नेम्वाङको ‘अन्तिम बिदाई’मा हजारौँ

  प्रकाशित मिति
२४ श्रावण २०७३, सोमबार १७:०२


Bhubikramधुलावारी । नेपाली लोकतान्त्रिक आन्दोलनमा सङ्घर्षशील योद्धाकोे रूपमा सुपरिचित नेपाली काङ्ग्रेसका पुराना नेता भूविक्रम नेम्वाङको उच्च राजनीतिक सम्मानसहित सोमवार स्थानीय निन्दा नदी (रामघाट)मा दाहसंस्कार गरिएको छ ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरे पछि पहिलोपल्ट प्रहरीको बन्दुक खोसेर सशस्त्र आन्दोलनको पूर्वबाट अगुवाइ गरेका प्रजातन्त्र सेनानी नेम्वाङको आइतवार साँझ ६ः४० बजेतिर विर्तामोडमा निधन भएको थियो ।

आइतवारै धुलावारीस्थित घरमा उनको पार्थिव शरीर ल्याइएको थियो । सोमवार विहानैदेखि उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि अर्पण गर्नेहरूको घुइँचो थियो ।

bhu 4

नेपाली काङ्ग्रेसका समर्थक, शुभेच्छुक मात्र नभएर सबैजसो दलका कार्यकर्ता, सामाजिक व्यक्तित्व र सर्वसाधारण हजारौँको सहभागितामा नेम्वाङ निवासबाट रामघाटसम्म शवयात्रा गरिएको थियो । अश्रुपुरित नयनका साथ उनलाई अन्तिम विदाई गर्न धुलावारीमा भीड उर्लिएको थियो ।
सोमवार दिउँसो श्रद्धाञ्जलि अर्पण गर्न काठमाडौँबाट आइपुगेका गृहमन्त्री विमलेन्द्र निधि र नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पौडेलले नेम्वाङको पार्थिव शरीरमा पार्टीको चारतारे झण्डा ओढाएका थिए ।
उनको निधनले सिङ्गो पार्टीलाई अपुरणीय क्षति भएको काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनले नेपाली प्रजातन्त्रका लागि उनले दिएको योगदान नेपाली इतिहासमा स्वर्णिम अक्षरले लेखिएको बताए ।

उनीहरूसँगै आएका पूर्व सभामुख एवम् नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङ, नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय विश्वप्रकाश शर्मा र केशवकुमार बुढाथोकी र सांसदत्रय सरिता प्रसाइँ, महेन्द्राकुमारी सुब्बा र उषा गुरूङले पनि नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

bhu 7

नेम्वाङको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न गृहमन्त्री निधि लगायत नेपाली काङ्ग्रेसका नेताहरू काठमाडौँबाट हेलिकोप्टर चार्टर गरेर झापा आएका हुन् ।

नेता नेम्वाङ आजीवन कुनै लाभको पदमा बस्न मानेनन् । झापाको कलबलगुडीमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी त्यसपछि पार्टीको पनि कुनै पदमा बसेनन् ।
२००७ सालको राणाविरोधी र २०१८ सालको पञ्चायतविरोधी आन्दोलनमा सशस्त्र मोर्चाको कमान्ड सम्हालेका नेम्वाङ नेपाली काङ्ग्रेसद्वारा २०१७ साल पछि गठित मुक्ति सेनाका कमान्डर थिए ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, लौहपुरूष गणेशमान सिंह लगायतका काङ्ग्रेसका ऐतिहासिक नेताहरूको समकालीन उनी पछिल्लो समय काङ्ग्रेसको नीति र नेताको व्यवहारसँग असन्तुष्ट थिए ।
मेचीनगर–३ धुलावारीमा घर भएका नेम्वाङकी पत्नी भूपेन्द्रकुमारी नेम्वाङ, एक छोरा भाइचन नेम्वाङ र ३ छोरी विजय, बबिता र राधिका रहेका छन् । जेठा छोरा वीरेन्द्रविक्रम नेम्वाङको निधन भइसकेको छ ।

bhu 5

विचारमा प्रस्ट, हक्की र स्वाभिमानी विशेषतायुक्त नेता नेम्वाङ पार्टीको सक्रिय गतिविधिबाट टाढा भए पछि घरमै बसेर खेतीपाती सम्हाल्थे । उनी मिडियासँग पनि बोल्न रूचाउँदैनथे ।

२०१७ साल पुसमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि वीपी कोइरालाकै सल्लाहमा उनले पञ्चायतविरूद्ध सशस्त्र आन्दोलनको आवश्यकता औल्याउँदै पूर्वमा त्यसको नेतृत्व गरेका थिए ।
२०१७ साल फागुन १७ गते उनले पाँचथरमा तत्कालीन प्रहरीको बन्दुक खोसेर पञ्चायतविरूद्ध सशस्त्र आन्दोलनको थालनी गरेका थिए । उनी हतियारबाटै पञ्चायतलाई फाल्न सकिने धारणा राख्दथे ।
१९९४ सालमा पाँचथरमा जन्मिएका नेम्वाङ सानैदेखि बागी स्वभावका थिए । २०१२ सालमा इलामको आदर्श हाइस्कुलमा विद्यालय व्यवस्थापन समितिमा विद्यार्थीले असन्तुष्टी व्यक्त गरेपछि त्यसको नेतृत्व नेम्बाङले गरेका थिए ।

bhu 2बुबा डबल सुब्बा र आमा सरस्वतीदेवी सुब्बाको साइला छोराका रूपमा जन्मिएका नेम्बाङ वीपी कोइरालाका विश्वासी पात्रका रूपमा रहेका थिए ।

उनको निधनको खबर पाएपछि विहानैदेखि उनका शुभचिन्तक तथा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता उनको घरमा भेला भएका थिए ।

गृहमन्त्री आउने खबर पाएपछि सुरक्षा पनि कडा पारिएको थियो । उनको निधनमा सोमवार बजारको दिन भए पनि धुलाबारी बजार स्वतस्फूर्त बन्द भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: