मेचीनगर, २२ असोज । वर्षौदेखि आँखा नदेखेर झापामा उपद्रो मच्चाउँदै आएको एउटा वयस्क हात्तीलाई समात्ने तयारी भइरहेको छ ।
मेचीनगर–३ तेलपानीको जङ्गलमा लुकेर बसेको अवस्थामा सो हात्तीलाई आज विहान १० बजेतिर बन कार्यालय झापाबाट खटिएको सरकारी टोलीले फेला पारेको हो ।
‘हामी हात्ती भएको ३० मिटर नजिक पुगिसकेका छौं,’ टोलीमा रहेका एक सदस्यले आज विहान १० बजेर ३० मिनेट जाँदा लोकतन्त्र पोस्टलाई बताए–‘अब यसलाई बेहोश पार्न डाट (गोली) हान्ने तयारी गरिरहेका छौं ।’
हात्तीलाई बेहोश पार्न हानिने गोलीलाई डाट भनिन्छ । वेहोश पारिसकेपछि हात्तीको दुबै आँखा र शरीरमा भएका घाउहरुको चेकजाँच गरिने बताइएको छ ।
दुबै आँखा नदेख्ने भएको बताइएको सो हात्तीको आँखा अपरेसन गर्न चितवनबाट आएको चिकित्सक टोली समेत साथमै रहेको छ ।
उपचार गरेर भरसक आँखा देख्ने बनाएर मात्र हात्तीलाई जङ्गलमा छाडिने बताइएको छ ।
(विस्तृत समाचार आउन बाँकी छ)