कूलसम्म अध्ययन अध्यापन गराउने हो भने ८० प्रतिशत बालबालिका तथा युवाहरू यसबाट जोगिन सक्ने बताए ।
उनले कुलतमा फँसेकाहरुलाई सरकारले सुधार गृहहरू सञ्चालन गर्न आवश्यक रहेको बताए ।
‘सरकारले लाखौ बजेट लागूऔषधका नाममा खर्च गर्छ’, उनले भने–‘तर लक्षित बर्गसम्म बजेट पुग्न नसक्दा निम्नस्तरका परिवारका सदस्यहरूले परामर्श विनै ज्यान गुमाउनु परेको छ ।’
उनले निजीस्तरबाट नेपालमा कुलतमा फँसेकाहरूलाई मुक्त गराउन १ सय ८० वटा सुधार गृह सञ्चालनमा रहेको जानकारी दिए ।

त्यसैगरी, साथीभाईको लहैलहैमा लागेर पाँचबर्षसम्म लागूऔषधको दुव्र्यसनमा फँसेर नारकीय जीवन बिताएका इन्जिनियर कृष्ण फुँयलले २ बर्ष अघि आफूले पुनर्जीवन पाएको बताए ।

सानैदेखि पढाइमा तेज रहेका उनलाई दुःखजिलो गरेर बाबुआमाले भारतको टप विश्वविद्यालयमा इन्जिनियर पढाएका थिए । उनले त्यही विश्वविद्यालयको होस्टेलमा बस्दा लागूऔषध खान सिकेका बताउँदै विदेशमा पढ्न जाने छोराछोरीको गतिविधिमा निगरानी गर्न समेत अभिभावकहरूलाई अनुरोध गरे ।

उनले भने–‘विदेशमा नेपाली विद्यार्थीलाई लक्षित गरेर डान्स सेन्टरहरू होस्टेल नजिकै सञ्चालन गर्छन्, जसले थाहा नै नपाई साथीसङ्गीको लैहलैहमा लागेर लागूऔषध दुव्यर्सनी बनाउँछ ।’

उनले आफूले अज्ञानताका कारण दुव्र्यसनमा फँसेर परिवार र जीवन बर्बाद बनाएकोमा पश्चाताप गर्दै अबको जीवन बुबा आमा र समाजको लागि जिउने बताए । उनले युवाहरुलाई दुव्र्यसनमा फँसेर जीवन बर्बाद नबनाउन समेत आग्रह गरे । उनी हाल नार्कोनन नेपाल नामक संस्थाबाट लागूऔषध दुव्र्यसनबाट युवाहरूलाई मुक्त गराउने अभियानमा लागेका छन् ।

त्यसैगरी, डाक्टर बनेर समाजको सेवा गर्ने उद्देश्यले डाक्टरी पढ्न चीन पुगेका डा. तुषार यादवले समेत आफू पूर्व दुव्र्यसनी बन्नुका कारण सुनाए । उनले दुव्र्यसनविरुद्धका सचेतना कार्यक्रमहरू स्कूलदेखि अस्पताल, प्रहरी प्रशासनसमेत नै आवश्यक रहेको औंल्याए । हाल उनी पनि नार्कोनन संस्थामै दुव्र्यसनविरुद्ध सचतेनामूलक कार्यक्रम गर्दै आएका छन् ।

कार्यक्रममा डा. यादवका बुबा सीताराम यादवले छोराछोरीलाई डाक्टर इन्जिनियर बनाउनका लागि विदेश नपठाउन आग्रह समेत गरे । उनले विदेशमा निगरानी गर्ने अभिभावक नहुँदा कुलतमा फँस्ने बढी सम्भावना हुने हुँदा नेपालमै रहेको विश्वविद्यालयमा छोराछोरी पढाउन समेत आग्रह गरे ।
कार्यक्रमको संयोजन दिलिप सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: