आगोमा घिउ नथप

  प्रकाशित मिति
९ मंसिर २०७२, बुधबार ११:१४


मधेशमा दन्किएको द्वन्द्वको राजनीतिक समाधान ननिस्कँदा अतिबादी सोच हावी हुने खतरा बढ्दै गएको छ । सरकार सेना परिचालनको तयारीमा लाग्नु र आन्दोलनकारी झन् झन् हिंसात्मक बन्दै जानुले मुलुक फेरि मुठभेडको दिशातिर लम्किएको भान हुन्छ । कुनै पनि राजनीतिक समस्याको समाधान हिंसाको प्रयोगले हुन सक्दैन । शान्तिपूर्ण आन्दोलनको सबै सीमा नाघ्दै मधेश आन्दोलन बद्नाम हुँदै गएको सत्य हो । तथापि संविधान निर्माणसँग असन्तुष्ट मधेशी मोर्चाका मागहरू राजनीतिक प्रकृतिका छन् । आन्दोलन शैलीको शान्तिपूर्ण रुपान्तरणमा मधेशी मोर्चाले तत्कालै ध्यान दिन जति जरुरी छ, राज्य शक्ति प्रयोगको मानसिकतामा नलाग्न उत्तिकै आवश्यक छ ।
नेपालले दश बर्ष लामो सशस्त्र द्वन्द्वबाट गुज्रिएर त्यसका नराम्रा परिणाम भोगिसकेको छ । आर्थिक रुपले कमजोर हाम्रो मुलुकले राजनीतिक व्रmान्तिको पाटोलाई निश्चित विन्दुमा टुङ्ग्याएर आर्थिक समृद्धिको दिशामा लम्किन अपरिहार्य छ । तर यो वास्तविकतालाई राजनीतिक शक्तिहरूले अनुभूत गरेको देख्न पाइएको छैन । हिंसा चाहे राज्यले गरोस्, चाहे आन्दोलनकारीले नै गरेको किन नहोस् त्यो गलत छ । हिंसा कुनै पनि बहानामा स्वीकार्य हुँदैन, त्यो निन्दनीय नै हुन्छ । मधेशलाई फेरि मुठभेडमा हुत्याउँदा फाइदा विदेशीले र दुःख–पीडा जति नेपालीले पाउने निश्चित छ । तसर्थ कसैले पनि मुठभेडको रहर नगरुन् । समस्याको समाधान बल प्रयोगबाट होइन, शान्तिपूर्ण माध्यमबाटै खोज्न दुबै पक्ष अग्रसर हुनु पर्छ ।
सरकार र आन्दोलनकारी दुबै कित्तामा एउटा बलियो गुट हावी हुँदै गएको छ, जसले त्यहाँभित्र हिंसाका लागि उक्साउने काम गर्छ । मधेशी आन्दोलनमा खुलेआम भारतीय घुसपैठ अब छिप्न सक्दैन । भारतको घिनलाग्दो पृष्ठपोषणले आम नेपालीमा मधेश आन्दोलन नेपाली राष्ट्रियतालाई कमजोर बनाउने खेल हो भन्ने बुझाई छ । नाकाबन्दी र राजमार्गमा देखिएका अवरोधले त्यही सङ्केत गरेका छन् । यदि मधेशी मोर्चा यो भ्रम चिर्न चाहन्छ भने आन्दोलनलाई शान्तिपूर्ण ट्रयाकमा ल्याउन जरुरी छ । सेना परिचालनको असफल प्रयोग पूर्व राजा ज्ञानेन्द्रदेखि प्रजातिान्त्रिक भनिएका सरकारहरूले पनि गरेका थिए । सेना परिचालन भालुको कन्पट समाए जस्तो कार्य हो, जो एकपटक समाए पछि न समाइरहन सजिलो हुन्छ, न छोड्न । सरकार र आन्दोलनकारी दुबै जिम्मेवार र संयमित बन्नु अहिलेको आवश्यकता हो । दश बर्षे द्वन्द्वको घाउ नपुरिदै फेरि अर्को घाउ लगाउने भूल राज्यका बत्र्तमान शासकहरूले नगरुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: