‘अरुले पीडैपीडा लेखेँ, मैले त्यसो गरिन’ 

  प्रकाशित मिति
२३ बैशाख २०७४, शनिबार ११:५६


shyam singhak 1बैदेशिक रोजगारीको सामाजिक प्रभावका विषयमा एक महिना अघि प्रकाशित उपन्यास ‘रेमिटल्यान्ड’ले बजारमा खुबै चर्चा पाइरहेको छ । परिवेश, पात्र र कथावस्तु अग्र्यानिक जस्तो लाग्ने यस कृतिको रचनाकार दमक–१० का ४२ वर्षीय श्याम सिङ्घक हुन् । इतिहासका एमए उनको यो दोस्रो प्रकाशित यस कृतिलाई आगामी जेठ २० गते काँकरभिट्टामा परिवर्तन थिएटरले नाट्य रुपान्तरण गरी मञ्चन समेत गर्ने भएको छ । वैदेशिक रोजगारीका विषयमा यस अघि लेखिएका कृतिहरुभन्दा पृथक धारमा रहेको दावी गर्ने लेखक सिङ्घकसँग लोकतन्त्र पोस्टले गरेको ताजा बातचित प्रस्तुत छ–
…………….

यो कृति पढ्दा के पाउँछन् पाठकले ?
बैदेशिक रोजगारीले ल्याएको प्रभावको समाजको चित्रण हो यो कृति । खासमा नकारात्मक र सकारात्मक दुबै किसिमको असर यसको विषयवस्तु हो । यो औपन्यासिक कृति हो । यसलाई पढ्दा हरेक पाठकले आफ्नो, आफु रहेको समाज, परिवेश र स्थानीय पात्रहरु सर्लक्कै पाउने छ ।
बैदेशिक रोजगारीको समस्या मात्र उधिनेको छ कि समाधान पनि देखाउँछ पुस्तकले ?
समाधान त यसले दिदैन, दिने पनि होइन । समाधान पाठकले नै खोज्ने हो । समस्याको चाङ देखाउने भन्दा पनि यसले पारेको असरको चित्रण छ पुस्तकमा ।

‘रेमिट्ल्यान्ड’ अलिक बढी चर्चामा आउनुमा के कारण होला जस्तो लाग्छ तपाइँलाई ?
२०७३ साल वैदेशिक रोजगारसँग सम्बन्धित साहित्यिक कृतिका लागि विशेष भए जस्तो लाग्छ । धेरै किताव, फिल्म, गीतहरु यो साल हिट भएका छन् । समीक्षकहरुको पाटो हो मूल्याङ्कनको, खै म के भनुँ । कृति राम्रो नभइकन चर्चामा नआउनु पर्ने ।

यही विषयमा पुस्तक लेख्न के कुराले प्रेरित गर्यो ?
मलाई पहिलादेखि नै के लाग्ने गथ्र्यो भने हाम्रो गाउँघरको मनोविज्ञान, सिचुएसन र कला साहित्य चाहिँ अलि भिन्न छ । गाउँहरुमा विशेष लाहुर जाने चलन छ । क्या शान हुन्थ्यो । आर्थिक अवस्था पनि सुध्रिएकै देखिन्छ । तर कला साहित्यले चाहिँ ठिक उल्टो भनिरहेको हुन्छ । विदेश नजाउँ भनिरहेको छ । वैदेशिक रोजगारीमा जानेलाई साहित्यले होच्याए जस्तो लाग्छ । समाजको मनोविज्ञान कहिँ मिलिरहेको छैन जस्तो लाग्थ्यो । जति नेपाली दाजुभाइ दिदीबहिनीहरु विदेशको रोजगारीमा हुनुहुन्छ । त्यसबाट जे जति आर्जन भइरहेको छ । त्यसले साहित्यमा ज्यादै कम ठाउँ पाए जस्तो लाग्छ । यही कुराले मलाई रेमिटल्यान्ड लेख्न प्रेरित गर्यो । जति लेखिए, ती पनि विदेशको पीडै पीडा मात्र लेखिए । म त्यसको ठिक विपरीत भन्छु । विदेश नजाउ भनेर कहाँ हुन्छ, त्यसो भए के गर्ने त ? विकल्प दिनु पर्यो नि । कसरी बाँच्ने ? सन्तुलित कृति लेख्नु पर्छ भनेर मैले कलम चलाएको हुँ ।

shyam singhak 3पाठकीय प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
कमी कमजोरी औल्याउने कोही नै पाइएन । जे जतिले प्रतिक्रिया दिनु भयो, असाध्य राम्रो भन्नु भयो । कमी कमजोरी आउने दिन बाँकी नै होला । मैले खास पाठक प्रतिक्रिया पर्खिरहेको छु । पूर्णकालीन लेखकहरुले मन पराइदिनु भएको छ । विशुद्ध पाठकहरुको प्रतिक्रिया आउन बाँकी नै छ जस्तो लाग्छ । शायद मन नपराउनेहरुले मलाई सम्पर्क राख्नु भएन होला ।

उपन्यासका पात्र र परिवेश सबै अग्र्यानिक जस्ता लाग्छ । किन होला ?
उपन्यासलाई पपुलर बनाउने हरेक सर्जकको ध्येय हुन्छ । म पूर्णकालीन र अनुभवी लेखक होइन । देखेकै र भोगेकै कुरा लेखन मलाई कम्फोर्टेबल लाग्छ । कल्पना गरेर लेख्न मलाई जाँगर चलेन ।

लेखनीको रुचि कसरी उम्रियो ?
लेख्ने रुचि मेरो सानैदेखिको हो । स्कुले जीवनमा केही लेखियो पनि । फुटकर कविता, कथा लेखिन्थ्यो, तर कतै प्रकाशित गरिएन । एउटा ‘दलिता’ नामक उपन्यास प्रकाशित गरियो । लेखको नाम गोप्य राखेर । उपन्यासको सामान्य चर्चा त भयो । नाम नभएकाले मैले नै लेखेको होला भनेर धेरैलाई पत्तो भएन । व्यावहारिक बन्ने क्रममा सबै ध्यान रोजीरोटीतिर गयो । लेख्ने कुरा प्रायोरिटीमा परेन । अब चाहिँ लेख्नु पर्छ, ढिलो गर्नु हुँदैन भनेर लेख्न थालियो । व्यक्ति विशेषको प्रेरणाले लेखेको होइन ।

‘दलिता’ प्रकाशित गर्दा आफ्नो नाम किन नराख्नु भएको ?
साहित्यिक रहर धेरै भएको तर चेत कम भएको बेला लेखिएछ । केही महिना लगाएर लेखेँ, केही खर्च गरेर छापे । साथीहरुलाई सित्तैमा बाँडेर सकियो । त्यो लेख्नु अघि मेरै गाउँको समस्या के छन् भनेर सोचेँ । तेह्रथुमको जलजले मेरो गाउँ थियो । त्यहाँ छुवाछुत प्रथाले जरो गाडेको थियो । मैले त्यसै विषयलाई उपन्यासमा समेटे । जातीय मुद्दामा लेखेको हुँदा यो कृति कुन जातको लेखकले लेखेको भनेर पाठकले पत्तो नपाउन् भन्ने सोचेर मैले नाम राखिन । कुनै पत्रिकामा पनि समीक्षा भएन । गाउँतिर चाहिँ साह्रै राम्रो रहेछ भने । म चिनिनु पर्दैन, कृति चिनियोस् भन्ने चाहना थियो मेरो । तर त्यो उपन्यासले गाउँको घेरा नाघेर चर्चा पाएन ।

‘रेमिटल्यान्ड’ नै नामाकरण कसरी गर्नु भयो ?
बैदेशिक रोजगारीको पृष्ठभूमिमा लेखेको हुनाले पुस्तकको नाममा त्यसै विषयसँग जोडिने शब्द परोस् भन्ने थियो । धेरै खोजियो । सुरुमा मनसुन राख्ने कि भन्ने लागेको थियो । रेमिट र ल्यान्ड जोड्दा ठिकै होला भन्ठानेर नाम राखियो । हन्ड्रेड पर्सेन्ट मन परेको नाम चाहिँ होइन नि । अङ्ग्रेजी शब्दको प्रयोग गर्न मन थिएन । मीठो सुनिनु पर्यो । रेमिटल्यान्ड नै ठिक लाग्यो । मेरो उपन्यास आउनु भन्दा अघि नै अर्को उपन्यास मनसुन नाम गरेरै बजारमा आयो । मैले मनसुन नाम बदलेर रेटिमल्यान्ड राखेँ । फिनिक्सका अध्यक्ष गणेश सुबेदीले यो नाम मन पराउनु भएको थिएन । सुबेदीले आर्थिक पुस्तकको नाम जस्तो भयो भनेर अरु नै नामको खोजी गर्न बारम्बार आग्रह गरिरहनु भएको थियो । मैले मानिन ।

भविष्यमा पूर्णकालीन लेखक बन्ने हो कि ? के सोचाइ छ ?
अब यसै भन्न सकिन्न । समयले कस्तो माग गर्छ, हेरौँ । विमोचन भएको एक महिना मात्र भएको छ । लेख्ने कर्म जारी रहन्छ, पूर्णकालीन बन्ने चाहिँ सोच्नु पर्छ ।

पुस्तकबाट आफु कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
बजारको कुरो चाहिँ मलाई थाहा हुँदैन । फिनिक्सको पुरै लगानीमा यो प्रकाशित भएको हो । लेखनीको हिसाबले म पूर्ण सन्तुष्ट छु । मभित्र जे भावनाहरु थिए, दृष्टिकोणहरु थिएँ–सम्पूर्ण यसमा पोखिएका छन् । मभित्रको सबैथोक यसमा आएको छ । यसलाई लेख्न ३ वर्षभन्दा बढी नै लाग्यो ।

किताब लेख्न सजिलो भयो कि गाह्रो ?
सजिलो कहाँ हुनु र ! पुरै ३ बर्ष लाग्यो । लेख्नु अघि गाउँ गाउँ घुमेर वैदेशिक रोजगारीमा गएकाहरुको अध्ययन अनुसन्धान गर्नु पर्यो मैले । हाम्रो समाजलाई परेको प्रभावको विषय खोजी गर्नु पर्यो । पात्रहरु ठ्याक्कै मिल्ने खोज्नु पर्यो । त्यही मिहेनतका कारण उपन्यास यथार्थपरक र खोजमूलक भएको हो । लेखनको पाटो छाडेर अनुसन्धानमा मात्र पनि एक वर्ष लाग्यो ।

तपाई आफु वैदेशिक रोजगारीमा नगइकन कसरी अनुभूति गर्नु भयो यसभित्रको कथा व्यथा ?
म गइन, तर मेरो श्रीमती वैदेशिक रोजगारीमा गएकी हुन् । उनी इजरायल गएकी छन् । मैले उनी विदेशमा रहँदा भोग्नु परेका र उनले घर छाडेर विदेशमा जानु पर्दा व्यहोर्नु परेका मनोवैज्ञानिक असरहरुलाई पनि उपन्यासमा सम्बोधन गरेको छु । मभित्र कति कुण्ठाहरु आए होलान्, म कति हतोत्साहित भए होला ? अनि यसरी नै उनी पनि यस्तै समस्याबाट कति प्रभावित भइन् होली ? हामीले उर्वर उमेरमा वैदेशिक रोजगारीका कारण आवधिक रुपमा भए पनि विछोडिनु पर्यो नि । हामीले भोगेका कैयन परीक्षाहरु, लालचहरु र सकसहरुलाई उपन्यासमा सम्बोधन गरेको छु ।

विदेश गएर काम गर्नु ठिक कि बेठिक भन्ने विषयमा तपाईको धारणा ?
म त वैदेशिक रोजगारीमा जानु पर्छ भन्छु । मेरो घरको मान्छे गएको कारण मेरो परिवारले राम्रै सम्पत्ति कमाउन सकेको छ । अहिले पुस्तक लेख्नुमा पनि मेरो आर्थिक अवस्था सुध्रिएकैले गर्दा हो । जतिखेर मेरो ध्यान रोजीरोटीमा केन्द्रित हुन्थ्यो, मैले लेख्ने कुरा सोच्नै भ्याइन । जब मलाई पुगिसरी आउन थाल्यो, तब मैले मेरो लेख्ने रहर पुरा गर्न पाएँ । वैदेशिक रोजगारीकै कारण अहिले के खाउँ र के लाउँ भन्ने समस्या छैन ।

आम पाठकहरुलाई के भन्न चाहनु हुन्छ ?
सबैखाले पाठकलाई मन पर्ने विषयवस्तुलाई समेटेर नै पुस्तक लेखेको छु जस्तो लाग्छ । पढ्नुहोस्, तपाइँहरुको चित्त अवश्य बुझ्नेछ । निकै मिहेनत गरेको हुनाले पुस्तकले पाठकलाई चकित र मोहित तुल्याउने छ । एकपटक मात्रै पनि पढ्नु भयो भने कहिल्यै विर्सनु हुन्न ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: