झापा, १८ कार्तिक । अमेरिकामा बहुप्रतिक्षीत राष्ट्रपति चुनाव सुरु भएको छ ।
नेपाली समय अनुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा पूर्वी राज्य बर्मोटमा मतदान सुरु भएको हो ।
रिपब्लिकनका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिकका तर्फबाट जो बाइडेन चुनावी मैदानमा छन् ।
अघिल्लो पटकको निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकनका डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए ।
कोरोना महामारीका कारण यसपटक मतदानको दिनअघि करिब १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन् । ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ ।
चुनावअघि भएका सर्वेक्षणहरुले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि बुधबारअघि प्रारम्भिक नतिजा आउन असम्भव देखिएको छ ।
सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा बढी र चार वर्षअघिको चुनावमा खसेको कुल मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ ।
राष्ट्रिय रुपमा बाइडेन अघि रहे पनि केही महत्वपूर्ण राज्यहरुमा भने सो अग्रता अति साँघुरो देखिएको छ । चार वर्षअघिको चुनावमा सर्वेक्षणहरुले हिलारी क्लिन्टनलाई अघि देखाएको थियो तर चुनावमा ट्रम्प विजयी भएका थिए ।
५० राज्यमा फरक समयमा मतदान हुँदैछ । कम मत पाउनेले पनि अमेरिकामा विजयी हुन सक्ने प्रावधान छ । किनकि त्यहाँ मत संख्या होइन, इलेक्ट्रोरल मत जित्नु पर्छ ।
अमेरिकामा कूल ५३८ त्यस्तो मत छ, जित्नका लागि उम्मेद्वारले कम्तीमा २७० ल्याउनु पर्छ ।