आँखा र मनका पाइलाहरुलाई नियाल्दा

  प्रकाशित मिति
१ जेष्ठ २०७३, शनिबार ०६:५१


श्रद्धेय गुरु चुडामणि रेग्मीज्यूको पछिल्लो कृति आँखा र मनका पाइलाहरु नाउँको निबन्ध सङ्ग्रहका बारेमा केही कुरा भन्नुभन्दा पहिले स्वयम् कृतिकार गुरुज्यूकै विषयमा थोरै शब्दहरु खर्चिनु सान्दर्भिक ठानेको छु । सङ्खुवासभा जिल्लाको वाना गाउँमा आजभन्दा सत्तरी वर्षपहिले (वि.सं. १९९३ चैत्र २९ गते) संसार चियाउन आइपुग्नुभएका रेग्मी गुरु संस्कृत साहित्यमा आचार्य हुनुहुन्छ । मोफसलमा बसेर नेपाल बाङ्मयको श्रीवृद्धिमा निरन्तर लागिरहनु भएका रेग्मी गुरुका बारेमा साहित्याचार्य रोहिणीविलास लुइँटेल यसरी लेख्नुहुन्छ– चुडामणि रेग्मी नेपालको सुदुरपूर्व मेची अञ्चल, झापा जिल्लाका मुर्धन्य विद्वानहरुमध्ये एक लब्धप्रतिष्ठित व्यक्तित्व हुन् ।
चितवनका विद्वान समालोचक डीआर पोखरेलको गुरुप्रतिको भावना यस्तो छ – मोफसलका छायाँमा परेका स्रष्टाहरुलाई प्रेरित,अभिनन्दन र प्रचरित गर्दै हिँड्न रुचाउने र नामका भोकाहरुको बजारु गतिविधिमा अल्मलिई आफ्नै साहित्यिक भाषिक धुनमा रमाउने एक अनुपम प्रतिभा हुन् ।

यसैगरी चुडामणि गुरुका बारेमा राजेन्द्र सुवेदीको विचार यस्तो पाइन्छ–राजधानीवादबाट ग्रस्त साहित्यलाई राजधानीबाहिरबाट पनि उचाई दिन सङ्घर्ष गर्ने रेग्मीको लेखन अत्यन्त गतिवान् र सहज लेखनमा अग्रसर रहेको देखिन्छ ।
अर्का झापाका विशिष्ट साहित्यकार सरोज ओली रेग्मी गुरुका निबन्ध लेखनबारे लेख्नुहुन्छ –रेग्मीका यात्रा–संस्मरणहरु समसामयिक समस्याहरु लिएर उड्दै युगीन चरित्रको उद्घाटन गर्न पुगेका छन् ।

माथिका उदाहरणबाट स्पष्ट हुन्छ, चूडामणि रेग्मी किञ्चित पनि नडग्मगाई भाषा र साहित्यको साधना गर्दै निबन्धमा निरन्तर लागि परेका र लागिरहने एक उदाहरणीय साहित्यिक व्यक्तित्व हुन् । अतिरञ्जित प्रशंसा किमार्थ होइन, यो त नेपाली वाङ्मयमा चाख राख्ने, साहित्य सिर्जनामा लागिपरेका स्रष्टा–सर्जक वा पाठकले देखेको, बुझेको र चिनेको यथार्थ हो अनि वास्तविकता पनि । प्राध्यापन, भाषाशास्त्र र पत्रकारिताको सङ्गमस्थलका रुपमा परिचित रेग्मी गुरु २०१२ सालमै ‘पहिलो यात्रा’ नाउँको कथा सङ्ग्रहको पुस्तक प्रकाशित गरेर साहित्यकाशमा विचरण गर्न पुग्नु भएको देखिन्छ । उहाँको एउटा लघुकाव्यका साथै चारओटा कथा सङ्ग्रह, चारवटा समालोचनाका सङ्ग्रह, तिन–तिनवटा भाषा र व्यङ्ग्यका सङ्ग्रह, यो समेत पाँचवटा निबन्ध सङ्ग्रह प्रकाशित देखिन्छन् । प्रस्तुत ‘आँखा र मनका पाइलाहरु’ को आँखा जसले बाहिरी संसारलाई, जीवन र जगतलाई हेर्ने गर्दछ, आँखाले नै अँध्यारो–उज्यालो, घाम–पानी, झरी–वर्षा देख्दछ । आँखाले देखेपछि नै मान्छेले प्रतिव्रिmया दिन्छ, कस्तो नराम्रो ! कस्तो कुरो ! अथवा कस्तो राम्रो । कस्तो आकर्षक । आदि–आदि । बाहिरी पक्ष भयो आँखा, भित्री पक्ष भयो मन । यही मनले अनुभूत गर्छ । एकैछिनमा संसार विचरण गर्न सक्छ मनले । यसरी हेर्दा वुद्धि बाहिरी पक्षको रुपमा र मनलाई भित्री पक्षको रुपमा अथवा विवेकको रुपमा लिन सकिन्छ । यसरी ‘आँखा र मनका पाइलाहरु’ नाउँको यो निबन्ध–सङ्ग्रह अध्ययन गर्न सकिन्छ ।

यस निबन्ध–सङ्ग्रहमा २०२२ सालदेखि २०६३ सालसम्मका, चार दशकका विभिन्न पत्र–पत्रिकामा प्रकाशित भएर छरिएर रहेका ३३ वटा निबन्धहरु सङ्कलित छन् । ती निम्न शीर्षकमा छन् – १. कस्तो अर्ती खानू ? २. मास्टर–चरो, ३ व्यङ्ग्य, ४. यो भीड ! यो समुद्र । ५. पुरानो मदिरा, ६. हुने छिन्, ७. अथातो घुमक्कड जिज्ञासा, ८. जुही घर–घरका टेवुलमा गमलाझैँ सजिओस् । ९. हार, जीत र दृष्टिकोण, १०. आँगनमा नहिँड्ने कुरा, ११. मेरा अड्वाङ्गे निर्णय । १२. प्राज्ञिक आनन्द । १२. निर्भिक भएर लेख्नोस् । १४. पुरस्कृत मेरो सानो गन्थन, १५. मेरा हस्स परेका वाचाहरु,, १६. आफ्नै जीवन, आफ्नै विवेचना, १७. मुसाको रास–लीला, १८. मेरो खेल रुची, १९. काङ्ग्रेसको पुच्छर, २०. तेन्दुलकारले शतक ठोके । २१. गोष्ठी–विचरणको एउटा कथा, २२. नकारात्मक आलोचना सकारात्मक गतिविधि. २३. गोष्ठी, वर्षा र अचर, २४. इटहरीमा अच्छा राई जयन्ती, २५. हराएको रचना भेट्ता, २६. मेरो पनि धोको अधुरै रह्यो । २७. अचेल रमित हेर्न थालेको छु । २८. म मेरी दिदी र कमल दीक्षित, २९. बितेको समयलाई मीठो सलाम छ चुडामणिको । ३०. गाइघाट जाँदाको सम्झना, ३१. धनकुटामा नयाँ भएर, ३२. एउटा कथा भयो, एउटा कथा पनि । ३३. पत्रकारिता गर्दाका अनुभव ।

कृतिभित्रका यी निबन्धहरु सर्सर्ती पढेका आधारमा भन्नुपर्दा सबै निबन्धमा आत्मपरकताको प्रधानमा छ, संस्मरणात्मक, यात्रा वृत्तन्तात्मकताका साथै हाँस्य–व्यङ्ग्यात्मक विधि पनि कतै–कतै अँगालिएको छ । आफूले भोगेका भोगाइहरु विताएको क्षणहरुलाई अत्यन्त सुन्दर भावभङ्गीमा मिलाएर वर्णन गर्नुभएको छ, निबन्धकार रेग्मीज्यूले । प्राज्ञिक भएर पेशागत धर्म निर्वाह गर्दा होस् अथवा दैनन्दिन जीवनमा आइपर्ने कार्य व्यापारमा होस्, आफ्नो सोझोपनले गर्दा अपमानित र अपहेलित भएका तीता क्षणहरुलाई निबन्धमा कुनै न कुनै रुपमा प्रक्षेपण गरिएको छ, यस सङ्ग्रहभित्रका निबन्धहरुमा । नेपाली समाजको वर्गीय संरचनाभित्र अनेकन विषमताहरु विद्यमान् छन् । यिनै विषमताका कारण सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक विकृति–विसङ्गतिहरु घनीभूत छन् । यस्ता विकृति र विसङ्गतिविरुद्ध, होची–अर्घेलीविरुद्ध आफ्ना निबन्धहरुमार्फत कडा प्रहार गर्नुभएको छ निबन्धकारले । समाजका हरेक क्षेत्रमा चाहे शासनसत्ता चलाउने शासक हुन्, चाहे धर्मका ठेकेदारहरु हुन्, चाहे समाजको अगुवाइ गर्ने अगुवाइहरु हुन् अथवा शैक्षिक क्षेत्रको नेतृत्व तहमा बसेका कतिपय प्राज्ञिकहरु हुन्–जतासुकै लोभ–लालच र स्वार्थले गर्दा बेइमानीतर्फ धकेलिँदै गएको छ । यस्ता वेइमान र धोकेवाजहरुप्रति तीक्ष्ण कटाक्ष गरेको पाइन्छ, प्रस्तुत ‘आँखा र मनका पाइलाहरुमा ।

सारमा, चुडामणि रेग्मी व्यक्तिगत जीवनमा, बोलीचालीमा पनि निडर, निर्भिक र स्पष्टवक्ता भएकाले उहाँका निबन्धमा पनि यस कुराको झलक पाइन्छ । कोही रिसाउँछ कि ? नराम्रो मान्छ कि ? भनेर मनका लागेका कुरा भन्न नहिच्किचाउने रेग्मी गुरुले आफ्नो यो धर्मलाई निबन्धमा स्थापित गर्नुभएको छ । वैचारिक हिसाबले भन्नुपर्दा उहाँका निबन्धहरु यथार्थवादी छन् । निबन्धको संरचनात्मक पक्षतर्फ हेर्दा निबन्धको गठनविधि सहज र सरल छ । वाक्य संरचना र शब्द छनोट पनि सरल, सहज र ठेट नेपाली शब्द अर्थात् झर्रा शब्द नै बढी प्रयोग भएका पाइन्छन् । निचोडमा भन्नुपर्दा लामो समयसम्म प्राध्यापन पेशामा संलग्न भई प्राज्ञिक अनुभव सगाली सक्नु भएका, भाषा साहित्य र काव्य–साधनामा माझिनु भएका साहित्यिक पत्रकारितामा लामो समय पसिना बगाएका रेग्मी गुरुका साथै अनुभवहरु र प्रकाशित अप्रकाशित रुपमा रहेका थुप्रै निबन्ध रचना पुस्तकाकार रुप लिँदै जानेछन् ।
(भण्डारीको ‘समीक्षा सौरभ’ कृतिबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: