‘आइ एम विथ तनुजा फेमेली’

  प्रकाशित मिति
१४ श्रावण २०७३, शुक्रबार २३:०५


ambika

‘मामु मावली घरमा जाँदा पनि कसैले मार्छन् ?’–विहानै पत्रिका हेर्ने वित्तिकै छोरोले सोध्यो । मैले ‘त्यस्तो हुँदैन बाबु मावली घर भनेको सबैभन्दा प्यारो घर हो’ भनी नसक्दै फेरि उसले प्रतिप्रश्न गर्यो–‘त्यसो भए बुधबारेमा मावली घर आएकी तनुजा कोइरालालाई किन मारियो त ?’ म नाजावाफ भएँ । बाल्यकालको सबै भन्दा प्यारो घर मावलीमा उनको हत्या भएको थियो ।

सञ्चारमाध्यमहरूले उनको हत्याको समाचार प्रायः प्रत्येक दिन जसो प्रकाशन प्रसारण गरिरहेका छन् । शान्तिनगर क्षेत्रका बासिन्दा शोकमा डुबेका छन् । कलिलो मुना निमोठेकोमा शान्तिनगरबासी उत्तिकै आक्रोशित पनि छन् । तर, आज तनुजाको हत्या भएको एक हप्ता वितिसक्दा समेत कसले कुन प्रयोजनका लागि उनको हत्या गर्यो भन्ने रहस्य खुल्न नसक्दा आम झापाली बालमस्तिष्कमा त्रास सिर्जना भएको छ ।

मावली भन्ने प्यारो शब्द उनीहरूका लागि काडाँझै बन्न थालेको छ । उनीसँगै खेल्ने पढ्ने बालबालिकाले मौन जुलुस निकालेर प्रशासनलाई हत्यारा चाँडोभन्दा चाँडो पत्ता लगाउन दबाब दिएका छन् । तर पनि घर भित्रै मारिएकी तनुजाको हत्यारा प्रहरीले पत्ता लगाउन नसक्दा सबैमा शङ्का उपशङ्काले डेरा जमाउन थालेको छ । कस्ता कस्ता अपराधी पत्ता लगाउन सक्ने प्रहरीले तनुजाको हत्यारा किन पत्ता लगाउन नसकेको ? ‘पत्ता लाग्न नसकेको’ भन्नेतिर होइन, आम मानिसले ‘पत्ता लगाउन नचाहेको’ हो कि भन्दै प्रहरीमाथि शङ्का गर्न थालेका छन् ।

हिजो पश्चिमको कुनै कुनामा बालबालिका तथा महिलाको हत्याको समाचार सुनिसक्दा जुरुक्क उठ्ने झापा आज मौन छ । उनको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले पनि विशेष चासो नदेखाएको परिवारको आरोप आइरहँदा समेत कुनै सङ्घसंस्था चुइँक्क बोलेका छैनन् । शान्तिनगरकै एक स्थानीय भन्दै थिए–‘कहाँ छन् मानवअधिकारवादी, कहाँ छन् बालबालिकाका क्षेत्रमा काम गर्ने हुँ भन्ने बालअधिकारकर्मी ?’ उनको प्रश्नले यति बेला सबैलाई छुनु पर्ने हो । हुन पनि हो यस्तो अपराध गर्ने जो कोही किन नहोस् उनलाई कानुनी कठघरामा उभ्याउन किन झापा जुरुक्क उठ्दैन । किन तैँ चुप मैँ चुपको अवस्था छ ।

यतिबेला सार्वजनिक ठाउँदेखि चिया दोकानमा समेत यही हत्या प्रकरण चासोको विषय बनेको छ । त्यसमा पनि सबैभन्दा बढी त बुधबारे र शान्तिनगरमा । उनीहरूले हत्याराको बारेमा विभिन्न अड्कलबाजी गर्छन् । अनि प्रशासन मौन बसेकोमा आश्चर्य प्रकट गर्छन् । कतै हत्यामा पनि राजनीतिले त प्रवेश पाएन भन्ने शङ्का र उपशङ्का गर्छन् । खैर जे होस् तनुजाको हत्याराको चाँडो भन्दा चाँडो पहिचान हुनुपर्छ । त्यसरी हुँर्कदै गरेको मुना निमोठ्ने अपराधीलाई हदैसम्मको कानुनी कारवाही गरिनुपर्छ ।barne 2

विगतमा झापामा थुप्रै बालिकाको बलात्कार पछि हत्या भएको समाचारले मिडियामा स्थान पाएका थिए । प्रशासनको भनाइमा हत्यारा अझै फरार देखिन्छन् । स्मरण गरौँ १० बर्ष अघि बलात्कारपछि हत्या गरिएकी बुधबारे–३ की दमयन्ता सिटौलाको हत्यारा अझै फरार छ । यी त भए प्रतिनिधि पात्र मात्र । दमयन्ता र तनुजाको हत्याराले झै अझै पनि यो समाजमा शिर ठाडो पारेर हिँड्ने थुप्र अपराधी छन् । उनीहरू कानुनी कठघरामा उभिन नसक्नु भनेको कानुनको बर्खिलाप हुनु हो र समाजमा यस्ता अपराध गर्नेको सङ्ख्यामा बृद्धि हुनु हो ।

अपराधी जो होस्, उ कसैको आफन्त हुन सक्दैन । अपराधीको कुनै जात र धर्म पनि हुँदैन । न त अपराधीको कुनै राजनीतिक आस्था हुन्छ । अपराधी आखिर अपराधी नै हो । उप्रति घृणा प्रकट गरिनु पर्छ । उसलाई कानूनी कठघरामा उभ्याइनु पर्छ । तनुजाको हत्या अत्यन्त क्रुर र पाशविक प्रकृतिको छ । घटनाको अनुसन्धान गर्ने र प्रमाण जुटाएर दोषीलाई अदालतमा उभ्याउने जिम्मेवारी प्रहरीको हो । अहिले प्रहरी अनुसन्धानमा निकै ढिलाई भइरहेको छ । ढिलो भयो भने आम जनताको धैर्यको बाँध टुट्न सक्छ । बेलैमा चेतना होस् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: