आत्मबलले क्यान्सरलाई जित्दै शिक्षक रुपसागर

  प्रकाशित मिति
१९ फाल्गुन २०७४, शनिबार १२:१९


मेचीनगर । ‘सायद छोरी तिमीले अब आउने दिनमा लेख्ने हरेक अक्षर अनि तिनै अक्षरबाट बनेका कैयन वाक्यहरु हेर्न मलाई दैवले छुट दिए जस्तै छ ।’

राजीव गान्धी क्यान्सर अस्पताल दिल्लीको रिपोर्ट सकारात्मक आएपछि मेचीनगर–७ इटाभट्टाका रुपसागर अधिकारीले आफ्नो फेसबुक वालमा यो वाक्य पोस्ट गरेका थिए ।

कवि नवराज पराजुलीको कविताको भावलाई उनले आफ्नो जीवनमा उतारेका थिए । यसले धेरैलाई गम्भीर बनायो । धेरैले उनको आत्मबलप्रति सहानुभूति पनि प्रटक गरे । तिनै रुपसागर प्राणघातक क्यान्सर रोगसँग जुधिरहेका छन् ।
तर पनि उनको आत्मबलमा रत्तिभर कमी आएका छैन । एभरेस्ट बोर्डिङ स्कुल इटाभट्टाका शिक्षक अधिकारी अहिले पनि कक्षाकोठामै भेटिन्छन् । कक्षा ९ र १० कक्षाको गणित विषयका शिक्षक अधिकारी उपचारबाट फर्किएलगत्तै विद्यालय जान थालेका हुन् । अहिले उनी दैनिक कक्षाकोठामा विद्यार्थीसँग भेटिन्छन् ।

बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म उनी विद्यालयमै व्यस्त रहन्छन् । विद्यालयको व्यवस्थापन पक्ष समेत सम्हालेका ३५ वर्षीय अधिकारी भन्छन्, ‘मलाई यो समाजले बाँच्ने हिम्मत दिएको छ । जसले ठूलो आत्मविश्वास दिएको छ ।’
बिहान र बेलुका कक्षा १० का विद्यार्थीलाई कोचिङ र दिउँसो विद्यालय पढाउँछन् अधिकारी । कक्षा १० मात्र ८५ जना विद्यार्थी छन् । जसको नेतृत्व उनै अधिकारीले गरेका छन् ।

गत असोजमा धरानस्थित घोपा क्याम्पमा मुखको क्यान्सर रोग पत्ता लागेके थियो । त्यसपछि उनी सोझै दिल्लीस्थित राजीव गान्धी अस्पतालम भर्ना भए । केही समय दिल्लीमा उपचार गराएपछि उनलाई नेपाल क्यान्सर अस्पताल ललितपुर पठाएको थियो । अहिले पनि उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अधिकारीको मुखमा ट्युमर पलाएको थियो । उनको उपचारमा १८ देखि २० लाख रुपैयाँ खर्च भएको छ । डाक्टरले उनको रोगलाई औषधिको माध्यमले निको हुने बताएका छन् । यदि औषधिले काम गरेन भने मात्र सर्जरी अपरेसन गर्नुपर्नेछ ।
केही दिनअघि लोकतन्त्रकर्मी विद्यालयमा पुग्दा उनी कक्षा १० का विद्यार्थीलाई पढाइरहेका थिए ।

उनका साथी बालकृष्ण ढुङ्गानाले रुपसागरजीको हिम्मतलाई सलाम गर्नुपर्ने बताए । ‘यो अवस्थामा पनि उहाँ निरन्तर विद्यार्थीको भविष्यमा चिन्तित रहनु भएको छ,’ ढुङ्गानाले भने, ‘मान्छे कुनै पनि रोग लागेपछि जीवनबाटै निरास हुने गरेका छन् । तर, रुपसागर सरले धेरैलाई शिक्षा दिनु भएको छ । उहाँको हिम्मतलाई मान्नैपर्छ ।’

काँकरभिट्टाका अर्जुन राईले रुपसागरको साहसलाई सबैले अनुकरण गर्नुपर्ने बताए । जसले रोगसँग लड्ने मुख्य औषधि हिम्मत रहेको उदाहरण दिएको बताए ।

अधिकारी विभिन्न सामाजिक सङ्घसंस्थामा समेत क्रियाशील छन् । नेपाली काङ्ग्रेसका क्षेत्रीय सहसचिव, मेची कृषक बहुमुखी सहकारी संस्थाको लेखा समिति सदस्य, युनाइटेड युथ क्लब इटाभट्टाको अध्यक्षलगायतमा उनी आबद्ध छन् । उनले सो विद्यालयमा २०५८ सालदेखि शिक्षण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: