अर्कैको नाममा पहिल्यै दर्ता

  प्रकाशित मिति
३ जेष्ठ २०७५, बिहीबार १५:०२


मेचीनगर । नेकपा एमाले र माओवादी केन्द्रले एकतापछि नाम राख्ने भनिएको ‘नेपाल कम्युनिस्ट पार्टी’ यस अघि नै निर्वाचन आयोगमा दर्ता भएको पाइएको छ ।

गोरखाका पूर्व एमाले नेता ऋषिराम कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी गत मङ्सिर १० र २१ गते भएको निर्वाचनमा ‘घन र कोदालो’ चिन्ह लिएर सहभागी भएको थियो ।

कट्टेल मदन भण्डारी दासढुङ्गा दुर्घटनामा पर्नु अघि उनलाई भेट्ने अन्तिम नेता थिए ।

आयोगका कानुन शाखाका अधिकृत घमचन्द्र तिम्सिनाका अनुसार नेपाल कम्युनिस्ट पार्टी २०४८ साल अघिदेखि नै आयोगमा दर्ता छ ।

नेपाल कम्युनिस्ट पार्टीको नाम नेत्रविक्रम चन्द विप्लव समूहले पनि दाबी गर्दै आएको छ । चन्दले आयोगमा दल दर्ता गराएका छैनन् ।

आयोगले प्रतिनिधि सभा निर्वाचनमा सहभागिता लागि दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिस्ट पार्टी २०७४ साल भदौ १० गते दर्ता भएको थियो ।

आयोगले पहिला नै सोही नाममा अर्को दल दर्ता भएको अवस्थामा नयाँ दल सोही नाममा दर्ता गर्छ कि गर्दैन भन्ने अन्योल बाँकी छ ।

२०७३ स्थानीय तह निर्वाचनमा सहभागिताका लागि आयोगले दल दर्ता आह्वान गर्दा पनि नेपाल कम्युनिस्ट पार्टीले आवेदन दिएको थियो ।

त्यतिबेला पनि आयोगले ३९ नम्बरमा नेपाल कम्युनिस्ट पार्टीको सूची प्रकाशित गरिदिएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ६ को १(ङ) मा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ ।

यसअघि मधेस केन्द्रीत दलहरु एक भएर राष्ट्रिय जनता पार्टीको नाममा दर्ताका लागि आयोग पुगेका बेला पनि दर्ताका लागि अस्वीकार गरिदिएको थियो । पछि राजपाले नामको पछाडि नेपाल शब्द जोडेको थियो ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमतिमा हस्ताक्षर गरेका छन् ।

तर निर्वाचनमा राष्ट्रिय, प्रदेश र स्थानीय कुनै पनि तहमा हैसियत बनाउन नसकेको पुरानो दलको नामसँग मिल्दोजुल्दो नाम नयाँ पार्टीले राख्न पाउने एमाले एक नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: