अस्ट्रेलिया चिनाउने किताव

  प्रकाशित मिति
२६ पुष २०७२, आईतवार ०६:२५


amrita
खड्ग बराल नाम धेरै पटक सुनेको तर प्रत्यक्ष नचिनेको व्यक्ति । तिनै व्यक्तिद्वारा लिखित पुस्तक ‘आँखीझ्यालबाट हेर्दा अस्टे«लिया’ अहिले मेरो हातमा छ । गत एक महिनामा यो पुस्तक मैलै दोश्रो पटक पढिसिध्याए ।
लेखक, पूर्वशिक्षक, पूर्वश्रोतव्यक्ति र शैक्षिक तालिम केन्द्र झापाका प्रशिक्षकका रुपमा अधिकांश शिक्षक तथा झापाका अन्य बौद्धिक जगतमा परिचित भए तापनि एक सिद्धहस्त लेखकका रुपमा यस पुस्तकले उहाँलाई स्थापित गराएको अनुभूति भयो ।
हुन त लेखक पहिलेदेखि नै केहि लेख रचना लेख्दै आउनु भएको यसै पुस्तकबाट जानकारी भयो । तथापि ती लेख रचनाहरू पढ्न पाउने अवसरबाट म टाढै रहेछु ।
अचेल धेरै मान्छेहरूका छोराछोरी विदेशमा छन् र खड्ग सरलाई झैँ ती बाबुआमालाई ती छोराछोरीहरूले विदेश भ्रमणको अवसर दिलाएका छन् । मान्छे एउटै देशको एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्दा त कति नयाँ अनुभवहरू सङ्गाल्छ, भिन्न अनुभूति गर्छ भने पृथ्वीकै पल्लो छेउ, भिन्न भाषा, भिन्न संस्कृति, कला, साहित्य, संस्कार, विचार तौर तरीका सबैकुरा फरक भएका देशमा पुग्दा मान्छेले कस्ता–कस्ता अनुभवहरू अनुभूत गर्दो हो । तथापि सबै मान्छे आफ्ना अनुभवलाई शव्दमा उतारेर साहित्यको रुपमा सबै सामु पस्कन सक्तैनन् । कसैले कोसिस गर्दछन् तर सबैका कोसिसहरू सफल हँुदैनन् । तर यस पुस्तकका लेखक यस कार्यमा सफल देखिएका छन् ।
उनले थोरै शब्दमा धेरै कुराहरू दिन सके । उनका हरेक शव्द–शब्दले अस्टे«लियाको चित्र कोर्दछ, पाठकको मस्तिष्कमा । अठार अध्यायमा विभक्त प्रस्तुत पुस्तकमा सत्र वटा अध्याय अस्टे«लियाको बारेमा र एउटा अध्याय बङ्गलादेश भ्रमण गर्दाको कस्टकर यात्रालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

घरवाट हिड्नै लाग्दाको चटारो, जहाज सिधै अस्टे«लिया नगई पहिला मलेसिया पुगेर जहाज फेर्नुपर्ने भएपछि परेको अन्यौल । मलेसिया पुगेपछि कता जाने कसलाई सोध्ने, के गर्ने भनी परेको अन्यौल, मलेसिया उत्रेपछि एउटा कोठाभित्र पसेको र एकपछि त्यो कोठा आफैँ हिड्न थालेको र पछि त्यो त रेल रहेछ भनी थाहा पाएको, महासागर हेर्न जाँदा छालहरू अग्लिदै लेखकतर्फ चिनिन आएका, उनीहरूले म सगरमाथाबाट आएको म कन्चनजङ्घाबाट आएको भन्दै लेखकसँग वातचित गरेको भावुक अनुभूति वास्तवमै मन छुने छन् ।
नेपाल नामको पनि कुनै देश छ र भनेर विदेशीले प्रश्न गर्ने गरेका र लेखकले आफ्नो देशको परिचय सगरमाथाको देश, वुद्धको देश भनेर चिनाउन खोज्दा भारतको कुनै ठाउँ रहेछ भन्ने गरेका बेला लेखक एकातिर राष्ट्रप्रेम अर्कातिर आफ्नो देशको परिचय सम्म नखुल्नुको ग्लानीले भुतुक्क झै लाग्दछन् । समुन्द्रको विशालताको बयान स–साना छुच्चा खहरे खोलाहरू समुन्द्रमा परिणत भएपछि कति सौम्य बन्दारहेछन् त्यसैले त समुन्द्र जस्तै विशाल र महान भनिदो रहेछ भन्ने अर्थ, छोरा बुहारीका साथीहरू जोन र लोरिनीसँगको उठबसको वर्णन, निबृत कर्मचारीहरूको क्लवमा जाँदाको फरकपन, आदिबासी अस्टे«लियनहरूको दुरावस्था, अति सुविधाको गलत प्रयोगले त्यहाँका आदिवासीहरू चोर, डाका, ड्रगिस्ट, झगडालु, दीर्घरोगी निकम्मा बनेका उदाहरण दिई कुनै पनि जातिलाई राज्यले सुविधाको थुप्रो मात्र दिने होइन बरु केहि गर्ने प्रेरणादायी कार्यव्रmम दिनुपर्छ भन्ने विचार सराहनीय छ ।
बुढाबुढि एक्लै बस्नुपर्ने वा वृद्धाआश्रम जानुपर्ने वाध्यता, छोराछोरी १८ वर्ष भएपछि घर छोड्नु पर्ने वा घरैमा बसे खाएको बसेको पैसा तिर्नुपर्ने जस्ता नितान्त फरक कुराहरूलाई तुलनात्मक विश्लेषण गर्दै अत्यन्तै सरल, सहज र पढौँ–पढौँ लाग्ने शैलीमा प्रस्तुत पुस्तक नेपालका स्थापित लेखकहरूले लेखेका पुस्तकहरू भन्दा कहि कतै पनि कमजोर छैन ।
विदेश गमन नगरेका वा गर्न लागेका वा गर्ने इच्छा भएका व्यक्तिहरूका लागि, फरक संस्कृतिको जानकारी राख्न चाहने पाठकहरूका लागि थोरैमा धेरै चाहनेहरूका लागि यो पुस्तक पठनीय छ ।
पुस्तक सरसर्ती यात्रा विवरण मात्र नभएर विभिन्न विषयमा तथ्याङ्क सहित प्रस्तुत एक ज्ञानको भण्डारको रुपमा पनि उतिनै पठनीय छ ।
(मेचीनगर –६, झापा)
………………..

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: