असल मन भएका मान्छे

  प्रकाशित मिति
३ जेष्ठ २०७५, बिहीबार १५:०८


लामो समयदेखि दुवै मृगौला र पित्तथैलीमा भएको पत्थरीको पीडा मेरा लागि आन्तरिक, शारीरिक र मानसिक यातना नै थियो । सुगर सँगै पेटको छुट्टै रोगको कारण अर्को अघोषित पीडाले मौनतामै मलाई चिमोटिरहेको थियो । आफ्नो आर्थिक अवस्थाले भ्याएसम्म उपचारका लागि म रन्थनिदै भौतारिनु मेरो एउटा नित्य कर्म नै बनेको लामो समय बितेको थियो ।
मेरा सबै उपचार सामान्य रोकथाम हुन् भन्ने जान्दाजान्दै पनि मसँग आफैले आफ्नो मन बुझाउनु बाहेक कुनै अर्को उपाय नै थिएन । केही नेता र मन्त्रीलाई नजिकबाट चिनेको भएपनि उनीहरुलाई हार गुहार गर्न म मा भएको घमण्डले भनौँ या आत्मसम्मान के हो मनले मानेन । मलाई थाहा थियो, सर्वसाधारण नागरिकलाई गम्भीर रोग लाग्यो भने आफ्नो आर्थिक अवस्थालाई सम्झेर दुखाइका पीडा आफूले आफैसँग व्यक्त गर्न बाहेक कुनै अर्को विकल्प छैन ।

पछिल्लो समयमा विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिल शर्मासँगको भेटपछि त्यहाँ कार्यरत मित्र डा. किशोर पौडेलले मेरो उपचारका बारेमा कुरा उठाएछन् । मलाई नोबेल मेडिकल कलेजले उपचारका लागि सहयोग गर्ने खबर गरेपछि देव्रेपट्टिको मृगौलामा रहेको पत्थरीको शल्यक्रिया डा.रामसागर शाह लगायतको मेडिकल यूनिटले गएको चैत्र २० गते सफलतापूर्वक गरेको थियो ।

देव्रेपट्टिको मृगौलाको शल्यक्रिया पश्चात डा.रामसागर शाहसँग एउटा बिरामीको नाताले अस्पतालमा भेट हुने त भयो नै । त्यसका अलावा अस्पतालका बिरामीसँगको डा.शाहको व्यवहार, उनले बिमारीलाई दिने गरेको सल्लाह सुझाव र उनको नम्रता र शालीनताले म डा.शाहसँग अलिक आकर्षित र निकट बन्न पुगेँ ।

उनीमा भएको सादगी र भद्रताले डा. शाह भित्रको मान्छे साँच्चै संवेदनशील छ भन्ने मलाई पक्का भयो । एउटा परिचित सर्जन भइकन पनि डा.शाह असल मन भएका मान्छे हुन् भन्ने मलाई त्यतिखेर प्रष्ट भइसकेको थियो कि उनी सामान्य मानिसलाई र सम्पन्न जस्ता देखिने मानिसलाई आफ्नो एकै बिमारीको उनको व्यवहारले उनमा भएको असलपनको प्रकट हुन्थ्यो ।

आफ्नो कर्मप्रतिको इमान्दारिता र लगनशीलताले छोटो समयमै पूर्वी नेपालका हिमाली जिल्लादेखि भारतसम्मका बिमारीले उनको तारिफ गरेको म १० दिनसम्म हस्पिटलमा रहँदा प्रष्ट भएको थिएँ । आफ्नो उपचारको क्रममा १० दिनसम्म म नोबेल मेडिकल कलेजमा रहँदा डा.शाहले बिमारीहरुलाई एउटा डाक्टरको रुपमा मात्र नभएर उमेरका हिसाबमा दाजु भाइ, छोरा र अभिभावकको जस्तो भूमिका निर्वाह गरेको मैले प्रत्यक्ष अनुभव गरेँ ।

मेरो भनाइको तात्पर्य यो होइन कि अन्य चिकित्सकहरुमा उनको जस्तो गुण हुँदैन भन्ने । तर, एउटा बिमारीको हिसाबले आफ्नो उपचारमा संलग्न डाक्टरलाई बुझ्ने प्रयत्न गर्दा उपचारमा संलग्न डाक्टरको सामान्य व्यवहारबाट पनि उसको सम्पूर्णतालाई नियाल्न सकिन्छ भन्ने मात्र हो ।

डा. शाह छोटो समयमै पूर्वी नेपालमा मात्रै नभएर छिमेकी भारतका विभिन्न राज्यहरुमा समेत परिचित बन्न पुग्नु भनेको उनको उपचारको शैली र व्यवहारिक जीवनमा देखिने सरलता र भद्रताले नै यो परिचय बनाउन पुगेका हुन् भन्दा अतिशयोक्ति नहोला ।

अझै मेरो दाहिनेपट्टिको मृगौलाको पत्थरी र पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न बाँकी नै छ । म अहिले पनि आफ्नो समस्या डा. शाहसँग नै राख्ने गर्छु । जस्तोसुकै व्यस्त समयमा पनि बिमारीप्रतिको उनको संवेदनशीलता र उनले दिने सल्लाह सुझावलाई साँच्चै नै एउटा परिवारको सदस्यले अर्को सदस्यको समस्यालाई आत्मसात गरेजस्तो लाग्छ ।
उपचारको समयमा मलाई भौँतारिएर कतै रुमल्लिरहेजस्तो अवस्थामा उपचारका लागि प्रतिबद्धता जनाउने अस्पतालका सञ्चालक डा. सुनिल शर्मा, डा. किशोर पौडेल, डा. रामसागर शाह, डा. सिद्धान्त र सिङ्गो अप्रेसन यूनिट र सिङ्गो मेडिकल कलेज परिवारलाई अन्तहृदयबाटै धन्यवाद नदिइरहन म कसरी सक्छु होला र !

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: