झापा, १६ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द्वमा माधव–प्रचण्ड पक्ष अब ओली पक्षविरुद्ध आक्रामक बन्ने संकेत देखिन थालेको छ ।
पछिल्लोपटक कर्णालीमा मुख्यमन्त्री फेर्न ओली पक्षले ल्याएको अविश्वास प्रस्तावलाई फेल गराउन सफल बनेपछि हौसिएको माधव–प्रचण्ड गठबन्धनले तत्कालै कर्णाली मन्त्रीमण्डलबाट ओली पक्षका मन्त्री हटाउने भएको छ ।
कर्णाली मन्त्रीमण्डलमा ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा बन, वातावरण मन्त्री नन्दसिंह बुढा छन् । यी दुबैलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिट्टै हटाउने भएका छन् ।
केन्द्रमा सचिवालय बैठकको माग गरिरहेको माधव–प्रचण्ड पक्षले ओलीमाथि चौतर्फी दवाव सिर्जना गर्न कर्णालीबाट मन्त्री नै हटाइदिने रणनीति लिएको छ ।
त्यसपछि पनि ओली गलेनन् भने संघीय संसद्को संसदीय दलमा अविश्वासको प्रस्ताव लैजाने माधव–प्रचण्ड पक्षको अर्को आक्रामक योजना हुनसक्ने राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।
आजै मन्त्रीमण्डल पुनर्गठन गरी ओली पक्षका मन्त्रीद्वयलाई हटाउने मुख्यमन्त्रीको तयारीलाई भने काठमाडौंबाट नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरी रोकिदिएका छन् ।
प्रचण्डले अरु केही दिन हेर्न मुख्यमन्त्री शाहीलाई सल्लाह दिएको बताइएको छ ।