झापा, ८ पुस । बुधबारदेखि देशभर विषादि प्रयोगमुक्त सप्ताह सुरु भएको छ । ‘घातक विषादि प्रयोग निर्मूलीकरण गरौं, खाद्य स्वच्छता सुनिश्चित गरी मानव स्वास्थ्यको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ झापामा पनि विषादि प्रयोगमुक्त सप्ताह सुरु भएको हो ।
सप्ताह पुस १४ गतेसम्म सञ्चालन हुने छ । झापामा वानस्पतिक विषादि, जीवाणुमा आधारित विषादि तथा नवीनतम वाली संरक्षणका प्रविधि अन्र्तगतका विषादि प्रयोगमा जोड दिँदै १६ गतेसम्म विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिने जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख मेघनाथ तिम्सिनाले जानकारी दिए ।
सप्ताह अवधिभर विषादिको बढी प्रयोग हुने स्थानहरुमा रासायनिक विषादिको असर र सावधानी अपनाउन के–के गर्नुपर्छ भन्ने विषयमा सडक नाटक प्रस्तुत गरिने कार्यालय प्रमुख तिम्सिनाले बताए ।
पछिल्लो समय झापामा कृषक र सरकारी स्तरबाटै जैविक उत्पादनमा जोड दिँदै आइपिएम ९एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति० प्रविधिबाट झापाली कृषकले चिया तथा तरकारी खेती गर्न थालेको फलस्वरुप विषादिको प्रयोग १५ प्रतिशतले घटेको छ ।
बाली संरक्षण अधिकृत राजेन्द्र खरेलका अनुसार झापाली कृषकले विषादिको सट्टा जैविक तथा वानस्पतिक विषादि उत्पादन गर्दै यसको प्रयोग गर्न थालेपछि भारत तथा तेस्रो मुलुकबाट भित्रिने विषादिमा कमी आएको छ । गत वर्ष भारत लगायत तेस्रो देशबाट ३० मेट्रिकटन विषादि झापा भित्रिएको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।