आँधी आएजस्तो एकैचोटी विकास आउँदैन : नगरप्रमुख शेर्मा

  प्रकाशित मिति
१३ मंसिर २०७७, शनिबार १७:२२


शिवगञ्ज, १३ मंसिर । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्माले आँधी आएजस्तो एकैचोटी विकास नआउने जनाउँदै नगरका जनप्रतिनिधि इमान्दार भएर विकास निर्माणमा लागेको बताएका छन् ।

शिवसताक्षी–४ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै नगरप्रमुख शेर्माले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा बेतुकका स्टाटस राखेर गनगन नगर्न र कुनै गुनासो भए सोझै नगरको निकायमा सम्पर्कमा आउन नरबासीलाई आग्रह गरे ।

बाटो, कलभर्ट, पुल जस्ता पूर्वाधार आवश्यक भए वडा कार्यपालिकाको सिफारिस लिएर सिधै नगरमा आउन नगरबासीलाई उनले आग्रह गरे ।

नगरकार्यपालिकाले राजनीतिक आस्था, जात, धर्म, लिङ्ग, बर्ग, समुदाय र भूगोलका आधारमा कसैलाई पनि विभेद नगर्ने स्पष्ट पार्दै सेवा प्रवाहमा कुनै विभेद भएको भए पालिकामा आउन उनको आग्रह थियो ।

सो कार्यक्रममा बोल्दै त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाईले विद्यालयको मैदानमा बर्खा याममा वर्षेनी पानी जमेर हिलाम्मे भएको गुनासो गरे ।

प्रअको गुनासोको जवाफमा नगरप्रमुख शेर्माले भने–‘बिद्यालयको यो समस्या पहिलोपटक सुनें । यस्ता समस्या रहेछन् । विद्यालय प्रशासन र वडाबाट जानकारी नआएकाले म अनविज्ञ छु ।’

नगरमा गुनासो सुन्ने अधिकारी र विषयगत शाखा भएकाले त्यहाँ पनि गुनासो वा सूचना दिन नगर प्रमुख शेर्माले नगरबासीलाई आग्रह गरे ।

पतिसहित तीन छोरा गुमाएकी इन्दिरा गौतमले आफ्नो माइलो छोरा सरोजको १८ औं पुण्यतिथिमा विद्यालयका १८ जना विद्यार्थीलाई छात्रवृत्तिस्वरुप पोशाक वितरण गरेकी छन् । पोशाक वितरणका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

समाजसेवी गौतमले स्व. पति र छोराहरुको स्मृतिमा गोपाल गौरी दीगो प्रतिष्ठान स्थापना गरेकी छन् । उनी प्रतिष्ठानको अध्यक्ष हुन् ।

कार्यक्रममा पालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, विद्यालयका प्रधानाध्यापक चापागाईं लगायतले समाजसेवी इन्दिरा गौतमबाट धेरै कुरा सिक्न सकिने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: