आजको झापा र अबको झापा

  प्रकाशित मिति
२८ आश्विन २०७३, शुक्रबार १६:०५


coverझापा सुगम र तुलनात्मक रुपमा समृद्ध जिल्ला हो । पर्याप्त सम्भावना बोकेको जिल्ला पनि हो । विकासको गतिलाई हेर्दा जुन गतिमा झापाको विकास हुनु पर्ने थियो, त्यो नभएको होला । जुन किसिमले सडककोे विस्तार हुनुपर्ने थियो त्यो नभएको होला । कतिपय ठाउँमा कालोपत्रे नभएको होला । बितेको २० वर्षयता उद्योगको विकास र विस्तार अलि सुस्त नै छ । पर्यटनको क्षेत्रमा जे जति प्रगति हासिल भए तिनैबाट सन्तुष्ट हुने ठाउँ छैन । पर्यटकीय क्षेत्रको प्रचार हुन सकेको छैन । कृषि उत्पादनका लागि झापा उर्वर छ । तर, सम्भावनाको पहिचान हुन सकेको छैन ।

झापाको समृद्धिको सवालमा बहस जारी छ । राजनीतिक दलहरू बिचको समझदारीमा झापाको विकासका लागि एउटा प्रष्ट रोडम्याप निर्माण गर्न जरुरी छ । तुलनात्मक रुपमा झापाको विकासलाई दुई तरिकाबाट विश्लेषण गर्न सकिन्छ ।

झापाको आर्थिक समाज अरु जिल्लाको तुलनामा धेरै अगाडि छ । अन्य भूगोल झापाभन्दा लगभग ६० देखि सय वर्ष पछाडि छन् । दोस्रो, २५ वर्ष अगाडिको झापा र अहिलेको झापामा धेरै ठूलो भिन्नता छ । २५ वर्ष अगाडि झापाका बाहुनडाँगी, शान्तिनगरतिर बस गुडेको देखिँदैन थियो । अथवा महाभरा, केचनातिर मोटर पुग्दैनथ्यो । तर, अहिले पूरै कालोपत्रे नभए पनि सडक सञ्जालले जोडिएको छ । ग्रामीण अर्थतन्त्रमा सुधारको सङ्केत पनि हो यो ।

खानेपानीको विस्तार
विकास क्रमबद्ध प्रक्रिया हो । र, निरन्तर चलिरहन्छ । नागरिक पनि त्यही सिलसिलामा जोडिन पुग्छन् । दुई–अढाई दशक अघिसम्म सहरी क्षेत्रमा खानेपानीको पहुँच २० प्रतिशत थियो । अहिले ८५ प्रतिशत सहरी इलाकामा खानेपानीको पहँुच छ । काँकरभिट्टा, बिर्तामोड, सुरुङ्गा, भद्रपुर, गौरादह, धुलाबारी तथा अन्य क्षेत्रमा पानीको पहुँच छ ।

शिक्षा र स्वास्थ्य
शैक्षिक क्षेत्रमा झापाले उल्लेख्य प्रगति गरेको छ । भद्रपुरमा मेची बहुमुखी क्याम्पस र दमक क्याम्पस मात्रै थिए । २५ बर्ष अगाडिको यो स्थिति आज बदलिएको छ । अहिले हरेक सहरमा क्याम्पस स्थापना गरिएको छ । पहिले सदरमुकाममै पुगेर पढ्नु पर्ने बाध्यतामा रहेका बालबालिका अहिले घर छेउको प्लस टुमा पढिरेहका छन् । यसले हाम्रो समृद्धिलाई बल पुर्याएको छ । स्वास्थ्यको सन्दर्भमा झापा अगाडि छ । सिलिगुडी जानुपर्ने कुनै बेलाको बाध्यता अन्त्य भएको छ । मेची अञ्चल अस्पतालप्रति नागरिकको विश्वास बढेको छ । बिर्तामोडमै बी एन्ड सी हस्पिटल, बिर्तासिटी, मनमोहन, कञ्चनजङ्घाजस्ता हस्पिटल सर्वसाधारणको सेवामा अहोरात्र सक्रिय छन् । भद्रपुरमा ओमसाई पाथिभरा र दमकमा लाइफलाइन जस्ता सुविधासम्पन्न निजी हस्पिटल सञ्चालनमा छन् । मेची आँखा अस्पताल, मेची नेत्रालय, काँकरभिट्टा आँखा अस्पताल जस्ता विशिष्ट किसिमका अस्पताल खोलिएका छन् ।

सडक, कृषि र विद्युत
सडक सञ्जालको विषयमा भन्नुपर्दा, झापा त्यस्तो जिल्ला हो, जुन जिल्लामा सडक सञ्जालले सबै गाउँ र नगरलाई जोडेको छ । झापामा कालोपत्रे हुन बाँकी रहे पनि सबै वडा, गाउँ र नगरमा सडक पुगेको छ । मेची राजमार्ग अन्तरगत चारआली–केचना सडकखण्ड, बिर्तामोड–भद्रपुर, दमक–चिसापानी, बिर्तामोड–शनिश्चरे–बुधबारे आदि सडकको स्तर बृद्धि झापाको समृद्धिका आधार हुन् ।

कृषि उत्पादनमा पनि झापा आत्मनिर्भर छ । शान्तिनगर, बाहुनडाँगीमा उत्पादन भएको तरकारीले सिङ्गो झापालाई पुग्छ । ५० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको सिद्धिनहर परियोजनाबाट बाहुनडाँगीलाई सिञ्चित गर्न सकिन्छ । अरु गाउँ–नगर पनि त्यत्तिकै उन्नत र समृद्धशाली छन् । पर्याप्त सिँचाई नहुँदा र जमिनको वर्गीकरण नहुँदा कृषि उत्पादन घटेको छ । धान खेतीमा रहेको सम्भावना जुन रुपले उपयोग गर्न सक्नुपर्ने थियो, त्यो हुन सकेन । झापा, मोरङ र सुनसरीले सिङ्गो मुलुकलाई चामल पुर्याउन सक्छ । खाडीमा पसिनासँग साटिएको करोडौँ रेमिट्यान्स झापामा भित्रिएको छ । तर, रेमिट्यान्स भित्र्याइरहेको झापाली युवाको यताको खेत चाहिँ बाँझै छ ।

झापामा जलविद्युतको सम्भाव्यता अध्ययन गरिएको छ । कनकाई नदीबाट जलविद्युत निकाल्न सकिने देखिन्छ । तर, विस्तृत योजना यसका लागि आवश्यक छ । राजनीतिक दल बिच साझा अवधारणा बन्नु पर्छ । अबको डेढ दशकमा झापालाई कस्तो बनाउने भन्ने विषयमा झापाका राजनीतिक दलले विस्तृत खाका बनाउनु पर्छ ।

(लोकतन्त्र पोस्टको दसैँ तिहार विशेषाङ्कमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: