आँखैमा गाडिएको हँसिया निकालियो

  प्रकाशित मिति
९ कार्तिक २०७५, शुक्रबार १८:२९


बिर्तामोड । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी दमक–२ की ८ वर्षीया अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा सफल उपचार भएको छ ।

दशैंमा पथरी शनिश्चरे–३ स्थित मावलीघर गएको बेला साथीहरुसँग रहरले घाँस काट्न जाँदा कार्तिक ५ गते चिप्लिएर लड्दा उनको दाहिने आँखाको तल्लो भागमा धारिलो हँसिया गाडिएको थियो ।

डेढ घण्टाभित्रै हस्पिटल ल्याइएकी अंशुको जटिल शल्यक्रिया गरी आँखा सकुशल जोगाएर हँसिया निकालिएको उपचारको नेतृत्व गरेका डा. धिरज गिरीले बताए ।
‘अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्थ्यो’, डा. गिरीले शुक्रवार पत्रकार सम्मेलनमा भने–‘हाम्रो टीमले वीएन्डसीमा भएका अत्याधुनिक उपकरणहरुको प्रयोग गरेर अत्यन्तै कुशलतापूर्वक उनको उपचार सफल बनायौँ ।’

हस्पिटलले उपचार पूरा भएपछि शुक्रवार अंशुलाई घर पठाएको छ ।

घर फर्किनु अघि अंशुकी आमा विमला गिरीले वीएन्डसी सभाहलमा पत्रकार सम्मेलन गरी सफल उपचारका लागि डाक्टरको टीमसहित हस्पिटल परिवारलाई धन्यवाद व्यक्त गरिन् ।
उनले अत्याधुनिक सुविधासम्पन्न बीएन्डसी हस्पिटल नभएको भए आफ्नो छोरीको आँखा मात्र नभएर ज्यान नै जोखिममा पर्न सक्ने खतरा रहेको बताएकी थिइन् ।
सो अवसरमा डा. गिरीले समयमै उपचार गराउन पाउँदा आँखा पहिलेकै अवस्थामा फर्काउन सकिएको जानकारी दिएका थिए ।

डा. धिरज गिरीले हस्पिटलमा भएका आधुनिक उपकरण र एनेस्थेसिया डा. राजु श्रेष्ठ लगायतका डाक्टरहरुको टीमले गर्दा उपचार सम्भव भएको बताएका छन् ।
अंशुको दाहिने आँखाबाट घोपिएको हँसिया देब्रै आँखा समेत भेट्ने गरी फँसेको थियो ।

कक्षा ३ मा पढ्दै गरेकी अंशु पत्रकार सम्मेलनमा खुशीले मुस्कुराइरहेकी थिइन् । पत्रकारहरु उनको हँसिलो र सग्लो आँखाको तस्वीर खिच्न धुइरिएका थिए ।
अंशुकी आमा विमला गिरीले गरेको पत्रकार सम्मेलनमा हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईको विशेष उपस्थिति थियो ।

कार्यकारी निर्देशक प्रसाईले अंशुको सफल उपचारमा दशैँको विदा समेत नभनी खटिएका डाक्टरहरुको टीमप्रति आभार व्यक्त गर्दै मेची मात्र नभएर कोशी अञ्चलका बासिन्दाले समेत भरपर्दो र अत्याधुनिक उपचार सेवाका लागि अब बीएन्डसी हस्पिटलप्रति आस्था र विश्वास व्यक्त गरेकोमा खुशी प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: