‘आँखा सेवा सबैका लागि’

  प्रकाशित मिति
२५ आश्विन २०७५, बिहीबार ०७:५२


अक्टोवर महिनाको दोस्रो विहीवार आँखा स्वास्थ्य क्षेत्रको लागि अत्यन्तै महत्वपूर्ण दिन हो । हरेक बर्ष यस दिनलाई “बिश्व दृष्टि दिवस”को रुपमा मनाउने गरिन्छ । यो बर्षको दृष्टि दिवस ११ अक्टोवर (२५ असोज)का दिन बिश्वभर आँखा स्वास्थ्य सम्बन्धी चेतना जगाउन विविध कार्यक्रमहरु गरी मनाइँदैछ ।

सन् १९९८ मा बिश्व स्वास्थ्य सङ्गठन, अन्धोपन निवारण सम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइएपीबी तथा लायन्स क्लव इन्टरनेशनलको अगुवाइमा पहिलो पटक विश्व दृष्टि दिवस मनाएर यो परम्पराको थालनी गरिएको हो ।

हरेक बर्ष अलग अलग नारा दिएर मनाउँदै आएको यो दिवसले यस पटक “आँखा सेवा सबैका लागि” भन्ने नारा अघि सारेको छ । आँखा स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु गरी समुदायमा आँखाको हेरचाह तथा उपचार चेतना जगाउनु, उपलब्ध आँखा उपचार सेवाको अधिकतम् उपयोग गर्न अभिप्रेरित गराउनु तथा विभिन्न सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाहरुलाई कार्यक्रमहरु सञ्चालन गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ दृष्टि दिवसमा विविध कार्यक्रमहरु आयोजना गरिन्छ ।

आँखा स्वास्थ्य तथा दृष्टि अनि अन्धोपनको कुरा गर्दा अन्धोपन गराउने कारणहरु बारे पनि केही चर्चा गर्नु आवश्यक हुन्छ । कुनै पनि व्यक्तिको आँखाको देख्ने शक्तिलाई बिभिन्न चार भागमा वर्गीकरण गरिएको हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले गरेको यो वर्गीकरण अनुसार सामान्य दृष्टि भएका, न्यून दृष्टि भएका, अति न्यून दृष्टि भएका र दृष्टि बिहिन गरी चार भागमा बाँडिएको छ । बिश्वमै अन्धोपन अर्थात दृष्टि विहिन गराउने प्रमुख कारणमा “मोतिबिन्दु” भन्ने बिरामी पर्दछ ।

मोतिविन्दु पश्चात अन्धोपन गराउने कारणहरुमा आँखाको प्रेसरसँग सम्बन्ध राख्ने जलबिन्दु, आँखाको चोटपटकहरुले गर्दा हुने आँखाको नानीको फुलो, चिनी रोगका कारण आँखामा आउन सक्ने खरावीहरु, उमेरका कारण रेटिनामा दाग बस्ने आदि पर्दछन् भने न्यून दृष्टि र अति न्यून दृष्टि गराउने प्रमुख कारण चाहिँ दृष्टिदोष (चश्माको आवश्यकता भएको) हो ।

आम जनमानसमा यी रोगहरुको बारेमा धेरै जानकारी त छैन तर हेक्का राख्नु पर्ने कुरा के छ भने करिब नब्बे प्रतिशत अन्धोपन तथा न्यून दृष्टिलाई सामान्य उपचार, शल्यक्रिया तथा चश्माको प्रयोगद्वारा हटाउन सकिन्छ । बिश्व स्वास्थ्य सङ्गठनले हटाउन सकिने अन्धोपनलाई अबको दुई बर्षभित्र अर्थात सन् २०२० सम्ममा हटाइसक्ने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । “हटाउन सकिने अन्धोपनलाई” सन् २०२० सम्ममा हटाइसक्ने बिश्व स्वास्थ्य सङ्गठनको यो लक्ष्य प्राप्तिको लागि हाम्रो देशका बिभिन्न गैह्र सरकारी तथा निजी सङ्घ संस्थाहरुले आँखा शिविर कार्यक्रम, विद्यालय आँखा जाँच तथा सचेतना कार्यक्रम, समुदायमा शल्यक्रिया कार्यक्रमहरु चलाउँदै आइरहेका छन् ।

नेपालमा आँखा उपचार सेवाको इतिहास हेर्ने हो भने करिब ४५ बर्ष अघिबाट अर्थात सन् १९७० को दशकदेखि मात्र आँखा उपचार सेवा सुरु भएको पाइन्छ । १९७० को दशकमा केहि विदेशी आँखाका डाक्टर, प्राविधिक लगायत सहयोगीहरुको टोली नेपाल आएर बिभिन्न स्थानमा आँखा शिविरहरुको आयोजना गर्ने अनि त्यहाँ मोतिविन्दुको शल्यक्रिया गर्ने गरिन्थ्यो । निश्चित अवधिको लागि मात्र आयोजना गरिने यस्ता शिविरहरुबाट सीमित मानिसहरुले मात्र उक्त सेवाको उपभोग गर्न पाउँथे । त्यो समयमा बार्षिक करिब आठ सय जना रोगीहरुको मोतिविन्दुको शल्यक्रिया त हुन्थ्यो । तर स्थायी रुपमा आँखा उपचार केन्द्र तथा अस्पताल नभएका कारण शल्यक्रिया पश्चात आउन सक्ने सङ्क्रमण तथा जटिलताहरुको समयमा उचित उपचार र व्यवस्थापन हुन नसक्दा शल्यक्रिया गरेको आँखा नै गुम्न सक्ने खतरा पनि अत्यधिक थियो । यस्ता खालका आँखा शिविरहरु मूलतः पहाडी भेगहरुमा आयोजना गर्ने गरिन्थ्यो ।

सीमावर्ती तराई भेगका आँखाका रोगीहरु भने छिमेकी मुलुक भारतका सिलिगुडी, गोरखपुर, सीतापुर लगायतका स्थानमा गई आँखा उपचार गराउने गरेको इतिहास छ । १९७० को दशकदेखि नेपालका प्रमुख चार वटा अस्पताल काठमाडौ, विराटनगर, जनकपुर र पोखरामा आँखाको विभाग स्थापना गरी सेवा सञ्चालन त सुरु गरियो । त्यो बेला देशभरमा जम्मा सात जना मात्र आँखा रोग बिशेषज्ञहरु कार्यरत थिए । नेत्र रोग बिशेषज्ञ बाहेक आँखा उपचारमा आवश्यक अन्य दक्ष प्राविधिकहरु उपलब्ध नै थिएनन् । मोतिविन्दु, खस्रे रोग, आँखाको नानीमा हुने सङ्क्रमण तथा फुलो पर्नु, भिटामिन–ए को कमीले गर्दा हुने अन्धोपन जस्ता समस्याहरुबाट ग्रसित हाम्रो देशमा सन् १९८० को दशकले भने आँखा उपचारमा यौटा गतिलो फड्को मार्दै अन्धोपन निवारणमा महत्वपूर्ण कार्यक्रमहरुको थालनी गर्न सफल भयो ।

बिश्व स्वास्थ्य सङ्गठनले नेपाल सरकारसँगको सहकार्यमा “राष्ट्रिय अन्धोपन निवारण आयोजना” को स्थापना गरी नेपालको अन्धोपन बिरुद्धमा विभिन्न कार्यक्रमहरुको शुरुवात गर्यो । फलस्वरुप सन् १९८१ मा “राष्ट्रिय अन्धोपन सर्वेक्षण”को आयोजना गरियो । विश्व स्वास्थ्य सङ्गठनले विश्वकै “उदाहरणीय र उत्कृष्ट” भनी प्रशंसा गरिएको उक्त सर्वेक्षणले नेपालमा विद्यमान अन्धोपनको अवस्था तथा उक्त अन्धोपनको निवारणमा अगाडि चाल्नु पर्ने कदमहरुको स्पष्ट खाका तयार पारिदियो ।

सोही वर्षबाट अन्धोपन निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न दक्ष प्राविधिक, जनशक्ति “नेत्र सहायक”को उत्पादन गर्ने कार्यको थालनी गरियो भने १९८७ बाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान महाराजगञ्जमा ‘नेत्र विशेषज्ञ’को अध्ययन शुरु भयो । एकातिर देशमा नेत्र विशेषज्ञहरुको सङ्ख्यामा बृद्धि हुदै गयो, नेत्र सहायकहरु उत्पादन हुँदै गए भने अर्काे तर्फ धेरै बिदेशी दातृ निकायहरुले नेपालको अन्धोपन निवारणमा सहयोग गर्ने उद्धेश्यले विभिन्न आँखा अस्पतालहरुको स्थापना गरे ।

‘क्रिस्टोफर ब्लाइन्डेन मिसन’ भन्ने जर्मनीको संस्थाले सगरमाथाको लहानमा, आइ केयर फाउण्डेशन भन्ने नेदरल्याण्डको संस्थाले गण्डकीको पोखरा र मेचीको विर्तामोडमा, सेवा फाउण्डेसन भन्ने अमेरिकी संस्थाले लुम्विनीको भैरहवामा, नोराड भन्ने नर्वेको संस्थाले धनगढीमा ठूला आँखा अस्पतालको स्थापना गरी आँखा उपचार सेवाको सुरुवात गरे । अर्काेतर्फ दातृ राष्ट्रहरु, नेपाल सरकार र आँखा उपचारमा संलग्न सङ्घ संस्थाहरु बिच समन्वय गर्ने उद्धेश्यका साथ नेपाल नेत्र ज्योति सङ्घको पनि स्थापना भयो । अहिले नेपाल नेत्र ज्योति सङ्घले देशभरिको आँखा उपचार प्रदायक सङ्घ संस्थाहरुको संयोजन र अनुगमन गर्दै गुणस्तरीय आँखा उपचार सेवाका लागि काम गरिरहेको छ ।

यसरी आँखा उपचार सेवामा नेपालले उल्लेख्य मात्रामा सफलता हाँसिल गर्दै अघि बढिरहेको अवस्थामा सन् २०१० को दशक बाट निजी स्तरमा समेत धेरै आँखा उपचार केन्द्र र अस्पतालहरु सञ्चालनमा आउन थालेका छन् । निजी स्तरबाट सञ्चालनमा ल्याइएका यी अस्पतालहरुले विश्व स्वास्थ्य सङ्गठनले ल्याएको “सबैलाइ दृष्टि”, “हटाउन सकिने अन्धोपनको उन्मूलन” जस्ता कार्यक्रमहरुको प्रभावकारितामा थप सहयोग पु¥याउन थालेका छन् ।
आँखा उपचार सेवामा निजी क्षेत्रको प्रवेशले आँखा सेवाको गुणस्तरीयता वृद्धि, नयाँ प्रविधिहरुको बिकास र प्रयोगका साथै उच्च गुणस्तरीय सेवा प्रदानमा देखाइएको सक्रियताले नेपालमा अन्धोपन निवारण गर्ने कार्यमा थप सहजता उत्पन्न भएको छ ।

(लेखक विर्तामोड आँखा अस्पतालका नेत्र सहायक हुन् ।)
(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: