अभिव्यक्ति द्विविधा र भ्रम

  प्रकाशित मिति
१० मंसिर २०७४, आईतवार ०९:४६



हालै भारत आसामका स्वास्थ्य मन्त्री हेमन्त विश्वशर्माले क्यान्सर हुनु दैवी कर्म हो भन्ने अभिव्यक्ति दिए । स्वास्थ्य मन्त्री रहेका व्यक्तिले दिएको अभिव्यक्तिले क्यान्सरसँग लडिरहेकालाई राहत हैन, थप पीडा दिने काम गर्यो भनेर त्यहाँका सञ्चारमाध्यम लगायत क्यान्सरसँग सङ्घर्ष गरिरहेका व्यक्तिहरुले अभिव्यक्ति दिए । उनीहरुको विचारमा मन्त्रीको अभिव्यक्तिले क्यान्सर पीडितहरुलाई अझ आहत थपेको र क्यान्सर रोगको औषधि र उपचारका लागि अनुसन्धान गरिरहेका वैज्ञानिकहरुको अथक प्रयासलाई समेत उपेक्षा गर्ने कार्य गरेको छ । यसबाट के बुझिन्छ भने सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सार्वजनिकरुपमा दिने गरेका अभिव्यक्तिको धेरै महत्व हुने रहेछ । यो त एक उदाहरण मात्र हो, लोकतन्त्रको लामो अभ्याास गर्दै आएको भारतमा समेत अभिव्यक्ति विवाद बारम्बार हुने गरेको छ ।
यो त भयो भारतको कुरा । अब आफ्नै देशतिर फर्कने हो भने लोकतान्त्रिकरणको निरन्तर प्रक्रियामा रहेको हाम्रो देशमा संविधान सभाबाट संविधान निर्माण पश्चात हुन लागेको निर्वाचनमा उम्मेद्वार भएका आकांक्षीहरुका अभिव्यक्ति स्वयम् नागरिकलाई रणभूल्लमा पार्ने खालका देखिएका छन् । सुन्दा सत्य लाग्ने र यी अभिव्यक्ति सुरुमा राम्रो लागे पनि मनन् गर्ने हो भने उकुसमुकुस लाग्ने हुँदो रहेछ । २०४७ को परिवर्तन पश्चात विश्व विद्यालयको सङ्ख्या बढेको, मेडिकल कलेजको सङ्ख्या बढेर दर्जन पुगेको, ८ हजार किलोमिटर सडक ८१ हजार पुगेको, एउटा मात्र रहेको टेलिभिजनको सङ्ख्या बढेको, मोवाइल सेवा प्रदायकहरु र प्रयोकर्ता बढेको, बैङ्क तथा वित्तीय संस्थाहरुको सङ्ख्या बढेको, नीजि क्षेत्रका वायुसेवाहरुको वृद्धि भएको जस्ता कुरा गरेर हालसम्मका कार्यहरुको प्रशंसा गरेका छन् ।

यी कुराहरु सत्य नै हुन् तर यी अभिव्यक्तिलाई समग्रमा विश्लेषण गर्ने हो भने सन्तोष मान्न सकिने अवस्था छैन । जङ्गलको कुरा गर्ने रुखको बारेमा बिर्सने, परिवारको कुरा गर्ने तर परिवारका बालक, वयस्क र जेष्ठ नागरिकको कुरा नगर्ने त्यो विश्लेषण अपूरो र एकाङ्की हुन्छ । नेपाली नागरिकले यी संरचनाको वृद्धि खोजेको हो कि परिणाम खोजेको भन्ने महत्वपूर्ण हुन्छ ।

विश्वविद्यालयको सङ्ख्या बढेको नै हो तर विश्वविद्यालयको सङ्ख्या बढ्नु मात्र पर्याप्त हो कि शिक्षाको गुणस्तर बढ्नु आवश्यक हो ? अधिकांश सरकारी क्याम्पसहरुमा विद्यार्थी र शिक्षकको सङ्ख्या धेरै फरक छैन भने नीजि क्षेत्रका कलेजहरु नाफामा मात्र सीमित रहेका छन् । नीजि शिक्षण संस्थाप्रतिको आकर्षण बढ्यो र सरकारी शिक्षण संस्था निकम्मा नै भएका हुन् भने राज्यलाई व्ययभार किन थप्ने ? त्यसको खर्च कटाइदिए भयो । परिणाम नभए पनि ती संरचनालाई थेगेर राख्ने र जागिर त्यहाँ खाने अनि नीजि संस्थामा पढाउने सुविधा उपलव्ध गराउने कार्य कसै गरेपनि छिप्ने अवस्था छैन । सामुदायिक विद्यालयको अवस्था त्यस्तै छ ।

मेडिकल कलेजको सङ्ख्या बढे पनि उपचारको पहुँच आम मानिसमा पुगेको छ कि छैन भन्ने महत्वपूर्ण हो । राष्ट्रपति करौडौँ खर्च गरेर विदेश उपचारमा जान्छन्, त्यहीबेला एक मिर्गौला रोगी युवा उपचार खर्च अभावमा टिचिङ अस्पतालको बरान्डाबाट हाम फालेर ज्यान फाल्छ । विकट गाउँमा सुत्केरी हुन नसक्ने चाहे गोखाको उत्तरी भेकका मानिसहरु हुन् वा कालिकोटकी २५ वर्षीया जुना शाही हुन्, उपचार अभावमा ज्यान फाल्न बाध्य भएका छन् । यस्तो अवस्थामा यति अस्पताल खुले भनेर भन्दा आत्मग्लानी हुनु पर्ने हो । त्यस्तो देखिएन ।

बैङ्क तथा वित्तीय संस्थाहरु खुल्नु ठुलो कुरा हो कि पूँजी निर्माण गरी उत्पादन वृद्धि गर्नु ठुलो कुरा हो ? बैङ्क तथा वित्तीय संस्थाहरुको आकर्षण हायर पर्चेजमा ऋण लगानी गर्नु रहेको प्रष्ट छ । कृषि कर्जा समेत वास्तविक कृषकले पाएको छैन । कृषिका नाममा खुलेका फर्महरुले समेत आफुले पाएको ऋणको केही अंश ऋण मिलाई दिने व्यक्तिलाई दिने शर्तमा ऋण लिएका छन् ।

सहकारी समेतको लगानी हायर पर्चेजमा देखिएको छ । जसका कारण रोजगार सिर्जना हुने त कता हो कता खाद्यान्न उत्पादन हुने खेतहरु समेत आवासीय प्रयोजनका नाममा प्लटिङ हुन थालेका छन् । यत्रो पानी र वनस्पतिले प्रचुर भएको देशमा खाद्यान्नमा मात्र हैन हरियो तरकारीमा समेत परनिर्भरता बढेको छ । बैङ्कहरुले लगानी गर्ने क्षेत्रले निर्यातमुलक वस्तु उत्पादन गर्ने अवस्था छैन । घर, गाडी जस्ता व्यक्तिगत क्षेत्रको लगानीमा समेत इन्धन र पार्टपुर्जा खरिदमा आयात नै बढेको छ । राज्यले गर्ने बाटो, पुल तथा अन्य संरचनामा समेत चाहिने सामाग्री आयातमा भर पर्नु परेको छ ।
त्यसकारण यी भएका संरचनाले नागरिकलाई सेवा र रोजगारी दिनेभन्दा पनि दलाली प्रकृतिको आर्थिक प्रणाली सिर्जना गर्ने प्रष्ट छ । यदि उम्मेद्वारहरु जिम्मेवार भए चुनावी मुद्दामा यी कुराहरुमा जोड दिने थिए । नागरिकसँग पर्याप्त समय छ तर यी विषयमा विश्लेषण गर्ने चेतना देखिदैन । जसले बुझेको छ उसले गर्ने कुराहरु धरातलीय यथार्थभन्दा कयौँ कोष टाडा रहेका छन् । बुद्धिजीवि भन्नेहरुले समेत अमूक दलका कार्यकर्ताका रुपमा ब्याख्या र विश्लेषण गर्ने देखिएको छ ।

यस्तो अवस्थामा हाम्रो आग्रह मात्र के हो भने जे भनिन्छ त्यसलाई एकाङ्की रुपमा मात्र विश्लेषण नगरौँ । जे भएको हो त्यसको समग्रतामा विश्लेषण गरौँ । आफैँले भनेका क्रियाकलापले किन परिणाम दिएन ? हिजोको दिनमा के कमी कमजोरी भयो त्यसको विश्लेषण गरौँ । जे भएको छ ठिकै छ तर परिणाम नदिएको मात्र हो । किन परिणाम दिन नसकेको हो ? भएका कमजोरी सुधार्नका लागि अब के गर्ने योजना छ प्रस्तुत गरौँ । नागरिकलाई भ्रममा पार्ने हैन, भ्रमलाई हटाउने हो । जसका कारण भावी दिनहरु सबैका लागि उज्जवल हुनेछ । यही अवस्थाको निरन्तरता जारी राख्ने हो भने आफ्नै अभिव्यक्ति सङ्कटमा नपर्ला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: