भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाले एक दिवसीय आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सोमबार झापाको केचनाकवल गाउँपालिकामा सम्पन्न गरेको छ ।
स्थानीय विद्यालयका विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरुलाई लक्षित गरेर समुदाय साझेदारी अन्तरगत आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले साइबर अपराध सम्बन्धी जानकारी गराएका थिए ।
उनले सामाजिक सञ्जालमार्फत विभिन्न आर्थिक प्रलोभन देखाएर, फकाएर, धम्क्याएर अपराध गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको बताए ।
सकेसम्म सामाजिक सञ्जालमा आफ्नो सम्पूर्ण परिचय खुल्ने विवरण नराख्न, आफू घुम्न या काम विशेषले गएका स्थानको बारेमा तस्वीर खिचेर सामाजिक सञ्जालमा नराख्न समेत सहभागीलाई उनले अनुरोध गरेका छन् ।
प्रहरी प्रमुखले झापामा सामाजिक सञ्जाललगायतका कारणले आत्महत्याको सङ्ख्यामा बृद्धि भइरहेको तथ्याङ्क पेश गरेका छन् ।
उनका अनुसार झापामा गत आर्थिक बर्षमा मात्र ६७ पुरुष र २४ महिला गरी ९१ वटा आत्महत्याका घटना भएका छन् ।
विर्तामोडस्थित बीएन्डसी हस्पिटलका मनोरोग विशेषज्ञ डा. सन्दर्व अधिकारीले सबैभन्दा बढी आत्महत्या मानसिक स्वास्थ्यमा आएको समस्याले निम्त्याएको बताए ।
उनले दैनिक पाँच घण्टा बढी मोवायलमा गेम तथा अन्य मनोरञ्जनात्मक दृश्य हेर्नेहरुमा ७० प्रतिशत बढी आत्महत्याको सोचाई आउने हुँदा सकेसम्म आवश्यक कार्यबाहेक मोवायल नचलाउन अनुरोध पनि गरे ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशी, वडाध्यक्ष र शिक्षकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन जिप्रकाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।