आँखा दान, ज्योति प्रदान

  प्रकाशित मिति
२५ आश्विन २०७५, बिहीबार ०७:४३


आँखा मानिसको सबैभन्दा महत्वपूर्ण अङ्गमध्ये एक हो । सबैकुरा भएर पनि आँखाको दृष्टि नहुँदा संसारलाई हेर्न सकिदैंन । आवाजले महशुस गरेका कुरा देख्न दृष्टि नै आवश्यक हुन्छ । आँखाले काम गर्दा मात्र मानिस आफ्नो खुसीले हिँडडुल गर्न सक्छ तर दृष्टि भएन भने अर्काको सहारा लिनुको बिकल्प छैन । त्यसैले पनि आँखाको स्याहारमा बिशेष चासो देखाउनु पर्छ ।

बिश्वको तथ्याङ्कलाई हेर्ने हो भने विश्वका २८ करोड ५० लाख मानिसमा कुनै न कुनै प्रकारको आँखा सम्बन्धी रोग देखा परेको छ । जसमध्ये ३ करोड ९० लाख मानिस पूर्ण रुपमा दृष्टिबिहिन छन् भने २४ करोड ६० लाख मानिसको देख्न सक्ने क्षमता कमजोर भएको बिभिन्न अध्ययनहरुले देखाएको छ । यी मध्ये पनि ९० प्रतिशत मानिस नेपाल जस्तो विकासशील देशका नागरिकहरु नै छन् । आँखा जस्तो समवेदनशिल अङ्गको तथ्याङ्क यति कहालीलाग्दो हुनु आफैंमा खतरनाक हो ।

नेपालको तथ्याङ्कलाई हेर्दा पनि अवस्था कमजोर नै देखिन्छ । करीब २ लाख ४६ हजार मानिस दृष्टि बिहिन छन् । नेपाल आँखा बैङ्कको तथ्याङ्क अनुसार २ लाख मानिसमा मोतीयाबिन्दुको समस्या रहेको देखिन्छ । जसमा बार्षिक ९० हजार मानिसले मात्र उपचार गराउँछन् ।

नेपालमा हुने दृष्टि बिहिन मध्ये केही खास कारणले आँखाको ज्योति गुमेको देखिन्छ । जसमा सबैभन्दा बढी आँखाको बाहिरी झिल्ली वा नानीमा भएको समस्याका कारण आँखाले काम नगरेको अवस्था छ । दृष्टि बिहीनमध्ये आँखाको कर्निया अर्थात बाहिरी झिल्लीको खराबीका कारणले मात्र ४५ प्रतिशत मानिसले आफ्नो आँखाको ज्योति गुमाएको नेपाल आँखा बैङ्कको तथ्याङ्कले देखाएको छ । त्यस्तै मोतिबिन्दुका कारण २५ प्रतिशत, जलबिन्दुका कारण १० प्रतिशत, बंशाणुगत रोगका कारण १० प्रतिशत र अन्य रोग जस्तै प्रेसर, मधुमेह जस्ता रोगहरुका कारणबाट आँखाको ज्योति गुम्ने समस्या १० प्रतिशत रहेको छ ।

काठमाडौँको तिलगङ्गास्थित केन्द्रीय आँखा बैङ्कमा मात्र मासिक एक सय जना मानिस आँखाको कर्नियाँ सम्बन्धी बिरामी आउँछन् । जुन मृतकको आँखाबाट निकालिएको कर्नियाँ प्रत्यारोपण गरेर देख्न सक्ने बनाउन सकिन्छ । तर मासिक ७० देखि ८० वटा मात्रै कर्नियाँ सङ्कलन हुने गरेको नेपाल आँखा बैङ्कको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्कबाट मासिक २० जना भन्दा बढी मानिस एउटा अस्पतालमा मात्र आँखाको कर्नियाँ नपाएर यो संसारलाई हेर्न सकिरहेका छैनन् ।

आँखाको कर्नियाँ प्रत्यारोपण गरेर देख्न सक्ने बनाउने बिरामी हरेक बर्ष ८ हजार आउने गरे पनि बर्षमा मुश्किलले एक हजारदेखि १२ सय जति मात्रै आँखाको कर्निया सङ्कलन हुने गरेका कारण दृष्टि बिहिन कम गर्न समस्या भएको देखिन्छ ।

हरेक मानिसले आँखा दान गर्ने र मृत्यु भएका मानिसबाट समयमा नै आँखाको कर्नियाँ सङ्कलन गर्ने सहज वातावरण बन्ने हो भने मात्रै पनि हरेक बर्ष ८ हजार दृष्टि बिहिन नेपालीलाई यो संसार हेर्न सक्ने बनाउन सकिन्छ । यही कुरालाई मध्य नजर गरेर नेपाल आँखा बैङ्कले देशका बिभिन्न संस्था मार्फत आँखा दानको अभियान सञ्चालन गरिरहेको छ भने मृतकको आँखाबाट बाहिरी झिल्ली कर्नियाँ सङ्कलन गर्न प्राविधिक जनशक्ति समेत उत्पादन गरी देशभरी पुर्याएको छ । झापामा काँकरभिट्टास्थित दुर्गाचन्द्र मेमोरियल ट्रस्ट र मेची आँखा अस्पताल बिर्तामोडले आँखाको कर्नियाँ सङ्कलन गरिरहेका छन् ।

त्यसमध्ये पनि दुर्गाचन्द्र मेमोरियल ट्रस्ट अहिलेसम्म पूर्वी नेपालमा नै सबैभन्दा धेरै आँखाको कर्नियाँ सङ्कलन गर्ने संस्थाका रुपमा स्थापित भएको छ । काँकरभिट्टास्थित मेची नेत्रालयको प्राविधिक सहयोगमा ट्रस्टले बिगत एक बर्षदेखि आँखा दान सम्बन्धी सचेतना फैलाउने र मृत्यु पश्चात कर्नियाँ सङ्कलनको कार्य गरिरहेको छ ।

अनेकन पुरातन सोचका कारण अहिले पनि हाम्रो समाजमा आँखा दान गर्ने कुरा त्यति सजिलो छैन । मृत्यु भए पछि निकालिने आँखाको बाहिरी झिल्ली अर्थात कर्नियाँ सङ्कलन त झन् जटिल नै छ । मृतकको परिवारको अनुमति बिना कर्नियाँ निकाल्न नमिल्ने भएकाले मृत्यु भएका ब्यक्तिका परिवारका सदस्यहरुमा यस सम्बन्धी जानकारी नहुँदा समस्या पर्ने गरेको कर्निया सङ्कलन गरिरहेका संस्थाहरुको अनुभव छ ।

मृत्यु पछि आफुले सँगै लिएर जान सकिंदैन भने अरुका लागि दिएर जाउँ । किनकि तपाईको मृत्यु पछि पनि तपाईसँगै नष्ट हुने आँखाको बाहिरी झिल्ली (कोर्नियाँ)ले अरु दुई जना दृष्टि बिहिन मानिसले यो संसार हेर्न पाउँछन् भने त्यो भन्दा पुण्य कर्म अरु यो संसारमा केही हुन सक्दैन ।

त्यसैले आँखा दानलाई एउटा पुण्य कर्मको रुपमा प्रचार गरी त्यसबाट आउने सकारात्मक प्रभावले हाम्रा हजारौं दृष्टिबिहिन दाजु भाई दिदी बहिनीले यो संसारलाई हेर्न सक्ने बनाउनु अहिलेको आवश्यकता भएको छ ।

(लेखक मेची नेत्रालय (आँखा अस्पताल) काँकरभिट्टामा कार्यरत हुनुहुन्छ ।)

(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: