झापा, १० भदौ । जिल्ला समन्वय समितिका प्रमुख एवम् नेकपाका प्रदेश सदस्य सोमनाथ पोर्तेलले कामाटोली घटनामा मृत्यु भएका सरिकुल आलमप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घटनाको सत्यतथ्य छानविन हुनुपर्ने बताएका छन् ।
‘घटनाको सत्यतथ्य छानविन गरी कार्वाहीको पहल गरौं,’ जिसस प्रमुख पोर्तेलले फेसबुकमा बुधवार राति साढे १० बजेतिर लेखेका छन्–‘आज झापा गापाको कामाटोली घटनाप्रति दुःख व्यक्त गर्दछु ।’
उनले समस्यालाई थप जटिल नबनाउन र संयमित बन्न सबैलाई अपिल समेत गरेका छन् ।
झापा गाउँपालिकाका वडा नं. ३ कामाटोलीमा बुधवार साँझ प्रहरी टोलीसँगको झडपमा प्रहरीले चलाएको गोली लागी घाइते भएका स्थानीय ३८ वर्षीय सरिकुल आलमको उपचारको क्रममा बीएन्डसी हस्पिटलमा मृत्यु भएको थियो ।
गोरु काटेको आरोपमा बुधवार दिउँसो पक्राउ परेका व्यक्तिहरुलाई म्याद थपका लागि कुमरखोदबाट चन्द्रगढीतिर लैजाँदै गर्दा कामाटोली बजारमा स्थानीयवासीले साँझ प्रहरीको गाडी रोकी आरोपितहरुलाई छुटाउन खोज्दा भएको झडपमा गोली चलेको थियो ।