झापा, २८ कार्तिक । झापाली कम्युनिस्ट नेता एवम् अर्जुनधारा गाउँ विकास समितिका पूर्व अध्यक्ष कुन्दन भट्टराईको निधन भएको छ ।
फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिन अघि कोरोना संक्रमण समेत पुष्टि भएको थियो ।
काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा आज साँझ उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले जानकारी दिए । ।
मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराई अर्जुनधारा नगरपालिका वडा नं. ५ निवासी हुन् । उनी नेकपा एमाले झापाको पूर्व सचिव थिए ।
स्व. भट्टराईकी पत्नी विष्णु भट्टराई तथा एक छोरा र एक छोरी छन् ।
नेकपा नेता मनकुमार गौतमका अनुसार भट्टराईले फोक्सोको क्यान्सर रोगलाई जितिरहेका बेला कोरोना संक्रमण भएको थियो ।
काठमाडौंमा ३ पटक केमो दिइसकेपछि उनी घरमै बसेर स्वास्थ्य लाभ गरिरहेका थिए ।
विर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलमा उनले चौथो डोज केमो लिएका थिए ।
स्वास्थ्य फेरि नाजुक भएपछि उनलाई एयर एम्बुलेन्समार्फत केही दिन अघि पुनः मेडिसिटी लगिएको थियो ।
त्यहाँ पीसीआर गर्दा भट्टराई, उनकी पत्नी र नातेदारहरुमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।