असारे विकासमा निगरानीको खाँचो

  प्रकाशित मिति
२० असार २०७३, सोमबार १४:३७


आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका गतिविधि तीब्र तुल्याउने विकृत चलन नयाँ होइन । बजेटको निकासा नै ढिलो हुने कारण बजेटको खर्च हतार हतारमा हुने गरेको छ । सडक, पुल, भवन जस्ता ठूला संरचनाहरूमा असारे शैलीको निर्माण प्रक्रियाले गुणस्तरमा असर पुर्याउँछ । कतिपय सडक बनाएको महिना नबित्दै भत्किएका खबर आउनुको कारण पनि यही हो । साउनमा नयाँ आर्थिक वर्ष सुरु हुनु अगावै बजेट सिध्याउने यस्तो बेथितिलाई कसरी रोक्ने भन्ने विषयमा मुलुकका योजनाकारहरूको ध्यान जान आवश्यक छ ।

सडक विभाग, शान्ति तथा पुनर्निर्माण, शिक्षा र स्थानीय निकायका विकासे परियोजनामा बजेट सिध्याउने असारे चटारो बढी देखिन्छ । कतिपय परियोजनामा कीर्ते कागजात खडा गरेर अनियमितता गरिएका विगतका उदाहरण छन् । प्राविधिक कर्मचारीसँगको मिलेमतोमा यस्ता परियोजना कागजमा मात्र बनाउने र बजेट खल्तीमा हाल्ने प्रवृत्ति अझसम्म रोक्न सकिएको छैन । यस्ता भ्रष्टाचारजन्य कार्य हुन नदिन सम्बद्ध कार्यालयको उपल्लो तहसँगै स्थानीय उपभोक्ताको सजगता अपरिहार्य हुन्छ ।

जागरुक उपभोक्ता भएका ठाउँमा यस्ता बद्मासी असम्भव हुन्छ । असारे विकासे प्रवृत्तिले कर्मचारीलाई भ्रष्ट बन्न प्रोत्साहित गरेको छ । यदि आवको सुरुवातमै बजेट निकासा हुने र त्यसको किस्तावन्दी रकम बेलैमा खर्च भइसक्ने गरी प्रक्रिया सुरु गर्ने हो भने बजेट झ्वाम् पार्ने बेथिति रोक्न सघाउ पुग्ने आशा गर्न सकिन्छ । उपभोक्ताको सजगता बढ्दै जाने हो भने यस्ता गलत कार्य रोक्न सकिने मात्र होइन, भ्रष्टाचारमा संलग्नलाई कार्वाहीको दायरामा ल्याउन पनि मदत पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: