टाघनडुब्बा, २३ वैशाख । झापा गाउँपालिका वडा नं. ४ सुकुम्बासी वस्तीस्थित अस्थायी सीमा सुरक्षा पोस्टमा घरेलु हतियारसहित आक्रमणको प्रयास गर्ने भारतीयको जत्थालाई नेपाली सुरक्षाकर्मीहरुले हवाई फायर गरी धपाएका छन् ।
घटना सोमवार अपरान्ह ४ः३० बजेतिरको हो । घरेलु हतियार बोकेर हुलहुज्जत गर्दै करीव डेढसयको सङ्ख्यामा भारतीय नागरिकहरु सीमाको नेपाली सुरक्षा पोस्टमा आएका थिए ।
चेतावनी दिदा समेत नटेरेपछि नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाई फायर गर्यो । अनि मात्र भारतीयहरु भागेका थिए ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहका अनुसार हवाई फायर हुनुभन्दा केही अघि दुई जना भारतीय नागरिक लुकीछिपी नेपाल छिर्न खोजेका थिए । सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले उनीहरुलाई लकडाउनका बेला सीमा सिल गरिएको हुँदा सीमा नाघेर जान नदिइने भन्दै सम्झाई बुझाई फिर्ता पठाएको थियो ।
केहीबेर पछि तिनै दुई व्यक्तिको उक्साहटमा घरेलु हतियारसहित डेढ सयको जत्थामा भारतीय नागरिक नेपालीहरु सीमाको सुरक्षार्थ स्थापना गरिएको अस्थायी पोस्टमा आक्रमण गर्न आएका थिए ।
विभिन्न चेतावनी दिदा समेत हुलहुज्जत गर्न नछाडेपछि नेपाली सुरक्षाकर्मीले बाध्य भएर दुई राउण्ड हवाई फायर गरी भारतीयहरुलाई धपाएका थिए ।
कोभिड १९ को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा नेपाल र भारत दुबैतिरबाट आवतजावत पूर्णरुपमा बन्द गराइएको छ । तर झापाको दक्षिणी सीमा क्षेत्रमा भारतीय नागरिकहरुले खेतीबाली उठाउने, आफन्त भेट्ने, सामान बेच्नेलगायतको बहानामा नेपालभित्र घुस्ने प्रयास गर्दै आएका छन् ।
सीमा क्षेत्रमा ५०० मिटरको फरकमा नेपाली सुरक्षाकर्मीलाई सीमाको सुरक्षाका लागि तैनाथ गरिएपछि भारतीय क्षेत्रबाट हुने घुसपैठको प्रयास सफल हुन सकेको छ्रैन ।
लागू पदार्थको तस्करी गर्दै आएको गिरोहले समेत सीमानाबाट घुस्ने प्रयास गरिरहेको देखिएको छ । तर यी सबै प्रयासहरु सुरक्षाकर्मीले रोकेका छन् । झापा गाउँपालिकाको घटना पनि भारतीयको जवर्जस्ती घुसपैठका कारण भएको हो ।
घटनापछि सो क्षेत्रका प्रदेश सांसद हिरा थापाले समेत सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै सीमामा सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका छन् । उनले भारतीयबाट नेपाली सुरक्षा पोस्टमा भएको आक्रमण प्रयासको विरोध जनाएका छन् ।
घटना भएको क्षेत्रमा थप सुरक्षाकर्मी परचालन गरिएको र हाल स्थिति सामान्य रहेको बताइएको छ ।