दृष्टिसम्बन्धी समस्या नेपालको एउटा प्रमुख जनस्वास्थ्य समस्या नै हो । अहिलेको विज्ञान र प्रविधिको युगमा पनि हजारौँको सङ्ख्यामा दृष्टिविहीनताको अवस्थामा बाँच्नुपरेको यथार्थ छ । यही यथार्थलाई मध्यनजर गरी झापाबाट सामूहिक आँखा दान राष्ट्रिय अभियानको सुरुवात भएको छ । यो अभियानले मरेपछि पनि आफूले दान गरेको आँखाको सहायताले दृष्टिविहीनले उज्यालो संसार देख्न पाउने छन् । दृष्टिविहीन पनि यही समाजका व्यक्ति हुन् । उनीहरुलाई पनि उज्यालो संसार हेर्ने चाहना हुन्छ । त्यसैले तिनीहरुको चाहना पूरा गर्न सकियो भने त्यो नै ठूलो धर्म गरेको ठहर्छ ।
सरकारी तथ्याङ्क अनुसार झन्डै मुलुकमा नौ लाख मानिसमा दृष्टिविहीनता छ । यो अवस्था भनेको दृष्टि कमजोर रहेको अवस्था पनि हो । प्रतिहजार एकजना भने दृष्टिविहीन नै रहेको अनुमान छ । मोतीविन्दु, दृष्टि न्यून हुनु, जलबिन्दु, खस्रे रोग, आँखामा लाग्ने चोटपटक आदि प्रमुख रहेका छन् । यीमध्ये धेरै उपचार हुनसक्ने अवस्थामा हुन्छन् तर पनि उपचारको अभाव वा जनचेतनाको कमीले धेरैले दृष्टिविहीन भएरै बाँच्नुपर्ने बाध्यता छ । दृष्टिविहीन नै भएकाका लागि आँखा दान गर्नुको विकल्प छैन । मरिसकेपछि पूरै शरीर नाश भएर जान्छ । यदि दृष्टिीविहीनलाई आँखा दान गर्न सकियो भने पक्कै पनि नयाँ जीवन पाएको उसले अनुभूति गर्न सक्छ । त्यसैले यो पवित्र कार्यमा हामी सबैको सहयोग र साथ रहन जरुरी छ ।
धार्मिकलगायतका धेरै कारणले नेपालीलाई आँखा दान र प्रत्यारोपणबारे बुझाउन कठिन रहेको सम्बन्धित क्षेत्रमा काम गर्नेको अनुभव छ । उनीहरूलाई आँखा दान महादान हो भन्ने कुरा बुझाउन र मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्नसके धेरै दृष्टिविहीनले नयाँ जीवन पाउन सक्छन् । यसका लागि आँखासम्बन्धी स्वास्थ्य सेवा विस्तार गर्नुका साथै आँखा दानसम्बन्धी जनचेतना फैलाउन आवश्यक छ । टाढाटाढा रहेका र गरिब व्यक्तिले आँखासम्बन्धी सेवा पाइरहेका छैनन् । त्यसैले जनचेतना अभिवृद्धिको माध्यमबाट आँखासम्बन्धी स्वास्थ्य सेवा फैलाउन आवश्यक छ ।