आठ भाइको आठ दिन

  प्रकाशित मिति
१७ चैत्र २०७४, शनिबार १४:३३


प्रितम काफ्ले

जिन्दगी नै एउटा यात्रा हो । यात्राले जति अरु कुनै कुराले मानिसलाई रिफ्रेस गराउन सक्दैन । नेपाली नयाँ पुस्तामा भर्खर घुमफिर बानी बस्दै छ । आन्तरिक पर्यटन प्रबर्धनका लागि मात्र नभएर स्वस्थ जीवनशैलीका निमित पनि घुमफिर संस्कृतिको खाँचो छ ।

घुमफिर बेग्लै मज्जाको विषय हो । सानो छँदा हामी घर र स्कुल वरपरको वातावरणमा डुल्न पाउँदा कति आनन्दित महसुस गथ्र्यौँ । ठूलो भएपछि पनि मैले घुमफिर बानी छाडेको छैन । सम्भव भएसम्मका ठाउँहरुमा एक्लै, परिवारका साथ र कहिलेकाहिँ ग्रुपमा घुम्न निकै मजा आउँछ । वर्षमा कमसेकम एउटा टुरमा साथीहरुसँग घुम्ने मेरो बानी छ ।

यसपटक मेचीनगरका आठ भाइ मिलेर गएको साता नेपालको विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलको रोचक यात्रा गरेका छौँ । त्यो घुमफिरको फोटो र भिडियोले फेसबुकमा निकै ‘भ्युअर’ पाएको छ ।
मेचीनगरको सामाजिक जीवनमा केही राम्रो काम गरौँ भन्ने सोच राखेका हामी आठ भाइको यात्रा निकै रोचक थियो । सामाजिक सञ्जालहरुमा यात्राको खुलेरै प्रशंसा भइरहेको छ । यात्राले जत्ति नै आनन्द सामाजिक सञ्जालमा भइरहेको प्रशंसाले दिएको छ ।

यात्राको नेतृत्व युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य राजु कार्कीले गर्नु भएको थियो । टोलीमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका नगर सचिव म प्रितम काफ्ले, मेची बस व्यवसायी सङ्घका कोषाध्यक्ष कृष्ण काफ्ले, व्याडमिन्टन खेलाडी दिपक घिमिरे, युवा सङ्घका क्षेत्रीय कोषाध्यक्ष नविन विष्ट, नगरपालिकाको वडा नं. ८ का वडा सदस्य सन्तोष मेचे, विद्यार्थी नेता निश्चल घिमिरे र सामुदायिक सेवा केन्द्रका सदस्य रविन ओझा रहेका थियौँ ।

हामी चैत्र ७ गते काँकरभिट्टाबाट एउटा गाडी लिएर यात्रामा निस्कियौँ । आठ दिनपछि चैत्र १४ गते यात्रा सम्पन्न भएको छ । यात्रामा हामीले निकै ज्ञान र दृश्यावलोकनको अनुभूति गर्न पायौँ । जिन्दगीको एउटा पाटो यात्रा नै हो । घुमफिरमा अर्काको मुखबाट सुनेको कुरा आफैले देख्न पाइन्छ । मन, मस्तिष्क र शरीर सबैमा स्फुर्ति आउँदो रहेछ

हामीसँग छुट्टै ड्राइभर थिएनन् । हामी पालैपालो गाडी हाँक्थ्यौँ । जहाँ पुगेर नास्ता खान मन लाग्यो, जहाँ खाना खान मन लाग्यो, त्यहीँ गाडी रोक्थ्यौँ । साथीहरु रमाइला गफ गर्नु हुन्थ्यो । माहोल रमाइलो हुन्थ्यो । सबै हाँस्थ्यौँ, सबै खुशीले उफ्रिन्थ्यौँ । हामीले घर बस्दाको पारिवारिक व्यवहारको बोझ बिर्सेका थियौँ, राजनीतिक तनाव थिएन । मात्र हामीमा खुशी थियो, आनन्द थियो र अनि नयाँ नयाँ ठाउँको दृश्य आँखा अगाडि थियो ।

यात्राका सबै कुरा वर्णन गरेर सकिन्न । तर जब हामीले पोखरमा प्याराग्लाइडिङ र भोटेकोशीमा बन्जी जम्प गर्यौँ । त्यो चाहिँ एकदमै साहसिक र रोमाञ्चक घटना थियो । डरभन्दा अगाडि जुन सफलता हुन्छ, त्यही अनुभूति हामीले गर्न पाएका थियौँ । १६० मिटर गहिरो गल्छीमा डोरीमा बाँधिएर ह्वात्तै फाल हान्नु कम्ती खतराजनक थिएन ।

ओहो, झोलुङ्गे पुल जस्तो उचाइबाट खोलामा झ्वाम्मै फाल हान्न ठूलै साहस चाहिने रहेछ । तर हामी आठ भाइमध्ये दिपक र सन्तोषजीले बन्जी जम्प गर्नु भएन । सन्तोषजीको खुट्टा अपर मुस्ताङमा मर्किएको थियो भने दिपकजीको मुटुको धड्कन हाइ भएकाले जम्प गर्न अनुमति पाउनु भएन ।

मेरो लागि दोस्रो पटक थियो बन्जी जम्पको अनुभव । साथीहरु पहिलोपल्ट जम्प गर्दै हुनुहुन्थ्यो । हाम्रो टोली नेता राजु कार्कीले पनि निडर भएर जम्प गर्नु भयो । जब डोरीमा लट्किएर १० मिनेटसम्म पिङ खेल्न थालिन्छ नि मुटुले ठाउँ छाड्न खोज्दोरहेछ । बहुतै डरलाग्ने । तर डरलाई जितेपछि आनन्द उत्तिकै आउँदो रहेछ ।

पोखराको प्याराग्लाइडिङमा चाहिँ सन्तोष मेचे मात्र छुट्नु भयो । सात भाइ आकाशमा फन्को मार्न सफल भयौँ । चराजस्तै फनफनी आकाशमा घुम्दा मजा त आउँछ, तर आफु डोरीमा लट्किएको सम्झिदा चाहँ डर पनि लाग्छ । ४५ मिनटसम्म आकाशमा घुमियो ।

यो टुरमा हामीले सप्तरीको शाङ्खरादेवीको मन्दिर र हलेसीको मन्दिर दर्शन गर्यौँ । जनकपुरको जानकी, चितवनको सौराहा, पाल्पाको रानीमहल र लुम्बिनीको बुद्ध जनमस्थल घुम्यौँ । हिमालपारिको मुस्ताङ पनि डुल्यौँ । यात्रा पूरा गर्न हामीलाई ८ दिन लाग्यो ।

सौराहामा जङ्गल सफारी गर्दा र फेवातालमा नौका विहार गर्दा पनि मजा आएको थियो । यात्रामा खर्च त हुन्छ नै । मानिसहरु घुम्नका लागि विदेश जान्छन् । तर स्वदेशकै कैयन ठाउँहरु छन्, जहाँ हामी पुग्न सकेका छैनौँ । आफ्नै देश घुम्ने बानी गर्दा आफ्नो पैसा आफ्नै देशमा खर्च हुन्छ । नेपाली भूमि धरतीको स्वर्ग नै हो । म सबैलाई लङ टुरमा जान आग्रह गर्छु । किनकि, जिन्दगी एउटा टुर नै हो ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: