अर्को पुस्ताको पक्षमा ‘बाल उत्सव’

  प्रकाशित मिति
२४ माघ २०७३, सोमबार १८:१७


gobinda-neupane

सवै मानव वालवालिकाबाट नै वयस्क हुने हुन भए पनि वाल्यावस्था क्रमशः भुल्दै जाने गरिन्छ । वालवालिका समाजका महत्वपूर्ण अङ्ग हुनुपर्नेमा वालवालिकालाई वोझका रुपमा लिने र वेवास्ता गर्ने गरेका प्रशस्त उदाहरण पाउन सकिन्छ । नेपाल वालअधिकार महासन्धीको पक्षराष्ट्र भएका कारण नेपालले वालवालिकाको अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन वनाए पनि कार्यान्वयनको पक्ष फितलो छ । जसका कारण वालवालिकाका मुख्य ४ अधिकारहरु (वाँच्न पाउने, वाल संरक्षण, वाल विकास र वाल सहभागिता) पूर्ण रुपमा वालवालिकाले उपभोग गर्न पाएका छैनन् ।

नेपालको जनसङ्ख्याको ४४.४२ प्रतिशत १८ वर्ष मुनिका वालवालिका रहेका भए पनि आफ्ना हक अधिकार प्राप्तिका लागि उनीहरु कुनै दवावमूलक कार्यक्रम गर्न सक्दैनन् । वालवालिकाका अधिकार सुनिश्चित गराउनका लागि समाजले महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा त्यसो हुन सकिरहेको छैन ।
यूनिसेफ २०१५ का अनुसार नेपालमा प्रतिवर्ष जन्मने करीब ५ लाख ८३ हजार ९ सय बालबालिकामा २३ हजार बालबालिका ५ वर्षको उमेर पूरा नगर्दै मर्ने गरेका छन् । नवजात शिशु तथा ५ वर्षमुनिका बालबालिकाको मृत्युको मुख्य कारण न्यूमोनिया, झाडापखाला, मलेरिया, कुपोषण, जन्डिस, चिसो तथा सङ्क्रमण रहँदै आएका छन् । प्रतिदिन ६३ जना, प्रति २३ मिनेटमा एकजनाको मृत्यु हुन्छ । नेपालको स्वास्थ्य सेवा विभागको तथ्याङ्कका अनुसार ५ वर्ष मुनिका ४१ प्रतिशत वालवालिका पुड्का हुने गरेका छन्, ११ प्रतिशत ख्याउटे र २९ प्रतिशत तौल कमी भएका हुने गरेका छन् । १४ वर्ष भन्दा कम उमेरमा विवाह हुने वालिकाको सङ्ख्या १० प्रतिशत रहेको छ । यस्तै १९ वर्ष भन्दा कम उमेरमा विवाह हुने वालिकाको सङ्ख्या ५१ प्रतिशत रहेको छ । ५ देखि १४ वर्ष उमेर समूहका श्रमिक वालवालिकाको सङ्ख्या ३३.९ प्रतिशत रहेको छ । लागु औषध सम्वन्धी सरकारी सर्भेक्षणका अनुसार देशभरीमा ९१,५३४ लागुऔषध प्रयोगकर्ता मध्ये १.४ प्रतिशत वालवालिका १५ वर्ष भन्दा कम उमेरका छन् र करिव १८ प्रतिशत लागुऔषधका दुब्र्यसनी १६ देखि १८ वर्ष उमेर समूहका छन् ।
वालवालिकाको सर्वाङ्गीण विकासका लागि स्थानीय तहमा १० प्रतिशत वजेटको आरक्षण गरेका भए पनि त्यसको डाडु पन्यू वयस्कले नै वोकेका छन् । स्थानीय स्वायत्त शासन ऐन, २०५५ का अनुसार स्थानीय योजना तर्जुमा गर्दा बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने आयोजनाहरू छान्न प्राथमिकता दिनु पर्ने (दफा ४३, १११, २०१) व्यवस्था गरेको छ । गाउँ विकास र जिल्ला विकास अनुदान सञ्चालन निर्देशिका, २०६६ मा महिला र बालबालिकाको लागि विशेष लगानी गर्नुपर्ने व्यवस्था रहेको र विपन्न वर्ग र बालबालिकाको लागि न्यूनतम् १० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान रहेको छ । यतिका प्रावधान भए पनि वालवालिकाका लागि आरक्षित वजेट वालवालिकालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यमा कमै प्रयोग भएको पाइन्छ ।

यी यावत समस्या समाधानका लागि समाजको महत्वपूर्ण संस्था राजनीति जिम्मेवार हुन नसकी रहेको अवस्थामा मेचीनगरमा वाल उत्सवको आयोजन गर्ने जमर्को नेकपा एमालेले गरेको छ । त्यसो त केही दिन पहिला नेपाली काङ्ग्रेसको आयोजनामा स्वास्थ्य महोत्सव नै भएको थियो । त्यसवाट समेत मेचीनगर नगरपालिका र आसपासका वासिन्दाले भरपुर नै फाइदा लिएका देखिन्थे । केही ब्यक्तिहरुले स्वास्थ्य महोत्सवको सिको गरेको समेत भन्ने गरेका छन् । आवरणमा यो वालउत्सव तत्कालिन राजनीतिक फाइदा दिने खालको देखिदैन भोट र नोट नवढ्ने अवस्थामा धेरै शङ्का गर्नु पनि राम्रो नहोला । उत्सव भित्रको उद्देश्य के हो भन्ने वारेमा आयोजकलाई नै थाहा होला तर यदि वालवालिकाको सर्वाङ्गीण विकास गर्न सके भोलि आउने नेतृत्व आजको भन्दा परिस्कृत हुनेमा आशावादी हुन सकिन्छ ।

जग दरो वनाउने हिसावले वालवालिकालाई सहभागी गराउन सक्यो भने त्यसले दीर्घकालमा पक्कै फाइदा दिने छ । विश्व वैङ्कले १०० देशहरुमा गरेका अध्ययनले भन्छ कि पोषणमा लगानी गरेको रु.१०० ले बालवालिकाको स्वास्थ्य र उत्पादकत्वमा रु. १३,८०० सम्मको प्रतिफल दिन्छ । बालिकालाई थप एक वर्षको शिक्षा दिँदा शिुशु मृत्युदरलाई ५ देखि १० प्रतिशतले घटाउन सकिन्छ । कम विकसित मुलुकहरुका बालवालिकालाई ७ वर्षसम्मको शिक्षा दिदा ४ वर्ष ढिलो विहे हुन्छ र २ वटा वच्चा कम जन्माउँछन् । माध्यमिक शिक्षा तहमा बालिकाहरूको सङ्ख्या १% ले बढाउँदा वार्षिक प्रतिव्यक्ति आय ०.३% ले वृद्धि हुन्छ ।

अफ्रिकन अमेरिकन लेखक समाज सुधारक र प्रखर वक्ता फ्रेडरिक दोगलस भन्छन् “बिग्रे, भत्केका मान्छेलाई मर्मत गर्नुभन्दा बालबालिकालाई बलियो बनाउन धेरै सजिलो हुन्छ ।” देशको अवस्था छर्लङ्ग छ, यसका पछाडि नेतृत्व नै छ भन्दा अन्याय हुदैन किनकि नेतृत्वहरु माथि लामो समय भरपर्दा समेत नेपाली जनताले अपेक्षा गरे अनुसारको परिणाम आउन सकेन । अधिकाँश नेतृत्व विग्रे भत्केको मात्र छ त्यसर्थ तिनलाई मर्मत गर्न समय खेर फाल्ने हो भने फेरि अर्को पुस्ता समेत वर्वाद हुने निश्चित छ । त्यसर्थ वालवालिकाको सहभागिताले भोलि देशलाई दरो वनाउने कुरामा विश्वास गर्न सकिन्छ यसका लागि वालअधिकारका साथसाथै कर्तब्यलाई पनि जोड दिनु आवश्यक छ । यो कार्यका लागि आयोजकले वालवालिकालाई पर्याप्त चेतना वृद्धि गर्ने नै छन ।

आयोजक मात्र हैन सवैले आत्मसात गर्नु पर्दछ कि सामाजिक शक्ति संरचना तथा समाजमा देखिएका असमानताहरुका कारणले बालबालिकाहरु बञ्चितिकरण, हिंसा, भय र दण्डहिनताको शिकार भएका छन् । यसका साथै समाजमा हुने द्वन्द्व, हिंसा तथा विभिन्न तनाव र युद्धहरुका कारण बालबालिकाको जीवनमा प्रशस्तै नकारात्मक असरहरु परेका छन् । बालबालिका संवेदनशील हुन्छन् र उनीहरुका अलग सामाजिक, भावनात्मक र शारीरिक आवश्यकताहरु हुन्छन्  । धेरैजसो समाजमा बालबालिकामाथि दुव्र्यवहार भइरहेकेका छन् । जसमा घर, विद्यालयमा हुने पिटाइदेखि, बेचविखन, यौनदुव्र्यवहार, यौनशोषण, श्रम शोषणसम्मका दुव्र्यवहार हुने गरेका छन् । कतिपय अवस्थामा समाजमा बालबालिकालाई पूर्ण मानवको रुपमा नै मानिएको हँुदैन । यसकारण धेरै सन्दर्भमा बालिकामाथि भेदभाव हुन्छ र फरक व्यवहार गरिन्छ । बालबालिकालाई सुखद र स्वाभाविक बाल्यकाल बिताउने वातावरण दिन अनि भोलि वयस्क भएर सफल जीवन यापन गर्नसक्ने हुन वाल्यकालमा नै विशेष हेरचाह, माया ममता, स्याहार र संरक्षण आवश्यक हुन्छ  ।
झापा जिल्लाको हकमा वालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ अनुसार सवै गा.वि.स. हरुमा वालमैत्री स्थानीय शासन संचालन समिति गठन भएको छ । यो समिति गठनपूर्व वालवालिकाका लागि आरक्षित रकम पुर्णरुपमा वयस्कहरुको इच्छा अनुसार विनियोजन हुने गरेको थियो । केही गा.वि.स.हरुले वालवालिकाका लागि १५ देखि २० प्रतिशत वजेट विनियोजन गर्ने गरेका छन् । केही गा.वि.स.हरुमा समितिको क्रियाशिलतामा कमी आएको छ । कति गा.वि.स.हरुमा वाल सञ्जालको नेतृत्वमा कार्यक्रमहरु संचालन हुने गरेका छन् । झापामा वालवालिकाको अवस्था पुर्ण नभए पनि निराशाजनक छैन सुधारात्मक छ ।

यो उत्सवले मेचीनगर मात्र हैन समग्र जिल्लालाई नै प्रेरणा दिन सकोस् । वालवालिकाको सर्वाङ्गीण विकासका लागि यो महोत्सव कोसेढुङ्गा सावित होस् । यसका लागि वालवालिकाको उत्सवमा वालवालिकाको अर्थपूर्ण सहभागिता हुनेछ भन्ने विश्वास दिलाउन आवश्यक छ । वालवालिकाको नाममा फेरि हालीमुहाली वयस्कले गर्ने र वालवालिकालाई मनोरञ्जनको साधनको रुपमा मात्र प्रयोग गर्ने अवस्था देखा पर्यो भने पक्कै देखासिकी मात्र रहेछ भन्दा फरक नपर्ला । नयाँ सोचका साथ यो थालनीका लागि भने आयोजक धन्यवादका पात्र छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: