आजदेखि विश्वकप फुटबल

  प्रकाशित मिति
३१ जेष्ठ २०७५, बिहीबार ०६:००


मस्को । संसारभरिका करोडौँ फुटबलप्रेमीको ध्यान तान्दै विहीवार (आज) रुसको मस्कोमा विश्वकप फुटबलको २१ औँ संस्करण सुरु हुँदैछ ।

नेपाली समय अनुसार विहीवार बेलुकी ८ बजेर ४५ मिनेटमा साउदी अरेविया र आयोजक रुसविच पहिलो प्रतिष्पर्धा हुने भए पनि त्योभन्दा ठिक अघि रोमाञ्चक समारोहविच प्रतियोगिताको भब्य उद्घाटन हुने छ ।

प्रतियोगिता जेठ ३१ देखि असार ३० गते एक महिनासम्म चल्ने छ । ३२ राष्ट्रलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइने छ ।

जसमा युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरी १४ राष्ट्र सहभागी छन् ।

यस्तै एसियाबाट इरान, कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरी ५ राष्ट्रले भाग लिँदैछन् ।

अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्कोले खेल्नेछन् भने उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरी ३ राष्ट्रहरू रहेका छन् ।

दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरू गरी ५ राष्ट्रहरूले भाग लिनेछन् ।
यसपटक पनि मुलुकहरुलाई ५ समूहमा विभाजन गरिएको छ ।

समूह एमा रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे छन् भने समूह बीमा पोर्चुगल, स्पेन, मोरक्को र इरान छन् ।

समूह सीमा फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क छन् भने समूह डिमा अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् ।

समूह ईमा ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया छन् भने समूह एफमा जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र रहेको छ ।

समूह जीमा बेल्जीयम, पानामा, टिउनेसिया र बेलायत छन् भने समूह एचमा पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान रहेका छन् ।

विश्वकप फुटबलको उद्घाटन लुझनिकी रङ्गशालामा हुने छ । ८१ हजार दर्शक क्षमताको यो रङ्गशाला रूसको राजधानी मस्कोमा छ ।

यो रूसको सबैभन्दा ठूलो रङ्गशाला हो भने युरोपकै सर्वाधिक दर्शक क्षमता भएको रङ्गशालामध्ये पनि एक हो ।

सन् १९८० को गृष्मकालीन ओलम्पिक खेलकुदको अधिकांश खेल पनि यही रङ्गशालामा खेलाइएको थियो ।

ओलम्पिकको उद्घाटन र समापन कार्यक्रम पनि यही रङ्गशालामा भएको थियो ।

त्यतिबेला यो रङ्गशाला एक लाख तीन हजार दर्शक क्षमताको थियो ।

यही रङ्गशालामा सन् १९८२ को अक्टोबर २० तारिखमा यूईएफए कप फुटबलको स्पार्टक मस्को र एचएफसी हार्लिमबीच भएको खेलका क्रममा दुर्घटनामा परी ६६ जना समर्थकको ज्यान गएको थियो ।

उक्त दुर्घटनाको लामो समयपछि मात्र यो रङ्गशालालाई आधुनिक ढाँचामा पुनर्निर्माण गरिएको थियो ।

यही रङ्गशालामा सन् २००८ मा युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल पनि खेलाइएको थियो ।

आगामी विश्वकपको उद्घाटन र फाइनलसहित ७ वटा खेल यो रङ्गशालामा खेलाइनेछ ।
……………

यसपाली बिरालोले गर्दैछ भविष्यवाणी
पश्चिमाहरु आफुलाई संसारकै जान्ने, विज्ञ र आधुनिक ठान्छन् । तर उनीहरु नै खेलको प्रतिष्पर्धा कसले जित्छ भनेर कहिले अक्टोपस र कहिले विरालोको भर गर्छन् ।

सन् २०१० को विश्वकप फुटबलमा भविष्यवाणी गरेर एउटा अक्टोपसले विश्वभर चर्चा कमाएको थियो ।

त्यतिखेर अक्टोपस पलले गरेका अधिकांश भविष्यवाणी मिलेपछि उसको चर्चा विश्वभर भएको थियो ।

बिहिबारदेखि मस्कोसहितका विभिन्न सहरमा हुने विश्वकपमा एक कान नसुन्ने सेतो बिरालो एचिलेसले अक्टोपस जस्तै भविश्यवाणी गर्ने भएको छ ।

एचिलेसलाई भविष्यवाणीका लागि यसपटक फुटबल टिमको झण्डा अङ्कित बल राखिने भएको छ । यसअघि अक्टोपस पलले खाना भरिएका दुई बट्टामध्ये एउटालाई छानेर विश्व कप विजेताको अनुमान लगाएको थियो ।

रोयटर्सका अनुसार रसियाकै सेन्ट पिटर्सबर्गस्थित हर्मिटेज म्युजियममा रहेको सेतो विरालोले उक्त भविश्यवाणी गर्ने भएको हो ।

‘हामीले एचिलेसलाई छानेका छौं, किन भने यो धेरै सुन्दर छे भने उसका निला आँखा छन् । यो कान पनि सुन्न सक्दिन, तर उसको अनुमान धेरै सटिक र मिल्दोजुल्दो हुन्छ,’ बिरालोको स्याहार गरिरहेकी अन्ना कोन्ड्राटियेभाले भनिन् ।

कोन्ड्राटियेभाका अनुसार अघिल्लो साल साल एचिलेसले आफ्नो गृहनगरमा खेलिएको कन्फेडरेशन कपका खेलका नतिजाको भविष्यवाणी गरेकी थिइन् ।

त्यो बेला उसले गरेका कुनै पनि भविष्यवाणी गलत नभएको कोन्ड्राटियेभाले दाबी गरिन् ।

……………

पेले आउलान् उद्घाटनमा ?
ब्राजिलियन फुटबल हस्ती पेले आगामी बिहिबार रूसमा हुने विश्वकपको उद्घाटनमा सहभागी हुने नहुने अनश्चित भएको छ ।

खराब स्वास्थ्यका कारण बिहीबार हुने उद्घाटनमा उनी जाने नजाने अनिश्चित बनेको हो ।

उनका प्रवक्ताले सञ्चारकर्मीहरुलाई दिएको जानकारी अनुसार उनको खुट्टामा समस्या देखिएको छ ।

यदि उक्त समस्या समाधान भएन भने उनी उद्घाटनमा उपस्थित हुने छैनन् ।

पछिल्लोपटक उनको मेरूदण्ड, थाई र कुर्कुरे हड्डीको अप्रेसन गरिएको थियो ।

लुजनिकी स्टेडियममा हुने उद्घाटनमा रूस र फिफाले उनलाई मुख्य पाहुना बनाएको थियो ।

७८ वर्षीया पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।

ह्विलचेयरमा आइतबार रसिया पुगेका पेलेलाई रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले विमानस्थलमा स्वागत गरेका थिए ।
…………..
जो ट्याक्टर चढेर जाँदैछन् रसिया
फुटबलको महासङ्ग्राम फिफा विश्वकपको २०१८ संस्करण प्रत्यक्ष हेर्नका लागि फुटबलका पारखीहरु रुस पुग्ने क्रम सुरु भइसकेको छ ।

फुटबल प्रेमीहरु विभिन्न किसिमका सवारी साधन चढेर रुसमा विश्वकप हेर्न गइरहेका छन् ।

यिनै फुटबल पारखीहरुमध्ये एक जना ७० वर्षका वृद्ध जर्मनीबाट ट्रयाक्टर चढेर रुस जाँदै गरेको भेटिएका छन् ।

ह्युबेर्ट वर्थ नाम गरेका ती वृद्ध जर्मनीबाट रुस जाँदै गर्दा पोल्याण्ड र बेलारुसको सिमानामा भेटिएका थिए ।

प्रतिघण्टा ३० किलोमिटरको गतिमा रहेको सन् १९२० को दशकमा बनेको लान्ज बुलडग ट्याक्टरमा दौडिरहेको उनले भने ।

ट्याक्टरमाथि उनले सानो ‘घर’ नै बनाएका छन् । उनको साथमा एउटा कुकुर पनि छ । ‘काठले बनाइएको उनको ‘घर’ वियर बोक्ने भ्यान जस्तो देखिन्थ्यो ।

उनको चलायमान घरको अघिल्लो भागमा फुटबलको चित्रसँगै जर्मन भाषामा ‘हेल्लो मस्को’ लेखिएको स्टिकर टाँसिएको छ । त्यसभन्दा अघिल्तिर एउटा साइकल थियो । घरको छतमा एउटा सोलार प्यानल पनि थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: