‘राउन्डअप’ले थप्यो चुनौती

  प्रकाशित मिति
३० असार २०७३, बिहीबार २२:४०


kass

शान्तिनगर ।  झापाको शान्तिनगरमा घातक विषादी ‘राउन्डअप’को प्रयोग नरोकिएपछि अर्गानिक अभियन्ता चिन्तामा पर्न थालेका छन् । गाविसलाई रासायनिक विषादीमुक्त बनाउने अभियान चलिरहँदा जनशक्तिको अभावले किसान विषादी प्रयोग गर्न बाध्य छन् । जसका कारण अर्गानिक अभियानमा गम्भीर चुनौती थपिएको हो ।

शान्तिनगरका किसानले खेतको आली र अम्लिसोबारीमा ‘राउन्डअप’को प्रयोग गरिरहेका छन् । यस्ता घातक विषादीको प्रयोगले अभियान नै असफल हुने हो की भन्ने चिन्ता थपेको छ । शान्तिनगर मुल कृषक समूहका अध्यक्ष धनबहादुर श्रेष्ठका अनुसार ‘राउन्डअप’को असरबारे जानकारी गराउँदा पनि, खेतबारीको आलीमा शिरु र काँस माँस्न किसानले विषादी प्रयोग गरिरहेका छन् । ‘लामो समयदेखि खेती गर्दै आएका कृषकले असावधानीपूर्वक राउन्डअप प्रयोग गरिरहेका छन्’, उनले भने – ‘तरकारी र अन्य बालीमा यसको प्रयोग दिनानुदिन बढ्दो छ ।’

शान्तिनगर कृषि सहकारी तथा अन्य विभिन्न संघ–संस्थाले ४ वर्षदेखि गाविसलाई विषादीमुक्त बनाउने अभियान चलाइरहेका छन् । जनचेतना तथा कृषकलाई अर्गानिक खेती प्रणालीको बारेमा जानकारी दिइरहेका छन् । अहिले धेरै किसान अर्गानिक खेतीतर्फ उन्मुख छन् । ‘तर ‘राउन्डअप’को प्रयोग रोकिएको छैन’, किसान संघ शान्तिनगरका अध्यक्ष दिलनाथ काप्mले भन्छन् – ‘हामीले उत्पादन गरेका खाद्यबाली विषाक्त नहुन् भन्नेमा सचेत हुनैपर्छ ।’ उनका अनुसार शान्तिनगर १, ६, ८ र ९ का किसानले ‘राउनडप’ प्रयोग गरिहेका छन् । ‘विडम्बना के छ भने, अर्गानिक खेती गर्नुपर्छ भन्ने कृषकले नै यस्ता घातक विषादी चलाउँछन्, जसका कारण हाम्रो अभियान चुनौतिपूर्ण हुँदै गएको छ ।’ कृषि विकास कार्यालय र सरोकारवाला संघसंस्थाबाट सहयोगको अपेक्षा उनले गरेका छन् ।

सरकारी नियमनकारी निकायको लाचारताका कारण बजारमा प्रशस्तै विषादी पाइन्छ । अगुवा कृषक प्रेमसागर चापागाँई भन्छन् – ‘दीर्घकालिन असरबारे जानकारहरू नै विषादी खरिद गर्छन्, क्षणिक फाइदाले दीर्घकालिन असर पुग्छ भन्नेमा कसैको ध्यान छैन ।’ उनका अनुसार विषादीले जमीनको उर्वराशक्ति र पर्यावरणमाथि पनि असर परिरहेको छ । पानीमा विषादी परे गाइवस्तुमा थुनिलो हुने, मानिसमा क्यानसर हुने र खेतबारीमा शत्रुजीव र मित्रुजीव नष्ट हुने एक कृषि प्राविधिकले बताए ।

शान्तिनगरमा १९ हजार ६ सय २५ जना नागरिकको बसोबास छ । ७० प्रतिशत कृषिमा आबद्ध छन् । जसमध्ये ४० प्रतिशतले अर्गानिक खेती गरिरहेका छन् । राउन्डअपको प्रयोगले झार जंगलको ३ फिटमुनि जरा कुवाउने र जमीनमा पाइने शत्रुजीवदेखि मित्रजीव नष्ट गर्छ । किसानसँगै, चिया बगानमा अत्याधिक मात्रामा राउन्डअप प्रयोग गरिने किसान बताउँछन् ।

(२०७३ असार ३१ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: