।। मोहन काजी ।।
मेचीनगर । झापाली सामाजिक तथा राजनीतिक व्यक्तित्व अरुण बुढाथोकीको निधन भएको छ ।
मेचीनगर–१५ निवासी ६३ वर्षीय बुढाथोकीको आज भारतको सिलगढीमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
सात सालको क्रान्तिमा योगदान दिएको परिवारका सदस्य भएको पृष्ठभूमिका कारण उहाँमा प्रजातान्त्रिक चेत थियो । राजनीतिक रुपमा नेपाली काङ्ग्रेसका सक्रिय नेता र उच्च शैक्षिक योग्यता भएर पनि उहाँ राजनीतिक लाभको ठूलो पदमा भने पुग्नुभएन ।
मिगौलाको रोगको उपचारमा रहेका बुढाथोकीको एक दशक अघि दक्षिण भारतको एउटा हस्पिटलमा मिगौला प्रत्यारोपण गरिएको थियो । उहाँमा मधुमेहको समस्या पनि थियो ।
एक साता अघि मिर्गौलामा थप समस्या देखिए पछि उहाँलाई उपचारका लागि भारतको सिलगढीस्थित एक नर्सिङ होममा भर्ना गरिएको थियो ।
‘जहाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो, उतैबाट डाक्टरले बोलाएको कारण आज उहाँलाई दक्षिण भारत लैजाने गरी प्लेनको टिकट समेट काटिएको थियो’–एक नातेदारले बताए । तर दक्षिण भारतको हस्पिटलमा लैजान नपाउँदै उहाँको निधन भयो ।
राजनीतिज्ञको रुपमा अरुण :
नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएको बुढाथोकी परिवारमा उहाको जन्म भएको थियो ।
उहाँको बुवा रघुबीर बुढाथोकी, दाजु केशव कुमार बुढाथोकी (पूर्व मन्त्री) लगायत बुढाथोकी परिवारका थुप्रै सदस्य राजनीतिमा होमिनु भएको पाइन्छ ।
२००७ सालको जनक्रान्ति, २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनान्दोलन र २०६२÷०६३ को दोस्रो जनान्दोलनमा बुढाथोकी परिवारको योगदान थियो ।
अरुण बुढाथोकी नेपाली काङ्ग्रेस झापा १ नं. क्षेत्रीय समितिका सभापति भइसक्नु भएको थियो ।
नेपाली काङ्ग्रेसबाट उहाँ तत्कालीन ज्यामिरगढी गाउँ विकास समितिको अध्यक्षमा उम्मेद्वार बन्नुभएको थियो ।
शिक्षासेवीको रुपमा सक्रिय :
अरुण बुढाथोकी राजनीतिक र सामाजिक क्षेत्रमा बराबर सक्रिय हुनुहुन्थ्यो । उहाँले क्याम्पस र विद्यालयको स्थापना र विकासमा योगदान पुर्याउनु भएको थियो ।
धुलावारी क्याम्पसको उहाँ संस्थापक एवम् जग्गादाता हुनुहुन्थ्यो । उहाँ उद्यमी समेत हुनुहुन्थ्यो ।
सामाजिक क्षेत्रमा सक्रिय उहाँ धुलावारी सामुदायिक सेवा केन्द्रको अध्यक्षका समेत अध्यक्ष भइसक्नु भएको थियो । ज्यामिरगढी माध्यमिक विद्यालय र डिगेन आधारभूत विद्यालयका उहाँ अध्यक्ष भइसक्नु भएको थियो ।
तीन छोरीका पिता :
आर्थिक रुपमा सम्पन्न परिवारका सदस्य भएर पनि उहाँ सादा जीवन बिताउन रुचाउनुहुन्थ्यो । उहाँ आफ्ना कुरा राख्न नडराउने र नधकाउने हक्की स्वाभावका हुनुहुन्थ्यो । गरिव, असहाय र पीडित परिवारलाई जे दिएर पनि सहयोग गर्ने उहाँको उपकारी स्वाभाव थियो ।
मिर्गौला फेल भएर उपचारमा लागेपछि उहाँ राजनीतिक भन्दा सामाजिक जीवनमा बढी सक्रिय हुनुभयो ।
उहाँको पत्नी नमिता बुढाथोकी र तीन छोरीहरु अश्वेता, अस्मिता र अङ्किता रहेका छन् ।