आत्महत्या रोकथामको उपाय

  प्रकाशित मिति
६ असार २०७७, शनिबार १५:२७


विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वभरमा लगभग १० लाखभन्दा बढी मानिसहरुले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एक जनाले आत्महत्या गर्छ ।

नेपालमा पनि लकडाउन भएदेखि (११ चैतदेखि २० जेठसम्म) ११ सयभन्दा बढी मानिसहरुले आत्महत्या गरिसकेको तथ्याङ्क केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ ।

के कारणले आफ्नो जीवनआफैँले समाप्त गर्न आँट गर्छ त मानिस ? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता अरुमा हुँदैन किनकि अरुले त्यो दुःख पीडा र डिप्रेशनको निराशाजनक अवस्थालाई मनको त्यो गहिराइमा अनुभव गरेको हुँदैन ।

जसले आत्महत्याको कोसिस गर्छ वा आत्महत्या गर्छ, उसले मनको त्यो अन्तरतममा असीम पीडाको अनुभूत गर्छ, जसबाट निस्कने कुनै विकल्प देख्दैन ।

व्यक्ति पिच्छे यसको कारण अलग अलग हुन्छ । किनकि हरेक व्यक्तिको आ–आफ्नो छुट्टै स्वभाव निर्माण भएको छ । त्यही अनुसार हरेक चीज वस्तुलाई हेर्ने र ग्रहण गर्ने आफ्नै मूल्य र मान्यता छ ।

त्यही कारणले प्रत्येक व्यक्तिलाई खुसी बनाउने र दुःखी बनाउने चीज, वस्तु वा परिस्थिति अलग अलग नै हुन्छ । जब जीवनकुनै कारणले अत्यन्त कष्टप्रद, समस्याग्रस्त हुनपुग्छ र त्यसको निवारणको बाटो कतै भेट्दैन,तब

आत्महत्याको कारण

१. परिस्थितिजन्य कारण

२. मानसिक वा भावनात्मक कारण

–परिस्थितिजन्य कारण

–सम्बन्ध विच्छेद

–पारिवारिक समस्या

–शारीरिक समस्या (कुनै जटिल रोग)

–लागु औषधदुव्र्यसन

–भयङ्कर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व (जसलाई आफूले विशेष ठानेको हुन्छ) उसको आत्महत्याको खबर

–रिसको आवेगमा

–जिज्ञासाको कारण (बालबालिकामा हुन सक्ने)

–स्कुल वा कार्यक्षेत्रमा समस्या

–बेरोजगारी

–आर्थिक तथा कानुनी समस्या

–कुनै पनि समस्या जसको समाधान कतै पनि देखिदैन

–मानसिक वा भावनात्मक कारण

–निराशाबादी चिन्तन

–समस्यामा जेलिएको महसुस गर्नु

–जीवनप्रतिको अवमूल्यन

–बाँच्नुको औचित्य नदेख्नु

–जीवनमा कुनै उद्देश्य नहुनु

–मानसिक समस्या (डिप्रेशन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया)

–बढी खाने वा नखाने समस्या (इटिङ डिसअर्डर)
आत्महत्या गर्ने मानिसले देखाउने लक्षण

–आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा लेख्ने गरेको हुन्छ । अरुको लागि उसको कुरा जोक जस्तो लाग्न पनि सक्छ ।

–आत्महत्या गर्नको लागि प्रयोग गरिने साधन (डोरी, चक्कु, विषादि औषधि आदि) तिर बढी आकर्षित हुन्छ । उसले योजना बनाइरहेको हुन्छ, कुनचीजद्वारा सजिलै मर्न सकिन्छ ।

–साथीभाइ, आफन्तसँग बिदा मागिरहेको हुन्छ । परिवारको लागि आफू गएपछि पर्न सक्ने अप्ठ्यारोको लागि पनि सकेसम्म व्यवस्था मिलाउन खोजिरहेको हुन्छ । आफ्ना सामानहरु अरुलाई बाँड्न सक्छ, जुन पहिला आफ्नो स्वामित्वमा राखेको हुन्छ ।

–दुःखी, निराश देखिन्छ ।

–आफ्नो बारेमा लापरवाही हुँदै जान्छ ।

–पहिले खुसीले गर्ने कामप्रति रुचिकम हुँदै जान्छ ।

–धुम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्छ ।

–अरुबाट अलग्गिने, एक्लै बस्न रुचाउने हुन थाल्छ ।

–आफूप्रति घृणाको भाव देखाउन थाल्छ ।

–अचानक खुसी र शान्त देखिन थाल्छ । माथिका लक्षणमध्ये केही लक्षण केही समय अघिदेखि देखिएको छ । एक्कासी खुसी देखियो भने त्यो व्यक्तिले मर्नको लागि पूरै योजना बनाइसक्यो । अब उसले आफ्नो जीवन समाप्त गर्दैछ भनेर बुझ्दा हुन्छ ।

आत्महत्या जुनसुकै उमेरका मानिसले पनि गर्छन् । तर पनि विशेष गरि १५ वर्षदेखि ३५ वर्षसम्मका व्यक्तिले बढी गर्ने गरेको अध्ययनले देखाउँछ । यो उमेर भनेको सिर्जनशील उमेर हो ।

यस्तो उमेरमा कुनै व्यक्तिले आत्महत्या ग¥यो भने उसको परिवारमा कस्तो अवस्था आइपर्ला यो कुरा सोच्न पनि गारो हुन्छ । मर्ने इच्छा कसैलाई हुँदैन तर पनि मानिसले आफैँलाई मार्न तयार हुन्छ, चाहे जुनसुकै कारणले किन नहोस् । यसलाई रोकथाम गर्नु अति नै आवश्यक छ ।

रोकथामका उपाय

१. लक्षणको पहिचान

आत्महत्या रोकथामको लागि सबभन्दा महत्वपूर्ण र पहिलो काम भनेको आत्महत्या गर्ने व्यक्तिले देखाउने लक्षणको बारेमा स्पष्ट हुनु आवश्यक छ । कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन । विभिन्न रिसर्च अनुसार आत्महत्या गर्ने व्यक्ति मध्ये ८०–९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएको हुन्छ ।

बाँकी केहीले रिसको आवेगमा आएर वा बाल बालिकाको हकमा जिज्ञासाको कारणले पनि आत्महत्या भएको पाइएको छ । त्यसैले परिवारको सदस्य वा साथीभाइमा यस्ता लक्षणहरु देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।

२. प्रश्न सोध्ने

साथीभाइ तथा परिवारका कुनै पनि सदस्यमा यदि यस्ता किसिमका कुनै लक्षण देखिन थालेमा उक्त व्यक्तिसँग उसको समस्याको बारेमा सोधपुछ गर्नुपर्छ । सोधपुछ गर्ने व्यक्तिलाई समस्याभएको व्यक्तिले विश्वास गर्ने पनि हुनुपर्छ ।
विश्वासिलो व्यक्तिलाई मात्रमनको कुरा पोख्न सक्छ । त्यसैले उसका समस्याका बारेमा राम्ररी धैर्यताका साथ सोधपुछ गर्नुपर्छ । जस्तै—आत्महत्याको विचार कहिलेदेखि आउन थाल्यो ? दिनमा यस्तो विचार कति पटक आउँछ वा कहिले कहिले आउँछ ?

३. कुरा सुन्ने

समस्याग्रस्त व्यक्ति जब कुनै व्यक्तिप्रति विश्वस्त हुन्छ, त्यसपछि उसले आफ्ना समस्या व्यक्त गर्न सक्छ । उसले भनेका सबै कुरा बिना पूर्वाग्रह (नन जजमेन्टल भएर) सुनि दिनुपर्छ । ऊप्रति सहानुभूति प्रकट गर्नुपर्छ । उसका हरेक कुराप्रति सहमति जनाउनुपर्छ । सुन्ने व्यक्तिलाई उसको कुरा सामान्य लाग्न सक्छ तर त्यही कुरा उसको लागि भयङ्कर पीडादायी भएको हुन सक्छ ।

यस्तो अवस्थामा उसलाई सल्लाह, सुझाव दिने, तर्क वितर्क गर्ने, नैतिकताको शिक्षा दिने, धर्म संस्कारका कुरा सिकाउने, जीवन दर्शनका कुरा सुनाउने, पारिवारिक मायामोहका कुरा गरेर मोड्न खोज्नु मूर्खतापूर्ण कार्य हो । यसले झनउत्साही बनाउछ, आत्महत्या गर्न । त्यसैले उसका प्रत्येक कुरा ध्यानपूर्वक सुनिदिने र उसको पीडा आफूले पनि महसुस गरेको विश्वास दिलाउन सक्नुपर्छ ।

४. उपचारको लागि सहयोग

वास्तवमा मान्छे मर्न चाहदैन । उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्तहुने अन्तिम विकल्पको रुपमा रोजेको एउटा बाटो हो आत्महत्या । यो अवस्थामा पुगेको व्यक्तिलाई उसको पीडा सुनिदिएर केही मानसिक राहत दिँदै छिटोभन्दा छिटो मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग दिलाउनु आवश्यक हुन्छ ।

उनीहरुको सल्लाह बमोजिम उपचार गराउनु पर्छ । फलोअपमा लैजानुपर्छ । यस बाहेक पनि उसलाई खानपानमा हेरचाह गर्ने, शारीरिक क्रियाकलाप तिर विस्तार विस्तारै अग्रसर गराउने, एक्लै हुन नदिने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ ।
अत्यन्त महत्वपूर्ण कुरा

आत्महत्याको सबभन्दा ठूलोकारक तत्व भनेको डिप्रेशन हो । हालसम्मको रिसर्च अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेशनको सिकार भएको पाइएको छ । डिप्रेशनको औषधि खाइरहेको बेलामा आत्महत्याको विचार घट्नुको सट्टा झन बढ्न सक्छ ।

त्यसैले पहिलो पटक डिप्रेशनको औषधि खुवाइरहेको छ वा मात्रा परिवर्तन गरिएको छ भने त्यो व्यक्तिलाई विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । किनकि औषधिले पनि आत्महत्याको विचार आउन सक्छ । सुरुका २ महिना आत्महत्याको खतरा बढी हुने सम्भावना हुन्छ । औषधि खाइरहेको छ, अब केही हुन्न भनेर ढुक्क हुनु हुँदैन ।

यदि सहयोग चाहिएमा निम्न ठेगानामा सम्पर्क गर्न सक्नु हुन्छ ः

महाराजगन्ज टिचिङ अस्पतालको साइकोलोजी डिपार्टमेन्ट
मानसिक स्वास्थ्य अस्पताल, पाटन

अथवा आफ्नो पहिचानमा भएका मेन्टल हेल्थ प्रोफेशनलहरु

आत्महत्या आफैँमा एउटा जटिल समस्या भए पनि यसलाई न्युनिकरण गर्न सकिन्छ । त्यसको लागि एक व्यक्ति वा संस्था पर्याप्त हुँदैन । देशका सम्पूर्ण अंगहरु जस्तै सरकारको माथिल्लो तहमा रहेर नीति निर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यन्वयन गर्ने स्थानीय सरकार लगायत स्वास्थ्य, शिक्षा, सञ्चार, कानुन सबै क्षेत्रबाट उचित समन्वय र सहकार्य हुनु आवश्यक छ । तब मात्र हामीले आशातित् सफलता हासिल गर्न सक्छौँ ।

महालक्ष्मी आचार्य (मनोसामाजिक परामर्शदाता)

सारथि फाउण्डेशन नेपाल (मो.९८४३२२८४५१)
[email protected]

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: