‘आउनुहोस् सबै कम्युनिस्टको एउटै पार्टी बनाऔं’ : प्रम ओली

  प्रकाशित मिति
२२ फाल्गुन २०७५, बुधबार ११:२५


मेचीनगर । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिस्ट शक्तिहरुलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन् ।
झापा विद्रोहका पाँच सहिदहरुको स्मृतिमा मङ्गलवार इलामको सहिदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका सहिदहरुले मुलुकमा फुटेर होइन जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिस्टको सपना देखेको बताए ।

उनले नेकपा एमाले र नेकपा माओबादी केन्द्रविचको एकीकरण सहिदको सपना साकार पार्ने एउटा महान प्रक्रिया भएको उल्लेख गर्दै जनताको हितका लागि साँचो अर्थमा क्रियाशील अरु कम्युनिस्ट पार्टीहरु समेत एकीकरण प्रक्रियामा आउनु पर्ने बताए ।

‘नेपालको लोकतान्त्रिक एवम् बामपन्थी आन्दोलनको इतिहासमा बेग्लै र असाधारण महत्व भएको फागुन २१ का दिनले टुक्रिएको र छरिएको कम्युनिस्ट आन्दोलनलाई जोडेर मजबुत पार्टी बनाउन प्रेरणा दिएको छ’, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले कम्युनिस्ट एकीकरणको आह्वान गर्दै भने–‘आउनुहोस् सहिदहरुको सपना साकार पार्न सबै कम्युनिस्टहरुको अब एउटै पार्टी बनाऔं, यसमा केपी ओली र प्रचण्डको कुनै सङ्कीर्णता छैन ।’

वि.सं. २०२९ साल फागुन २१ गते झापा विद्रोहका योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजबंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई पञ्चायती शासकहरुले चन्द्रगढी कारागारबाट इलाम जेल सार्ने निहुँमा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गरेको घटनालाई वि.सं. १९९४ सालमा चार सहिदलाई राणा शासकहरुले फाँसीको सजाय दिएको घटनासँग तुलना गर्दै प्रधानमन्त्री ओलीले सुखानीका सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि एवम् उनीहरुको परिवारका सदस्यमा समवेदना व्यक्त गरेका छन् ।

सुखानीका सहिदहरुलाई ‘पहिलो गणतन्त्रवादी सहिद’को संज्ञा दिदै उनले सुखानीका सहिदले देखेको सपना साकार तुल्याउन वत्र्तमान सरकार जनमुखी विकासका कार्यहरु गर्दै अघि बढिरहेको बताए ।

हँसिया हथौडाको झण्डा देखाएर कतिपय लुटपाटमा संलग्न हुनेहरु साँचो कम्युनिस्ट हुन नसक्ने बताउँदै उनले जनतामा चन्दा आतङ्क र हिंसाको त्रास सिर्जना गर्नेलाई नियन्त्रण गरिने बताए ।

झापा बुद्धशान्तिका राम प्रधान, कनकाईका डिल्ली गौतम लगायतका सहिदहरुलाई चाँडै नै राष्ट्रिय सहिद घोषणा गरिने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
स्मृति सभामा नेकपाका अर्का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा १ नं. प्रदेशका अध्यक्ष देबराज घिमिरे, सहिद रामनाथ दाहालकी छोरी एवम् कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईले मन्तब्य राखेका थिए ।

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओली र नेकपा अध्यक्ष प्रचण्डले सुखानीस्थलमा रहेको सहिद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजबंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको शालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

नेकपा झापाले आयोजना गरेको सो कार्यक्रममा हालै दिवंगत नेकपा नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

सभाको अध्यक्षता तत्कालीन नेकपा एमालेका तत्कालीन अध्यक्ष चिन्तन पाठक र उद्घोषण तत्कालीन नेकपा माओबादी केन्द्र झापाका अध्यक्ष विजय साम्पाङले गरेका थिए ।
कार्यक्रममा १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सांसदहरु पवित्रा खरेल, राम कार्की, एलपी साँवा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा झापाको विभिन्न आन्दोलनमा सहिद भएकाहरुको परिवारलाई सम्मान गरिएको थियो ।
…………….

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: