आँटिली उषा

  प्रकाशित मिति
१३ आश्विन २०७४, शुक्रबार १३:२४


usha 1

‘मलाई पनि चोकसम्म लगिदिनुहोस् न’ भन्दै अधिकांश महिला अरुको सवारी साधनमा लिफ्ट लिएर यात्रा गर्छन् । सार्वजनिक बस मात्र होइन, निजी कार र ट्याक्सीमा ड्राइभरको सिटमा महिलालाई विरलै देख्न पाइन्छ । स्कुटी र सीटी रिक्सामा चाहिँ महिला चालक देखिन थालेका छन् । तर, मेचीनगर–६, काँकरभिट्टाकी ३५ वर्षीया उषा श्रेष्ठ सँधै निजी कारमा यात्रा गर्छिन् । कार आफै ड्राइभ गर्छिन् ।

सुरु सुरुमा कार हाँकेको देख्दा ट्राफिक प्रहरीले समेत अचम्म मानेर सोधखोज गरेको उषाको अनुभव छ । कार ड्राइभ गरेको देख्दा उनीमाथि नजर नपुर्याउने कमै होलान् । ‘म कुनै जागिरे होइन, तर सामाजिक कामको व्यस्तताले गाँजिरहन्छ’, कार हाँक्नु पर्नाको रहस्य बताउँदै उनी भन्छिन्–‘सबै काममा समयमै पुग्न सहज भएको मात्र छैन, मभित्र एउटा बलियो आत्मविश्वास पनि कारले जगाइदिएको छ ।’

उषा फेसन डिजाइनर हुन् । नेपालमै पहिलोपटक खुलेको फेसन टेक्नोलोजी नमूना विश्वविद्यालय काठमाडौँबाट उनले फेसन डिजाइनमा ग्य्राजुएट गरेकी छिन् । उनी मेचीनगर लेडी जेसीजको निवर्तमान अध्यक्ष समेत हुन् । मोडलिङमा पनि उनको रुचि छ । काठमाडौँमा भएको एउटा व्युटी कन्टेस्टमा उनी विजयी भएकी थिइन् ।

usha

उनले कार हाँक्न थालेको चार बर्ष भयो । उनले हाँक्ने कार उनकै पति श्यामकुमार श्रेष्ठले उपहार दिएका हुन् । उनले कारमा परिवारका सदस्य मात्र होइन, साथीसँगी र चर्चित कलाकारहरूलाई समेत ड्राइभ गरेकी छिन् ।

अमेरिकामा हात नै नभएकी अपाङ्ग युवती जेसिका कक्सले खुट्टाले १० हजार फिटमाथि प्लेन उडाएर गिनिज वल्र्ड रेकर्डमा नाम लेखाएको उदाहरण दिँदै उषा भन्छिन्–‘कार कुदाउनु ठूलो होइन, आँट र साहस भए महिलाले खुट्टाले नै प्लेन त उडाउन सक्छन् ।’

कार ड्राइभ गर्न सिक्दाको रमाइलो अनुभव छ उनीसँग । उनको घरमा पहिल्यैदेखि मारुती कार थियो । ड्राइभ गर्ने बेसिक नलेज भएकै कारण पति निदाएको मौका छोपेर उनी मारुती हाँक्न सिक्ने गर्थिन् । एक दिन बजारमा सपिङ गर्न जाँदा उषाले मारुती ड्राइभ गरेको देखेपछि उनलाई पतिले नै कार किनिदिएका हुन् ।

उषा मात्रै होइन, झापामा आफै कार ड्राइभ गर्ने महिलाको सङ्ख्या बढ्दो छ । जनप्रतिनिधि, डाक्टरदेखि लिएर सामान्य जागिरे महिलाहरुले समेत कार आफै ड्राइभ गरेको देख्न पाइन्छ । उषाले धेरै महिलासँग कार भएको तर ड्राइभर राखेर हिँडेको देखेकी छन् । यस्तो उनलाई मन परेको छैन । तिनीहरुलाई सुझाव दिदै उनी भन्छिन्–‘साइकल स्कुटी चलाए जस्तै हो, आँट गरेर सिक्नुस्, डराउनु पर्दैैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: