चन्द्रगढी, २८ असार । चन्द्रगढी-९ मा सालको ठूलो रुख सडकमा ढल्दा मेची राजमार्गको चारआली-चन्द्रगढी सडक खण्ड आज विहान अवरुद्ध भएको छ ।
आइतवार विहान ८ : ३० बजेतिर चन्द्रगढी सामुदायिक बनको कार्यालयबाट एक सय मिटर उत्तर राजमार्गमा सालको एउटा रुख ढल्दा सडकमा यातायात आवागमन रोकिएको हो ।
स्थानीयबासी सरोज निरौलाका अनुसार हिजोसम्म सीधा ठडिएको रुख आज विहान पूर्व सडकतिर कोल्टे परेको स्थानीयवासीले देखेर बन समितिलाई खबर गरेका थिए ।
सडकतिर कुनै पनि बेला ढल्न सक्ने अवस्थामा रहेको सो रुखलाई बन समिति, जिल्ला बन कार्यालय र स्थानीयको उपस्थितिमा डोजरले धकेलेर ढालिएको थियो ।
रुढ ढल्दा बिजुलीको पोल र तार समेत चुडिएको हुँदा सो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
बन समितिले दुई वटा डोजर प्रयोग गरेर रुख हटाउने कार्य धमाधम गरिरहेको छ । चाँडो सडक खुलाउने प्रयास भइरहेको छ ।
अवरुद्ध भएको थाहा नपाएर आएका सवारी साधनहरु उत्तरतिर पारिजात चोक (मिलचोक)बाट प्रणामी मन्दिर हुँदै चन्द्रगढीतिर डाइभर्ट भएका छन् भने दक्षिणबाट आउनेहरु रुख ढलेको स्थानभन्दा ५० मिटर वरैबाट पूर्वतिरको घुमाउरो बाटो प्रयोग गरिरहेका छन् ।